Comments Add Comment

काठमाडौंमा कांग्रेसको घरदैलोः सडकबाटै जय नेपाल ! (भिडियोसहित)

घरदैलो हो कि सडक र्‍याली ? अर्को पार्टीलाई पाँडे गाली !

२७ बैशाख, काठमाडौं । स्थानीय निर्वाचन सँघारमै आइपुग्दा काठमाडौं महानगरका मेयरका उम्मेदवारहरुको दिनचर्या झन्-झन् व्यस्त हुँदै गएको छ । र्‍याली तथा सभामा सहभागी हुनेदेखि अन्तक्रिर्या र मिडियामा अन्तर्वार्ताका साथै विभिन्न समूह र स्थानीय समुदायसँग भेटघाटसम्मको चटारोमा उनीहरु छन् ।

यसै क्रममा हामीले बुधबार बिहान काठमाडौंमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीको घरदैलो कार्यक्रमलाई नियाल्यौं । पुरानो बानेश्वरदेखि शंखमूलसम्म पैदलयात्रा गर्दै निकालिएको कांग्रेसको घरदैलो यस्तो देखियोः

घरदैलो हो कि सडक र्‍याली ?

पुरानो बानेश्वरदेखि सुरु भएको घरदैलोमा मेयरका उम्मेदवार राजुराज जोशीसहित उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरु सहभागी थिए ।

जाेशीलाई यसपालि मेयरको उम्मेदवार बनाउन पहल गरेका कांग्रेस नेता प्रकाशमान सिंह पनि उनको पक्षमा भोट माग्न कार्यकर्तासँगै सडकमा उत्रिएका थिए ।

माइकिङ गर्ने व्यक्ति भट्याउँदै थिए, ‘कांग्रेसका मेयर, उपमेयरका उम्मेदवार तपाईंहरुको घरदैलोमा आउनुभएको छ । रुख चिह्नमा भोट हालेर उहाँहरुलाई जिताऔं ।’

घरदैलो कार्यक्रम भनिए पनि कार्यकर्ताको लर्को हेर्दा र्‍यालीकै छनक मिल्थ्यो । एक हुल कार्यकर्ता सबैभन्दा अगाडि रुख चिह्न र चारतारे झण्डासहित मोटरसाइकलमा सवार थिए ।

तरुण दलका कार्यकर्तालाई मोटरसाइकल र पैदलयात्रामा रहेका सहभागीहरुलाई सम्हाल्दै भ्याइनभ्याई देखिन्थ्यो ।

सडकबाटै ‘दैलो’ सम्म नमस्कार

र्‍यालीको बीचको लहरमा मेयरका उम्मेदवार राजुराज र उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गी थिइन् । उनीहरु हात जोडेर मुख्य सडकबाटै भोट मागिरहेका थिए ।

राजुराज कहिले दायाँतिरका घर र पसलहरुतिर फर्केर हात हल्लाउँदै नमस्कार गर्थे त कहिले बायाँतिर हेर्दै अभिवादन गर्थे ।

विगतका निर्वाचनहरुमा उम्मेदवारहरु मतदाताहरुको घरदैलोमै केही समय बसेर दुःख-सुखका कुरा गर्दै भोट माग्थे । सर्वसाधारण मेलापात र भात-भान्सा गरिरहेका छन् भने पनि त्यतै पुग्थे र उनीहरुको चाहना सम्बोधन गर्दै आफ्नो प्रतिबद्धता सुनाउँथे । घरघरै धाएर भोट माग्ने त्यो चलनले नै चुनावी अभियानले ‘घरदैलो कार्यक्रम’ को नाम पाएको थियो ।

तर, पछिल्लो समय उम्मेदवारहरु र्‍याली, सभा र सोसल मिडियामा भर पर्दै मतदाता रिझाउने शैलीमा जोड दिइरहेका छन् । कांग्रेसका महानगरका उम्मेदवार राजुराजले पनि सडकको र्‍यालीबाटै घरको तेस्रो-चौथो तलाका झ्यालबाट चिहाइरहेका मतदातालाई ‘खुशामद’ गर्न भ्याए ।

त्यसो त पार्टीबाट अन्तिम समयमा टिकट पाएको र प्रचारप्रसारको सीमित समय भएकाले सबै मतदाताको घरघरै पुग्न उम्मेदवारहरुलाई सम्भव नभएको होला । तर, सडकबाटै नमस्कार बर्साउँदा त्यसको प्रभाव काठमाडौंका मतदातासम्म पुग्ने ठेगान हुँदैन ।

अँध्यारोमा झटारोः ‘भोट मलाई’

पुरानो बानेश्वरबाट भित्री बाटो हुँदै र्‍याली थापागाउँतिर अघि बढ्यो । त्यहाँबाट पनि भित्री सडकमा पस्दै के एन्ड के कलेज हुँदै नयाँ बानेश्वरतिर मोडियो र एभरेष्ट बैंकको आडबाटै बुद्धनगरतिर पस्यो ।

बाटोमा पर्ने एकाध पसलमा राजुराजले केहीलाई नमस्कार गरे, केहीसँग हात मिलाए । निजी घरभित्र उनी कतै छिरेनन् । बुद्धनगरको पत्रिका पसल, डेरी र कपडा पसलमा समेत उनले त्यही क्रिया दोहोर्‍याए ।

डेरी पसलकी महिलासँग राजुराजले हात जोड्दै आग्रह गरे, ‘भोट मलाई है बहिनी ।’

महिलाले जवाफ दिइन्, ‘भइहाल्छ नि हजुर । हामीले त पहिल्यैदेखि रुखमै भोट हाल्दै आएको हो ।’

तर, पछि अनलाइनखबरले बुझ्दा ती महिला काठमाडौंकी भोटर नै नभएको पाइयो । उनको मतदाता नामावली हेटौंडा उपमहानगरपालिकामा रहेछ । राजुराजले भोट मागेका स्टेशनरी पसलका साहुजी पनि डडेल्धुराका हुन् ।

उम्मेदवारले कहाँको मतदाता भन्ने पहिचान नगरी हावामा तीर हान्दा घरदैलो कार्यक्रम औपचारिकता मात्रै हुन्छ भन्नेमा ध्यान नदिएको पाइयो ।

प्रतिस्पर्धी दल विरुद्ध वमन

राजुराजको घरदैलो शंखमूल ओरालोमा कोणसभामा गएर परिणत भयो । सभामा सम्बोधन गर्दा उनले अधिकांश समय आफ्नो योजना र कार्यक्रम बताउनुभन्दा अन्य दलकै कमजोरी उधिन्नमा खर्चिए ।

उनको सम्बोधनबाट काठमाडौं महानगरमा आफ्नो प्रतिस्पर्धी नेकपा एमालेलाई देखेको थाहा हुन्थ्यो । एमाले-राप्रपाले गरेको चुनावी तालमेललाई उनले ‘अपवित्र गठबन्धन’ को संज्ञा दिए ।

उनले भने, ‘अब कांग्रेसले शासन गर्ने भो, राष्ट्रको निर्माण गर्ने भो भनेर यिनीहरुले अपवित्र गरेका हुन् ।’

यस्तै, राजुराजले मनमोहन अधिकारी सरकारको पालामा अरुण तेस्रो आयोजना बनाउने क्रममा ऋण रोक्न एमालेले नै चिठी लेखेको प्रसंग जोड्दै एमाले विकास विरोधी पार्टी भएको आरोप लगाए ।

हेर्नुहोस् भिडियो

यसरी प्रतिस्पर्धी दलको कमजोरी खोतल्नुभन्दा मेयरका उम्मेदवारले आफ्नो योजनाको चर्चा गरेको भए मतदाता रिझाउन असरदार हुन्थ्यो कि ?

काठमाडौंको सडक लगभग सुनसान

अनलाइनखबरको टोली बुधबार बिहानै राजधानीको सडकमा निस्कँदा सामान्य पानी परिरहेको थियो । सडकमा दलहरुको उपस्थिति खासै देखिइसकेको थिएन ।

कतै कतै दलका प्रचार सामाग्रीहरु टाँगिएका भेटिए । कमलादीमा फोहोर उठाइरहेको महानगरपालिकाको ट्रकमा सूर्यचिन्ह टाँगिएको देखियो ।

कुलेश्वरमा कांग्रेस कार्यकर्ताहरु पार्टीको सम्पर्क कार्यालयमा जमघट गर्दै थिए । त्यसको नजिकै विद्रोही राप्रपा राष्ट्रवादीका उम्मेदवारको प्रचार सामाग्री देखियो ।

कुलेश्वरमै फोहोर थुपारिएको ठाउँकै पोलमा मसिहा पार्टीका उम्मेदवारलाई माछा चिन्हमा भोट हालौं भन्ने ब्यानर सजिएको थियो ।
सडकमा केही गाडीहरुमा कांग्रेस र एमालेका झण्डा र चुनावचिन्ह टाँगिएका देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment