Comments Add Comment

गुल्मीका ठूला सडकमा कालोपत्रे सुरु

२९ बैशाख, गुल्मी । आर्थिक बर्षको अन्त्यतिर बजेट सकाउन हतार हतार गरिने बिकास निर्माण अन्तर्गत गुल्मी जिल्ला भित्रका ठूला सडकहरु स्तरोन्नति गरी कालोपत्रे गर्न सुरु गरिएको छ ।

सदरमुकामबाट पश्चिमी क्षेत्र जोड्ने तम्घास-सिमलटारी सडकमा मंगलबारदेखि कालोपत्रे सुरु हुने भएको छ । ४० किलोमिटर दुरीको यो सडकले निर्वाचन क्षेत्र नम्बर-३ का २८ गाविससहित प्यूठान र अर्घाखाँचीका जनतालाई समेत सुविधा हुनेछ ।

यो सडकको तम्घास छल्दी खण्डको ८ किलोमिटर खण्डमा २० करोड ६२ लाख लागतमा कालोपत्रे सुरु भएको हो । त्यस्तै सोही सडकको छल्दी सिमलटारी खण्डको २४ किलोमिटरमा स्तरोन्नती र बाँकी खण्डमा कालोपत्रे हुने छ । उक्त सडक पूरा गर्न ४१ करोड रकम बिनियोजन भइसकेको छ ।

त्यस्तै तम्घास-खाम्सेपानी ७ किलोमिटर खण्डमा पनि कालोपत्रे अघि बढेको छ । तम्घास सिमलटारी सडक आयोजनाका प्रमुख इञ्जिनियर सुजन अधिकारीका अनुसार आगामी ३ वर्ष भित्रमा जिल्लाका ठूला सडक पूरै कालोपत्रे र स्तरोन्नति हुनेछन् ।

छल्दी-सिमलटारी १० किलोमिटर, छल्दी-इन्द्रेगौंडा १३ किलोमिटर, तम्घास-नेटा ५ किलोमिटर, बलेटक्सार-रिङरोड ४० किलोमिटर सडक स्तरोन्नतीको तयारीमा छन् ।

अत्यन्तै व्यस्त रहेर पनि लामो समय देखि कच्ची सडका रुपमा रहेका जिल्लाका दुई मूख्य सडक मध्येको रुद्रवेणी-वामीटक्सार सडक कालोपत्रे सुरु भएको छ । यो सडक यातायात शुरु भएको ३६ वर्षपछि कालोपत्रे सुरु भएको हो ।

यो सडकमा २०३८ सालदेखि सवारी चल्न थालेका थिए । २०५२ सालमा रुद्रवेणीमा पक्की पुल बनेपछि यसले बाग्लुङको बुर्तिबाङसम्मलाई जोडेको थियो । ४२ किलोमिटर लम्बाई रहेको सडकले बाग्लुङ र गुल्मीमा झण्डै २५ गाविसलाई जोडेको छ । दैनिक एक सय २० जीप, बस, ट्रक लगायतका सवारी ओहोरदोहोर गर्ने सडक लामो समय कच्ची हुँदा सर्वसारधण मर्कामा थिए ।

सडकको लिम्घाको नादेवा खोला देखि सिस्नेखोलासम्मको ५ किलोमिटर खण्डमा इलाइट रसुवा जेभी कन्ट्रक्सनले कालोपत्रे सुरु गरेको छ ।

सबै सडकमा स्तरोन्नती र कालोपत्रेको काम एकैसाथ सुरु भएको छ । पूर्व मन्त्री प्रदिप ज्ञवालीले पुरै सडक कालोपत्रेका लागि ४८ करोड रुपैंया रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराइएको बताए । ‘रिडी रुद्रवेणी वामीटक्सार सडक जिल्लाको विकासको मेरुदण्ड नै हो’, उनले भने, ‘रिडीदेखि रुद्रवेणी खण्ड कालीगण्डकी करिडोरमा परेकाले अहिले रुद्रवेणदेखि वामी खण्डमा काम सुरु भएको हो ।’ सबै ठेक्का बहुवर्षे योजना अन्र्तगत भएकाले अर्को वर्षसम्ममा पूरै सडक कालोपत्रे गर्ने गरी काम भैरहेको उनले बताए ।

जिल्लाका विभिन्न स्थान जोड्ने केहि सडकहरुको स्तरोन्नति पनि तीव्रताका साथ अगाडि बढिरहेका छन् । एसएनआरटिपी परियोजनाबाट चोरकाटे-शान्तिपुर १४ किलोमिटर, सेउघा-सिमाहाघाट-नादी- पुर्कोट ३७ किलोमिटर खण्डमा पनि स्तरोन्नतिको काम भइरहेको कार्यालयका इन्जिनियर सुनिल रञ्जितकारले बताए ।

उनले भने, ‘अधिकांश सडकमा कालोपत्रेसँगै पक्की पुल निर्माण समेत भइरहेका छन् ।’ जिल्ला भित्रका अन्य साना सडक पनि चौडा पार्ने काम तीब्र पारिएको उनले बताए ।

निर्वाचन क्षेत्र सडक अन्र्तगतका भेडुवा-हुंगा-सिस्ने ८ किलोमिटर, राक्से-अमराई ४ किलोमिटर, खैरेनी-जोहाङ- भार्से ४ किलोमिटर सडकमा पनि प्रति सडक १ करोड रुपैयाँ लागतमा चौडा पार्ने, नाली बनाउने र स्तरोन्नती गर्ने कार्य भैरहेको कार्यालयका इन्जिनियर सुनिल रञ्जितकारले बताए ।

त्यस्तै प्रादेशिक सडक अन्तर्गत तम्घास-नेटामा पनि काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment