Comments Add Comment

सुर्खेतमा ८५ प्रतिशत मतदान, सोमबार विहान ७ बजे गणना

३१ बैशाख, सुर्खेत । स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा सुर्खेतमा ८५ प्रतिशत मत खसेको छ । जिल्लाका ९ स्थानीय तहहरुमा औसतमा ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका ९ वटै स्थानीय तहहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत कैलाश सुवेदीले जानकारी दिए ।

कुन स्थानीय तहमा कति मत खस्यो भन्नेबारे तथ्यांक संकलन भइरहेको भन्दै उनले राती ९ बजेसम्म सबै तहको एकिन विवरण आइपुग्ने बताए । २४० मतदान केन्द्र रहेको सुर्खेतका १ सय ३८ मतदान स्थलमा नागरिकहरुको उत्साहजन सहभागीता रहेको उनले बताए ।

अहिले मतपेटीका संकलन भइरहेको र भोलि विहान ७ बजेदेखि मत गणना सुरु गर्ने सुवेदीले जानकारी दिए ।

एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैबीच, प्रदेश नम्बर ६ को रुकुम जिल्लामा ७५ प्रतिशत मत खसेको छ । रूकुममा पनि स्थानीय चुनाव शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन अधिकृत कमलमणि देवकोटाले बताए ।

चौरजहारी नगरपालिका वडा नम्बर १० को चिन्नेबगर मतदान केन्द्रमा कांग्रेसका उम्मेदवारले माओवादीका कार्यकर्तालाई आक्रमण गरेपछि केहीबेर तनाव भएको थियो ।

त्यस्तै, ६ नम्वर प्रदेशको सल्यानमा ७० प्रतिशत मत खसेकोे जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । १० वटा स्थानिय तहमा आज भएको निर्वाचनमा मतदाताले उल्लेख्य सहभागिता साथ मतदान गरेका निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

त्यस्तै जाजरकोट जिल्लामा ८५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७ वटा स्थानीय तह रहेको जाजरकोटमा शान्तिपूर्णरुपले मतदान भएको निर्वाचन अधिकारी हरीबहादुर बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment