Comments Add Comment

कमल थापामाथि प्रश्नः राप्रपा खस्किएकै हो त ?

केपी ओलीलाई नेता मान्दा राप्रपालाई क्षति

३ जेठ, काठमाडौं । प्रथम चरणको स्थानीय चुनावको मतगणना सुरु भएकै दिनदेखि कमल थापा नेतृत्वको राप्रपामाथि सोसियल मिडियामा विभिन्न प्रश्न उठिरहेका छन् । काडमाडौं र ललितपुरमा उपमेयर आफूले लिएर मेयरमा एमालेलाई सघाएको राप्रपाको अहिलेसम्मको मत हेर्दा यो स्थानीय तहमा उसको परिणाम निकै निराशाजनक हुने देखिन्छ । बुधबार अपरान्हसम्म राप्रपाले एउटा स्थानीय तहमात्रै जितेको छ, धादिङको रूवीभ्याली गाउँपालिकामा ।

आखिर, राप्रपा स्थानीय चुनावमा खस्किएकै हो त ? यसका पछाडि केले काम गरेको छ ? अाउनुहोस्, विश्लेषण गरौं-

१. यो प्रत्यक्ष चुनाव हो, समानुपातिक होइन

मुलुकको चौथो शक्ति बनेको राप्रपाको बल भनेकै समानुपातिक चुनाव हो । राप्रपा नेपालले समानुपातिकमा २४ सीट पाएपछि ऊ चौथो शक्ति बनेको थियो भने राप्रपाका १३ सीट थपेर अहिले उसले संसदमा ३७ सीटको प्रतिनिधित्व गरिरहेको छ ।

स्थानीय निर्वाचन प्रत्यक्ष निर्वाचित प्रणाली अन्तरगतको भएकाले यसमा प्राप्त मत संख्याका आधारमा होइन, जित्ने उम्मेदवारको टाउकोका संख्याका आधारमा हारजितको मापन गरिन्छ ।

समानुपातिक मतको मात्रै बलमा चौथो शक्ति बनेको राप्रपाका नेताहरुले आगामी संसदीय चुनावमा माओवादीलाई उछिनेर तेस्रो दल बन्ने दाबी गर्दै आएका छन् । उस्तै परे दोस्रो दल बन्ने दाबी नेताहरुको थियो । तर, यो स्थानीय चुनावले राप्रपाको उक्त सपनामाथि ठेस लगाइदिएको छ ।

२. ‘मेरो जिल्ला’ भन्नु बेकार

पञ्चायतकाल कतिपय जिल्लालाई नेताको नामसँग जोडेर हेर्ने चलन थियो । जस्तै अहिले मकवानपुरलाई राप्रपाका नेताहरुले ‘कमल थापाको जिल्ला’ भन्ने गर्छन् ।

राप्रपाका सामान्यतः प्रभाव रहेका ठाउँहरुमा बाँके, धनकुटा, झापा, भैरहवा आदिलाई लिइन्छ, जुन ठाउँमा दोस्रो चरणमा मात्रै निर्वाचन हुँदैछ । यो कारणले पनि यसपालि राप्रपाको पक्षमा चुनावी परिणाम नदेखिएको हुन सक्छ ।

तर, पहिलो चरणमा चुनाव भएका केही ठाउँहरु राप्रपाको पुरानो प्रभाव रहेका स्थानमा पर्छन् । जस्तै- काठमाडौंमा गत संविधानसभा चुनावमा राप्रपाले समानुपातिकतर्फ कांग्रेस र एमालेको भन्दा बढी मत ल्याएको थियो । मकवानपुर, ललितपुर, नुवाकोट, धादिङ र चितवन पनि राप्रपाको अपेक्षाकृत आधार भएका ठाउँहरु हुन् ।

ललितपुर केशरबहादुर विष्ट र विराज विष्टको गृहजिल्ला हो भने नुवाकोट डा. प्रकाशचन्द्र लोहनीको गृहजिल्ला हो । त्यस्तै सिन्धुपाल्चोक पशुपतिसमशेर राणाको गृहजिल्ला जस्तै मानिँदै आएको छ । तर, थापाले विष्ट र लोहनीलार्इ विश्वासमा लिन सकेनन् ।

मकवानपुर स्वयं राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला हो । धादिङ बुद्धिमान तामाङको गृहजिल्ला हो, जहाँ तामाङले हेलिकोप्टर चार्डड गरेर भोट मागेका थिए । त्यसको प्रतिफलस्वरुप रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा राप्रपाले जित हात पारेको छ ।

तर, चितवनमा भने संसदीय चुनाव जितेको ठाउँमा समेत राप्रपा पछि परेको छ ।

यो स्थितिले के देखाएको छ भने अब पञ्चायतकालमा जसरी ‘फलानाको जिल्ला’ भनेका भरमा मत नआउने रहेछ भन्ने राप्रपा नेताहरुले पक्कै पनि पाठ सिकेको हुनुपर्छ ।

स्वयं मकवानपुरको विषयमा राप्रपाका नेताहरु जति उत्साहित थिए, उनीहरुले जेजति लगानी गरिररहेका थिए, परिणाम राप्रपाको पक्षमा देखिएको छैन । हेटौडा नगरपालिकामा पनि राप्रपाले अहिलेसम्म लिड गर्नै सकेको छैन ।

यसकारण, राप्रपा नेताहरुले नेताको जिल्ला हैन, जनतामा कसरी प्रभाव पार्ने भन्नेबारे सोच्नुपर्ने देखिएको छ ।

३. विचारको रक्षा गर्न असफल 

 

राप्रपा नेपालले गत संविधानसभाको चुनावमा काठमाडौंमा समानुपातिकतर्फ बहुमत पाउनुको कारण एउटै थियो- हिन्दु राष्ट्र र राजतन्त्रप्रतिको लिगेसी ।

तर, यसवीचमा राप्रपाले आफ्नो आइडियोलोजीको रक्षा गर्न सकेन । एकातिर गणतन्त्र र संघीयतालाई पनि स्वीकार गर्ने, संविधानलाई पनि स्वीकार गर्ने त अर्कोतिर राजतन्त्र र हिन्दुराष्ट्र पनि हुनुपर्छ भन्ने विरोधाभाषपूर्ण नीतिको शिकार बन्यो राप्रपा ।

राजतन्त्र र हिन्दुराष्ट्र भनिरहँदा संविधान विरोधी देखिने कमल थापामा डर थियो । त्यसैगरी गणतन्त्र र संघीयतालाई मानिरहँदा कांग्रेसजस्तै देखिनु स्वाभाविक थियो । साथै राष्ट्रियताको कुरो गरिरहँदा कमल थापा एमालेजस्तै देखिन पुगे ।

पछिल्लो समयमा परिस्थितिजन्य गोलचक्करका कारण कमल थापाको रंग छुटिएन । उनी बहुरुपीजस्तै देखिए ।

गणतन्त्रवादी, संघीयतावादी दलहरु कांग्रेस, एमाले र माओवादी नै हुँदाहुँदै त्यो जनमतबाट राप्रपाको ‘बिजनेस’ फस्टाउने कल्पना गर्न सकिँदैनथ्यो । अर्कोतर्फ राष्ट्रवादको नारा केपी ओलीको ब्राण्ड बनिसकेका कारण त्यसबाट पनि कमल थापाको दोकान चल्ने बजार बाँकी रहेन ।

४. केपी ओलीलार्इ नेता मान्न खाेज्दा 

कमल थापा संकटपूर्ण अवस्थामा पनि एउटा विचारको प्रतिनिधित्व गरेर यहाँसम्म आइपुगेका नेता हुन् । ०४६ सालको परिवर्तनपछि गठन भएको राप्रपालाई फुटाएर राप्रपा नेपाल गठन गरिरहँदा कमल थापाको शक्ति निकै कमजोर थियो । ०६२/०६३ को आन्दोलनका बेला ज्ञानेन्द्रलाई साथ दिएका थापा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाका सामु निकै फुच्चे मानिन्थे ।

गणतन्त्र स्थापना हुँदै गर्दा संसदमा ४ सीटको प्रतिनिधित्व गर्ने थापाले दोस्रो संविधानसभामा २४ सीट बनाए । राप्रपाको संस्थापन पक्षलाई पनि आफैंसँग मिलाएर कमल थापा ३७ सीटवाला एकीकृत पार्टीको नेता बने ।

संविधान निर्माण र सत्ता सञ्चालनको हिसाबले पनि कमल थापाले आफ्नो उचाइ बढाउँदै लगे । उनी परिपक्व नेताजस्तै देखिँदै गए । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेका थापाले भारत, चीन र बेलायतको भ्रमण गरेर आफ्नो छवि विदेशमा पनि राम्रो बनाए ।

तर, कांग्रेस, एमाले र माओवादीका नेताहरुको विकल्पमा समान हैसियत बनाउँदै अघि बढिरहेका थापाले स्थानीय चुनावको सँघारमा आएपछि राष्ट्रवादको सारथी हाँक्ने जिम्मा एमालेलाई हस्तान्तरण गरे । एमाले संसदीय दलको कार्यालयमा गएर उनले केपी ओलीसँग हात मिलाए र काठमाडौंको मेयरमा एमालेलाई समर्थन जनाउने निर्णय गरे ।

 

आफैंले दुख गरेर बनाएको वैकल्पिक राजनीतिक धारलाई एमालेको बैखाशी चढाउन खोज्नु कमल थापाको वैचारिक मात्रै होइन, सांगठानिकरुपमा समेत एकप्रकारको दिवालियापन थियो । र, यो ०७० सालमा राजधानीबासीले राप्रपालाई दिएको बहुमतको समेत अपमान थियो ।

थापाले अहिलेसम्म आफूले बोक्दै आएको वैकल्पिक राजनीतिक विचारको संवाहक नेता एमालेका नेता केपी ओलीलाई बनाइदिएपछि राप्रपाको औचित्यमाथि मतदाताले प्रश्न उठाउनु स्वाभाविकै थियो ।

विचार एउटाको तर, नेता अर्को हुने कुरा राजनीतिमा सम्भव मानिँदैन । राप्रपाले केपी ओलीलाई नेता मान्यो, कमल थापा आफैंलाई उनको पार्टीले नेता मान्न सकेन । यसरी स्वतन्त्र विचारधारामा मात्रै होइन, संगठनात्मक प्रश्नमा पनि राप्रपामा स्खलन देखापर्‍यो ।

सरकारमा रहँदा पनि राप्रपाले केही अस्थिर चरित्र देखायो । प्रचण्ड नेतृत्वको सरकारमा केही दिनका लागि जानु अनि तत्कालै फिर्ता हुनु जस्ता कमल थापाका गतिविधि अस्थिर प्रकारका देखिए ।

संविधान संशोधनको सवालमा पनि राप्रपाले दोधारे नीति अपनायो । मधेसको माग पूरा हुनुपर्छ पनि भन्ने तर संशोधन प्रस्ताव पारित गर्ने बेलामा सांसदहरु नै बेपत्ता हुनेजस्ता घटनाहरु भए । यो काण्डले राप्रपा झण्डै फुटको संघारमा पुगेर बचेको अवस्था छ ।

५. यो चुनावले कति अर्थ राख्छ ?

मुलुकको चौथो शक्तिका रुपमा रहेको राप्रपाको आलोचना गरिरहँदा यो प्रश्नलाई पनि ध्यान दिनुपर्ने हुन्छ कि ३४ जिल्लाका २८३ स्थानीय तहको मत परिणामका आधारमा राष्ट्रिय पार्टीहरुको समग्र मूल्यांकन गर्नु कत्तिको बैज्ञानिक होला ?

अब दोस्रो चरणमा हुने निर्वाचन र त्यसबाट आउने परिणामले राप्रपाको तस्वीर थप स्पष्ट पार्न सक्छ ।

तथापि पहिलो चरणको स्थानीय चुनावले राप्रपाप्रति जनताको अरुचीको पूर्वसंकेत चाँहि गरेकै छ ।

काठमाडौं मात्रै होइन, विभिन्न नगर र गाउँको स्थिति हेर्दा ०७० सालमा राप्रपा नेपालले जति मत पाएको थियो, यसपालि त्यो बढ्नुको साटो घटेको छ ।

६. गठबन्धन प्रत्युत्पादक ?

 

राजाराम श्रेष्ठ

 

यसपटकको स्थानीय चुनावमा मतदाताले गठबन्धन गर्ने दलहरुलाई खासै रुचाएको देखिएन । विवेकशील र साझा पार्टीले गठबन्धन नै नगरिकन राप्रपाको भन्दा राप्रपाको राम्रो पोजिसन बनाएका छन् राजधानीमा ।

काठमाडौंमा जस्तै ललितपुरमा राप्रपा-एमाले गठबन्धनलाई हेर्दा उत्साहजनक परिणाम देखिँदैन । त्यस्तै भरतपुर र पोखरामा माओवादी-कांग्रेस तालमेलको नतिजा पनि उत्साहजनक देखिएको छैन ।

मेयर र उपमेयरको मत परिणाम हेर्दा चारवटै महानगरपालिकामा दलहरु गठबन्धनप्रति इमान्दार देखिएनन् । अन्यथा चितवनमा रेणु दाहाल काठमाडौंमा राजाराम श्रेष्ठको स्थिति यस्तो निराशाजनक नहुनुपर्ने हो ।

काठमाडौंमा नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमको हालत पनि त्यस्तै देखिएको छ ।

यसको अर्थ, कतै मतदाताले एक्लै चुनाव लड भनेर दलहरुलाई आग्रह गरेको त होइन ? पहिलो चरणको स्थानीय चुनावले यो राजनीतिक ‘डिस्कोर्स’लाई सतहमा ल्याइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment