Comments Add Comment

बुक क्लोज अघि किनेर सेयर हात पारेपछि बेच्ने प्रवृत्ति मौलायो, के फाइदा ?


४ जेठ, काठमाडौं । सेयर बजारमा लगानी गर्ने र लगानी सुरक्षित गर्ने अलग अलग रणनीति हुन्छन् । घट्दो बजारमा लगानीकर्ताहरु यस्ता रणनीति बनाउन अझै बढि सक्रिय हुन्छन् । अहिले बजारमा भने हकप्रद वा बोनस आफ्नो नाममा पार्ने अनि मूल्य नघट्दै बेचिहाल्ने रणनीति लगानीकर्ताहरुले बनाई रहेको ब्रोकरहरुले बताएका छन् ।

‘बोनस र हकप्रद सेयर हातमा पार्न बुक क्लोज अघि नै सेयर खरिद गर्नेे, सेयर आफ्नो नाममा पार्ने र केही दिनमा नै बेचीहाल्ने क्रम बढेको छ,’ ब्रोकर अन्जनराज पौड्यालले बताए ।

हकप्रदमा १ सय रुपैयाँमा कम्पनीको सेयर आवेदन दिन सकिने भएकोले बजार केही घटिहालेमा पनि घाटा समायोजन गर्न बुक क्लोजपछि लगानीकर्ताहरुले सेयर बिक्री गर्ने गरेको ब्रोकरहरु बताउछन् ।

बजार उच्च अवस्थामा नै रहेकोले पनि लगानीकर्ताहरुले समय समयमा यस्ता रणनीति अनुसार लगानी ‘अफलोड’ गर्ने गरिरहेका छन् ।

यसबाट के फाइदा ?

मानौं, कुनै कम्पनीको सेयर मूल्य ४ सय रहँदा कुनै लगानीकर्ताले १० हजार कित्ता सेयर खरिद गरेको छ । यसो भएमा शुलक लगायतसहित लगानीकर्ताको ४० लाख १८ हजार रुपैयाँ लगानी हुन्छ । त्यो कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ ।

बुक क्लोजको दिन कम्पनीको सेयर मूल्य ६२.५ प्रतिशतले हकप्रद समायोजन  (बजार मूल्य ४ सय र हकप्रदमा लाग्ने मूल्य १ सय सहित कुल ५ सयलाई २ कित्ता सेयरले भाग गर्दा प्रतिकित्ता २ सय ५० रुपैयाँ समायोजन हुन्छ । यो भनेको ४ सयको ६२ प्रतिशत हो । ) भयो भने सेयर मूल्य २ सय ५० रुपैयाँ घटेर मूल्य १ सय ५० कायम हुन्छ । यतिखेर बेच्दा लगानीकर्ताले सबै शुल्क सहित गरेर २५ लाख १८ हजार रुपैयाँ  घाटा खान्छ । तर, लगानीकर्ताले थप १० लाख लगानी गरेर १० हजार कित्ता हकप्रद पाउन सक्छ ।

त्यो हकप्रद बजारमा सूचीकृत हुँदासम्म कम्पनीको सेयर मूल्य ३ सय ४० मा पुग्यो भने  लगानीकर्ताले १ सय लगानी गरेको कुल १० हजार कित्ता सेयरमा ३४ लाख  रुपैयाँ कमाउन सक्छ ।

यसअघिको घाटा घटाउदा पनि लगानीकर्ताले ८ लाख कमाउन सक्छ । त्यो बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर र शुल्क लगायत घटाउने हो भने पनि लगानीकर्ताको हातमा ७ लाख ४७ हजार नाफा बच्न आउछ । बजारमा मूल्य घटेमा भने केही घाटा हुनसक्छ । तर बजार बढ्ने प्रवृत्तीमा पुनः लागेमा नाफा हुन्छ भन्ने अपेक्षामा लगानीकर्ता हुन्छन् ।

पहिले बजार निकै न्युन अवस्थामा रहेर बढ्न थाल्दा भने लगानीकर्ताले यो रणनीति फरक तरिकाले प्रयोग गर्ने गर्दथे । घाटा समायोजनकै लागि हकप्रदमा पनि लगानी गर्ने तर पहिले बजारबाट किनेको सेयर समेत तत्काल बिक्री नगर्ने गर्दथे । यो रणनीति लिनेले किनेको मूल्यभन्दा बढि भएपछि मात्रै सेयर बिक्री गर्ने गरेको पाइन्थ्यो ।

यसो गर्दा बजारबाट किनेको सेयर समेत बढेको मूल्यमा बिक्री गर्न पाइने र अझै बढि नाफा हुने गर्दथ्यो । तर बजार उच्च भएको समयमा आगामी दिनमा बजार घट्न पनि सक्छ भन्ने डरले पहिलेकै रणनीतिलाई ठ्याक्कै उल्टो तरिकाले तर नाफा लिन सकिने गरि अहिले लगानीकर्ताले प्रयोग गरिरहेका छन् ।

* यसअघिको समायोजन दरमा केही त्रुटी भएकोले सच्चयाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment