Comments Add Comment

कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार, निर्वाचन अधिकृतले धाँधली गरेको आरोप

कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठ पत्रकार सम्मेलनमा बोल्दै

५ जेठ, चितवन । भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन् । अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो ।’

वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले बताए ।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।

केहीबेर अघि सार्बजनिक वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक सार्बजनिक गरिएको कांग्रेस–माओवादी नेताहरुको दाबी छ । नौ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५ हजार १५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८०९ मत सार्बजनिक गरिएको थियो ।

रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको माओवादी चितवन जिल्ला सहइन्चार्ज घनश्याम दाहालले बताए ।

उनले भने, ‘निष्पक्ष मतगणनाको प्रतिबद्धता नआएसम्म मतगणनामा भाग लिँदैनौं ।’

कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले वडा नम्बर नौं को पुनः मतगणनाको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment