Comments Add Comment

रामेछापमा एमालेको एकल बहुमत, सबै स्थानीय तहको नतिजा सार्वजनिक

मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत र उपप्रमुख माया कार्की विजयी जुलुसमा ।

६ जेठ, रामेछाप । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको रामेछापको अन्तिम परिणाम अनुसार नेकपा एमाले जिल्लाको सबैभन्दा ठूलो दल बनेको छ । ०६४ र ०७० को संविधानसभा चुनावमा तेस्रो बनेको एमाले यसपटक कांग्रेस र माओवादीलाई पछि पारेर सबैभन्दा ठूलो दल बनेको हो ।

जिल्लाका जम्मा ६४ वडामध्ये एमालेले २८, माओवादीले २१, कांग्रेसले १३, राप्रपाले १ र स्वतन्त्र १ वडाध्यक्ष जितेका छन् । संयोग के पनि भएको छ भने लिखु गाउँपालिका र मन्थली नगरपालिका बाहेक अरु सबै तहका प्रमुख आदिवासी जनजाति समुदायका हुन् ।

२ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम परिणाम आइसक्दा एमाले पहिलो बनेको छ । दोरम्बा र सुनापति गाउँपालिका बाहेक सबै ४ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेले जितेको उमाकुण्ड गाउँपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यहाँ एमालेले उपप्रमुखमा उम्मेदवारी दिएको थिएन र राप्रपालाई समर्थन गरेको थियोे । माओवादीले दोरम्बा र सुनापति गाउँपालिको प्रमुख र उपप्रमुखमा बिजय प्राप्त गरेको छ ।

मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् । यसैगरी रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार झिनो मतान्तरमा बिजयी भएका छन् ।

नेपाली कांग्रेसका बिनोद कार्की र माओवादी केन्द्रका पूर्वसभासद तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका रमेश बस्नेत मन्थलीको प्रमुखमा बिजयी भएका हुन् । कांग्रेसका गंगा अधिकारी र माओवादी केन्द्रका रितादेवी घिमिरेलाई पछि पार्दै एमालेका माया कार्की उपप्रमुखमा बिजयी भएकी छन् ।

रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेसका नरबहादुर थापामगर ४ हजार ४०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाखि्रनले ४ हजार ३०० मत पाए । त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४ हजार ३९३ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३ हजार ९९४ मत ल्याइन् ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सु्नुवार बिजयी भएका छन् । उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठ नेवार बिजयी भएकी छिन् । यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार बिजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसका उर्मिला कार्की बस्नेत बिजयी भएकी छिन् ।

लिखु गाउँपालिकाकाको प्रमुखमा एमालेका गोबिन्द बहादुर खड्का र उपप्रमुखमा पनि एमालेकै दिपशीखा दाहाल बिजयी भएका छन् । यसैगरी दोरम्बा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका कमानसिंह मोक्तान र उपप्रमुखमा क्रिसला घिसिङ बिजयी भएका छन् ।

खाँडादेवी गाउँपालिकामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेमबहादुर तामाङ विजयी भएका छन् । उनको ४ हजार ९ सय १४ मत आयो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वेदराज लामाले ३ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । खाँडादेवी गाउँपालिकाको उपप्रमुखमा एमालेकै मखमली श्रेष्ठले ४ हजार ९१४ मत प्राप्त गरेर बिजयी भएकी छिन् ।

उनको निकटतम प्रतिद्वन्द्वी मीनाकुमारी श्रेष्ठले ३ हजार २०९ मत ल्याइन् । खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ८ र ९ पुरै प्यानलसहित नेकपा एमालेका उमेदवारहरु विजयी भएका छन् ।

रामेछापको सुनपाती गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य धावा लामा ४ हजार ७३६ मतले बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रबहादुर मोक्तानले ३ हजार ९६६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै गीता विष्टले ४ हजार ७२२ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी विनिता खड्काले ३ हजार ७३३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment