Comments Add Comment

वीरगञ्ज र बिराटनगर महानगरपालिका बन्दा जनकपुर किन छुट्यो ?

९ जेठ, जनकपुर । सरकारले बिराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय गरिरहँदा प्राचीन मिथिलाको राजधानी जनकपुरमा भने आक्रोश पोखिएको छ । धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरलाई महानगरपालिका नबनाएकोमा स्थानीयले आक्रोश पोखेका हुन् ।

धार्मिक पर्यटनको हब बन्ने सम्भावना रहेको जनकपुरलाई मधेसभित्रै विभेद गरिएको आवाज समेत सुनिन थालेको छ । जनकपुरमा अहिले एकीकृत शहरी विकास आयोजना र नेपाल रेल्वेको विस्तार समेत भइरहेको कारणले महानगरपालिका बनाउनुपर्ने उनीहरुको माग छ ।

दुई नम्बर प्रदेशको सम्भावित राजधानीकारुपमा समेत चर्चित रहेको जनकपुरलाई महानगरपालिका नबनाई सोही प्रदेशको वीरगञ्जलाई बनाउनुले प्रदेशको राजधानीमा समेत विवाद सिर्जना हुने सम्भावना देखिएको यहाँका अगुवा बताउछन् ।

जनकपुरको परिचय

जनकपुर उपमहानगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ । ०७१ मंसिर १६ गते जनकपुर नगरपालिका उपमहानगरपालिका बनेको थियो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसबिट्टी, बिन्धी, प्रको महुवा, लोहना, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाविसलाई समावेश गरिएको थियो ।

जनकपुर उपमहानगरको जनसंख्या करीव २ लाख ४५ हजार १ सय २८ छ । जनकपुरधाम विश्वभरका हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण स्थल हो । जानकी मन्दिर विश्वका हिन्दूहरुको पवित्रस्थल हो । जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन् । यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ । त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ ।

जनकपुरलाई राजधानी बन्न नदिने षडयन्त्र ?

जनकपुरलाई महानगरपालिका नबनाइनुको उद्देश्य भविष्यमा २ नम्बर प्रदेशको राजधानी बन्नबाट रोक्ने षडयन्त्र हुन सक्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराको आशंका छ । उनले भने- जनकपुर आर्थिक गतिविधिमा समेत पछाडि हैन तर जनकपुरलाई कसरी राजधानी बन्न नदिने भन्ने षडयन्त्रकै कारणले गर्दा महानगरपालिका नबनाइएको हो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष एवं नयाँ शक्ति पार्टी नेपालका नेता उमेश साह पनि जनकपुरलाई महानगरपालिका घोषणा नगरिनु राज्यले गरेको बिभेदका रुपमा लिएका छन् । जनकपुरमा अहिले रेल्वेको विस्तार, भारतसँगको आर्थिक नाका जोड्ने गरी ६ लेनको सडक विस्तार लगायतका सम्भावना रहेका कारणले पनि महानगर बन्नुपर्ने उनको धारणा छ ।

मधेस केन्दि्रत दलहरुले समेत जनकपुरलाई महानगरपालिका बनाउन चासो नदिएको गुनासो स्थानीयले गरेका छन् । जनकपुर वरिपरि रहेका गाउँपालिकालाई मिलाएर महानगरपालिका बनाउने सम्भावना हुँदाहुँदै बेवास्ता गरिएको साहले बताए ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवसहितको टोलीले जनकपुरलाई महानगरपालिका बनाउन केन्द्रमा लबिङ गरिरहेका बेला मधेसवादी पार्टीले बेवास्ता गरेको आरोप छ । तर, राजपा नेतृ विभा ठाकुर भने जनकपुरलाई राज्यले विभेद गरेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment