Comments Add Comment

बच्चालाई कुट्नुहुन्छ ? यस्तो असर पर्न सक्छ

 

कहिले खेलौना बिगार्दा, कहिले होमवर्क नगर्दा, कहिले लामो समय टिभी हेर्दा, कहिले विहान चाडै नउठ्दा बच्चाले आमाबुवाको गाली खानुपर्छ, पिटाइ खानुपर्छ । बच्चाले जानेर वा नजानेर गल्ती गर्छन् । उनीहरुमा सबै कुराको ज्ञान हुँदैन त्यही कारण राम्रो गर्न खोज्दा खोज्दैपनि उनीहरुले काम विगार्छन् ।

यस्तो अवस्थामा अभिभावक रिसाउँछन्, बच्चालाई गाली गर्छन्, कुटपिट गर्छन् । अभिभावक सोच्छन् कि, बच्चालाई डर देखाउँदा, गाली गर्दा, कुटपिट गर्दा उनीहरु सुधि्रन्छन् । तर, यस किसिमको व्यवहारले बच्चामा कस्तो असर गर्छ ?

कुटेर सम्झाउने वा सिकाउने शैली

मनोविज्ञहरु भन्छन्, अभिभावकहरुको सोचाईमा बच्चालाई कुटेर कुनैपनि कुरा सिकाउन वा सम्झाउन सकिन्छ भन्ने हुन्छ । उनीहरु यस्तै तरिका अपनाएर बच्चालाई कति कुरा सिकाइरहेका हुन्छन् । किनभने कुटेपछि उसले दोस्रो पटक गल्ती दोहोर्‍याउँदैनन् । तर, यो गलत धारणा हो ।

बच्चालाई कुनैपनि कुरा सम्झाउन, बुझाउन, सिकाउनका लागि कुट्ने शैली ठीक होइन । बच्चाहरुले यसबाट राम्रो कुरा सिक्दैनन्, बरु उनीहरुमा मानसिक आघात पर्न सक्छ । कति बच्चालाई त के पनि थाहा हुँदैन भने, मैले किन पिटाई खाइरहेको छु । वा, मेरो आमाबुवाले मलाई किन पिटिरहनुभएको छ ?

प्रेमपूर्वक सम्झाउनुहोस्

मानौ, बच्चाले कुनै काम विगार्‍र्यो वा गल्ती गर्‍यो भने त्यसको बदलामा गाली गर्नु ठीक होइन । वा कुटपिट गरेर पनि उनीहरुको बानी सुधार्न सकिने होइन । बरु, उनीहरुले जे गल्ती गरिरहेका छन्, त्यो काम ठीक होइन भन्ने कुरा महसुष गराउनु पर्छ । उनीहरुलाई अनुभूत हुनुपर्छ कि, मैले गरेको कामले राम्रो नतिजा दिदैन । यस्तो काम गर्नु हुँदैन ।

अक्सर बच्चाहरु प्रेमको भोका हुन्छन् । उनीहरुलाई प्रेमपूर्वक गरिएको व्यवहार मन पर्छ । जब उनीहरुले केहि गल्ती गर्छन्, त्यसबारे पनि प्रेमपूर्वक सम्झउन सकिन्छ । यसले बच्चामा सकारात्मक प्रभाव पर्छ ।

शारीरिक हिंसाले गलत प्रभाव

बच्चालाई कुटेर, सजाय दिएर सहि दिशामा डोहोर्‍याउन सकिन्छ भन्नु अवैज्ञानिक सोंच हो । शारीरिक हिंसाले बच्चालाई आक्रमक बनाउँछ । जिद्दी बनाउँछ । यसले गतल बाटोमा लाग्ने खतरा पनि रहन्छ । जब बच्चालाई शारीरिक यातना दिइन्छ, उनीहरुको मनोवल कमजोर हुन्छन् । आत्माविश्वास कमजोर हुन्छ । डरपोक बनाउँछ ।

अपमानित महसुष गर्ने

कुनैपनि गल्ती गर्दा बच्चालाई गाली गर्ने वा कुट्ने व्यवहारले नराम्रो असर पर्छ । यसले बच्चामा अपमानित भएको महसुष हुन्छ । उनीहरु साथीका अगाडि निर्धक्क प्रस्तुत हुन पनि सक्दैनन् । कुनैपनि काम गर्नुपर्दा मनमा डर पैदा हुन्छ, फलत उसले त्यसलाई राम्रो ढंगले सम्पादन गर्न सक्दैनन् ।

के भन्छ अध्ययन ?

अमेरिकामा गरिएको एक अध्ययन अनुसार अभिभावकहरु बच्चालाई सुधार्नका लागि कुट्ने तरिका अपनाउने गरेका छन् । यसरी कुट्दा उनीहरु सुध्रिने होइन, थप आक्रमक एवं रिसाह हुने पाइएको थियो । अधिकांश बच्चा कुटाई खाएको १० मिनेटभित्रै फेरी अर्को बदमासी गर्न सुरु गर्छन् । किनभने उनीहरुमा उग्र स्वभाव विकास भइसकेको हुन्छ ।

के गर्ने ?

– बच्चाले गल्ती गर्छन् र गल्तीबाटै सिक्छन् पनि । त्यसैले बच्चाको हरेक काममा परिपक्कता खोज्नुहुन्न ।

–    कहिले कहिं बच्चाले जिद्दी गर्न सक्छन्, झगडा गर्न सक्छन् । यस्तो अवस्थामा उनीहरुलाई तुरुन्तै प्रतिकार गर्ने होइन । केहि क्षण शान्त हुन दिने । शान्त भइसकेपछि सम्झाउनु पर्छ ।

–    बच्चालाई झुटो आश्वसन दिन हुन्न । उनीहरुलाई लोभ देखाएर, डर देखाएर कुनैपनि काम गर्न प्रेरित नगरौं ।

–    बच्चा कसरी खुसी हुन्छन् भन्ने कुरामा ख्याल गर्नुहोस् । घरलाई बालमैत्री बनाउनुहोस् ।

–    बच्चासँग खेल्नुहोस्, रमाउनुहोस् । बच्चालाई बच्चा जस्तै हुन दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment