Comments Add Comment

वीरगञ्ज र बिराटनगर महानगरपालिका बन्दा जनकपुर किन छुट्यो ?

९ जेठ, जनकपुर । सरकारले बिराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय गरिरहँदा प्राचीन मिथिलाको राजधानी जनकपुरमा भने आक्रोश पोखिएको छ । धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरलाई महानगरपालिका नबनाएकोमा स्थानीयले आक्रोश पोखेका हुन् ।
दुई नम्बर प्रदेशको सम्भावित राजधानीकारुपमा समेत चर्चित रहेको जनकपुरलाई महानगरपालिका नबनाई सोही प्रदेशको वीरगञ्जलाई बनाउनुले प्रदेशको राजधानीमा समेत विवाद सिर्जना हुने सम्भावना देखिएको यहाँका अगुवा बताउछन् ।धार्मिक पर्यटनको हब बन्ने सम्भावना रहेको जनकपुरलाई मधेसभित्रै विभेद गरिएको आवाज समेत सुनिन थालेको छ । जनकपुरमा अहिले एकीकृत शहरी विकास आयोजना र नेपाल रेल्वेको विस्तार समेत भइरहेको कारणले महानगरपालिका बनाउनुपर्ने उनीहरुको माग छ ।

जनकपुरको परिचय

जनकपुर उपमहानगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ । ०७१ मंसिर १६ गते जनकपुर नगरपालिका उपमहानगरपालिका बनेको थियो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसबिट्टी, बिन्धी, प्रको महुवा, लोहना, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाविसलाई समावेश गरिएको थियो ।

जनकपुर उपमहानगरको जनसंख्या करीव २ लाख ४५ हजार १ सय २८ छ । जनकपुरधाम विश्वभरका हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण स्थल हो । जानकी मन्दिर विश्वका हिन्दूहरुको पवित्रस्थल हो । जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन् । यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ । त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ ।

जनकपुरलाई राजधानी बन्न नदिने षडयन्त्र ?

जनकपुरलाई महानगरपालिका नबनाइनुको उद्देश्य भविष्यमा २ नम्बर प्रदेशको राजधानी बन्नबाट रोक्ने षडयन्त्र हुन सक्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराको आशंका छ । उनले भने- जनकपुर आर्थिक गतिविधिमा समेत पछाडि हैन तर जनकपुरलाई कसरी राजधानी बन्न नदिने भन्ने षडयन्त्रकै कारणले गर्दा महानगरपालिका नबनाइएको हो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष एवं नयाँ शक्ति पार्टी नेपालका नेता उमेश साह पनि जनकपुरलाई महानगरपालिका घोषणा नगरिनु राज्यले गरेको बिभेदका रुपमा लिएका छन् । जनकपुरमा अहिले रेल्वेको विस्तार, भारतसँगको आर्थिक नाका जोड्ने गरी ६ लेनको सडक विस्तार लगायतका सम्भावना रहेका कारणले पनि महानगर बन्नुपर्ने उनको धारणा छ ।

मधेस केन्दि्रत दलहरुले समेत जनकपुरलाई महानगरपालिका बनाउन चासो नदिएको गुनासो स्थानीयले गरेका छन् । जनकपुर वरिपरि रहेका गाउँपालिकालाई मिलाएर महानगरपालिका बनाउने सम्भावना हुँदाहुँदै बेवास्ता गरिएको साहले बताए ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवसहितको टोलीले जनकपुरलाई महानगरपालिका बनाउन केन्द्रमा लबिङ गरिरहेका बेला मधेसवादी पार्टीले बेवास्ता गरेको आरोप छ । तर, राजपा नेतृ विभा ठाकुर भने जनकपुरलाई राज्यले विभेद गरेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment