Comments Add Comment

चिरीबाबु महर्जनः ज्यामीदेखि ललितपुरको मेयरसम्म

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका छन् । चिरीबाबुले एमालेका हरिकृष्ण व्यन्जनकारलाई र गीताले साझा पार्टीकी शोभा शाक्यलाई हराइन् ।

विद्यार्थी जीवनमा सधैं पहिलो हुने गरेका चिरीबाबु २० वर्षपछि पहिलोपटक भएको स्थानीय चुनावमा पनि पहिलो नै भए । तर, सानै उमेरदेखि संघर्षमय जीवन बिताएका चिरीबाबुलाई मेयर जित्न पनि निकै संघर्ष गर्नुपर्यो ।

चिरिबाबुको ज्यामी जीवन

ललितपुरका मेयर हुनेखाने र उच्च वर्गका होइनन् भन्ने त उनको लवाइखवाईले नै देखाउँछ । किनकी उनीमा कुनै तडकभडक नै छैन । जागीरको सिलिसिलामा त्रिभुवन विमानस्थल निर्माणका क्रममा क्यानेडियन प्रोजेक्टको म्यानेजर समेत भएका चिरीबाबु महर्जनसँग अहिले आर्थिक स्थिति कमजोर भने छैन । तर जीवनशैली भने साधारण छ । पुरानो भएर मक्कीएको ढाकाटोपीले अहिले पनि शीर सजाएर हिँड्छन् चिरीबाबु । किनकी उनको जीवन पुर्णरुपमा संघर्षले भरिएको छ र उनलाई पैसाको महत्व राम्रोसँग थाहा छ ।

ललितपुरको मेयरमा निर्वाचित भएका चिरीबाबु स्कुले जीवनमा ज्यामी काम गरेर पढेका हुन् । जन्मेको चार वर्षमै उनको बाबुको मृत्यु भएपछि ३ दाजु भाई र ३ दिदीबहिनीलाई पालनपोषण गर्न उनकी आमालाई निकै कठिन भयो । पुर्ख्यौलीदेखि चिरीबाबुको परिवारले पुल्चोक आसपास र धोबिघाटमा अर्काको जग्गामा खेती किसानी गर्दै आएको थियो । आफ्नो नाममा खेतबारी थिएन । मोही भए बापत उनको साढे २ रोपनी बराबरको जग्गामा दाबी थियो ।

बाबुको मृत्यु भएपछि उनको परिवारले खेतीपाती गरेर अन्न त जुटाउँथ्यो । खानका लागि यसले पुगेपनि घरमा नगद भने हुँदैनथ्यो । पढ्न मन गर्ने चिरीबाबुलाई आमाले जनतन अन्नपात बेचेर भएपनि पढाइन् । तर ६ कक्षादेखि भने उनले पढाउन नसक्ने भइन् ।

स्कुलमा मासिक रुपमा तिर्नुपर्ने शुल्क २ रुपैयाँ ३९ पैसा उनको परिवारले धान्न नसक्ने भयो । ६ कक्षामा उनी भर्ना भए तर शुल्क तिर्न सकेनन् । अनि थाले ज्यामी काम ।

उनका भिनाजु दीपक महर्जन तत्कालिन समयमा ठेक्कापट्टा गर्दथे । अहिलेको ज्ञानोदय बालबाटिकाका संस्थापक इन्दिरा यक्तुम्बाको घर निर्माणको जिम्मा उनकै भिनाजुले पाएका थिए । उनी भिनाजुले ठेक्का पाएको घर बनाउने काममा ज्यामी बने । सानो बच्चाले काम गरेको देखेपछि इन्दिराको आँखा चिरीबाबुमा अडियो । अनि उनले उनका बारेमा सोधपुछ गरिन् ।

‘पढ्नका लगि पैसा नभएपछि ज्यामी काम गर्न आएको थाहा पाएपछि इन्दिरा जीले १० कक्षासम्म मेरो पढाई खर्च ब्यहोर्ने हुनुभयो,’ चिरीबाबुले अनलाइनखबरसँग आफ्नो विगत सुनाए, ‘तर मैले ज्यामी काम भने सधैंका लागि छोड्नु पर्ने उहाँको सर्त थियो, जसले नै मेरो जीवनमा परिवर्तन ल्याइदियो ।’

स्कुलको युनिफर्म किताब र शुल्क सबै १० कक्षासम्म इन्दिराले नै ब्यहोरिन् । उनकी आमालाई पनि राहत महसुस भयो ।

स्कुलमा सधैं फस्ट, चुनावमा पनि फस्ट

पढाइमा लगाव राख्ने चिरीबाबु स्कुले जीवनमा कहिल्यै पनि दोस्रो भएनन् । त्रिपद्म मावि ललितपुरमा कक्षा १ देखि १० कक्षासम्म पढ्दा उनी जहिले पनि पहिलो नै भए । कलेजका परीक्षामा पनि उनले कहिले असफलता भोग्नु परेन ।

चिरीबाबु भन्छन्, ‘अहिलेसम्म पढाइ र चुनावमा मलाई कहिले ब्याक लागेको छैन ।’

जनतन गरेर स्कुलको पढाइ सकेका चिरीबाबुलाई कलेज कसरी पढ्ने भनेर चिन्ता थियो । आर्थिक अवस्था कमजोर भएकाले जागीर गर्नु उनलाई बाध्यता भयो । त्यसैले राष्ट्रिय शिक्षा समितिमा उनले खरिदारको जागीर खाए ।

वडाध्यक्ष भएपनि जागीर, बहुदलको समर्थनमा राजीनामा

पढाईमा मात्रै होइन चुनावमा पनि उनले अहिलेसम्म हार खेप्नु परेको छैन । अहिले मेयर बनेका चिरीबाबुले यसअघि नै वडा नम्बर ३ बाट ३ पटक वडाध्यक्ष जितिसकेका छन् ।

राजनीतिक यात्रा भने उनले २०३८ सालदेखि थालेका हुन् । उनी २०३८ सालमा कुनै दलमा आबद्ध भने भएका थिएनन् । सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे ।

चिरीबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पूस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव जित्न उक्त समयमा मलाई केही अप्ठयारो नै परेन ।’

‘मेरो इमान्दारीतामा अहिलेसम्म कसैले पनि औला उठाउन सकेको छैन, किनकी म जनताको पैसा खाँदिन र त मलाई जनताले नपराउँछन् । अनि उनीहरुको विश्वास जितेको छु,’ चिरीबाबु भन्छन् ।

२०३८ सालमा उनी वडाध्यक्ष चुनिए पनि जागीर भने त्रिभुवन बिमानस्थलको प्रोजेक्टमा गरिनै रहे । उनले थपे, ‘वडाध्यक्ष मात्रै भएर मात्रै घरबार नचल्ने अनि जागीर गरेर मात्रै मलाई आत्मसन्तुष्टि नहुने त्यसैले दुबैलाई एकसाथ अघि बढाएँ ।’

२०४६ सालमा बुहदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिए ।

कांग्रेस पार्टीमा आवद्धता

उनको कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । किनकी अहिलेको स्थानीय चुनावमा ललितपुरको १० नम्बर वडामा स्वतन्त्र उमेदवार बनेर वडाध्यक्ष जितेका नरसिंह ब्यञ्जनकारले नै चिरीबाबुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । ०४९ सालको चुनावमा नरसिहंलाई वडाध्यक्षको उमेदवारी दिन पार्टीले नमानेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म नरसिंह भने स्वतन्त्र नै रहँदै आएका छन् ।

०४९ सालमा भने वडा नम्बर २ मा वडाध्यक्षको रुपमा कांग्रेसले चिरीबाबुलाई उठायो । र उनले जित हासिल पनि गरे ।

चिरीबाबुले २०५९ सालमा ज्यापु समाज स्थापना गरे । २०५९ देखि ६२ सम्म उनी ज्यापु समाजका अध्यक्ष थिए । चुनावमा अहिले उनलाई कांग्रेसको मात्रै नभई अधिकांश महर्जनको भोट खसेको छ । जसका कारण पनि उनलाई जित्न सहज भएको हो । उनी भन्छन्, ‘ज्यापु समाजमा रहेर मैले धेरै काम गरेको छु । त्यसैले पनि धेरै महर्जनहरुको भोट मलाई नै आएको छ जसले पनि सहज बनायो जितलाई ।’

यस्तो छ कामको योजना

ललितपुर महानगरपालिकामा सुशासन कायम गर्ने चिरीबाबुको पहिलो प्राथमिकता छ । एक घण्टामै हुने कामलाई कर्मचारीहरुले १ दिनसम्म लम्ब्याइदिने गरेको उनको अनुभव छ । जसलाई उनले सपथ ग्रहण गर्नेबित्तिकैबाट सुधार्न प्रयास गर्ने भएका छन् ।

मेलम्चीको पानी आएपछि पनि सबै ठाउँमा पानीको सुबिधा भएन भने डिप ट्युबेल खन्ने उनको योजना छ । बाग्मतीको किनारामा बृक्षारोपण गर्ने पनि उनको योजना छ ।

१.४ किमीको फ्लाइओभर निर्माण

चिरीबाबुले थापाथलीदेखि पुल्चोकसम्म १.४ किलिमोटर लामो फ्लाइओभर निर्माण गर्न तत्काल सम्भाव्यता अध्ययन थाल्ने बताएका छन् । उनी भन्छन्, ‘मेरै पालामा निर्माण सक्ने गरी फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन तत्काल थाल्ने छु ।

‘ठाउँ–ठाउँमा वन वे गर्न र ललितपुरका सडक हप्तामा दुईचोटी पानीले पखाल्ने उनको योजना छ ।

फ्री प्री स्कुल

स्कुले जिवनमा कष्टका साथ पढेका चिरीबाबुले प्री स्कुल फ्री गराउने सोचमा छन् । सुरुमा हरेक वडामा प्री स्कुलको अध्ययन निःशुल्क गर्ने उनको योजना छ । उनी भन्छन्, ‘माद्यमिक तहसम्मको पढाइ निःशुल्क भनिएको छ तर यहाँ प्री स्कुलमा चर्काे शुल्क छ । कमसेकम एउटा वडामा एउटा मात्रै भएपनि प्री स्कुल फ्री गर्न सकियोस् भन्ने मेरो सोच छ, जसको तत्कालै सम्भाव्यता अध्ययन थाल्छु ।’

यसका साथै ललितपुरमा रहेका बिजुली र फोनका तारलाई अण्डरग्राउण्ड गर्ने र ब्यापारिक बोर्डमा निश्चित मापदण्ड बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

यो पनि पढ्नुहोस् 

मध्यरातमा ललितपुर कांग्रेसको विजयउत्सव तस्वीरमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment