Comments Add Comment

चुनावी मैदानमा गएका ठूला पार्टीका जिल्ला कमाण्डर को-को फर्किए रित्तो हात ?

एमालेका धेरै जिल्ला अध्यक्ष नगर र गाउँपालिका प्रमुख निर्वाचित, कांग्रेसका एकमात्र

१० जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन भएका ३४ जिल्लामा ठूला पार्टीका केही जिल्ला अध्यक्ष र इन्चार्जनै चुनावी मैदानमा गएका थिए । तर, कांग्रेस, एमाले र माओवादीकै केही जिल्ला अध्यक्ष पराजय भोग्न बाध्य भए ।

अधिकार सम्पन्न स्थानीय सरकार भएकाले स्थानीय तहको प्रमुखमा पार्टीका जिल्ला अध्यक्षह तथा प्रभावशाली नेताहरु चुनाव लड्नुपर्ने थियो । तर, धेरै जिल्लाका अध्यक्षहरु चुनावी मैदानमा गएनन् । गएकाहरुमध्ये एमालेका धेरै थिए ।

एमालेका को-को जिते ?

एमालेका दोलखा जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनी निर्वाचनको दिन आफैं मतदाता रहेको बुथमा समेत बस्न नसकेपछि भागेका थिए । तर तीन बुथ कब्जा भएको ठाउँबाट उनी भारी मतका साथ गाउँपालिका अध्यक्ष जिते ।

पोखरेल २०४९ मा जफे गाविस अध्यक्ष र २०५४ मा जिल्ला विकास समिति निर्वाचित भएका थिए । दोलखा एमालेका जिल्ला अध्यक्ष पोखरेल मात्र होइन उपाध्यक्ष नरवहादुर श्रेष्ठ र सचिव भरत दुलाल पनि चुनावी मैदानमा गएका थिए । ती मध्ये दुलाल शैलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने श्रेष्ठ मेलुङ गाउँपालिकाको मतगणना चलिरहँदा अग्रता लिइरहेका छन् ।

एमालेका काभ्रे जिल्ला अध्यक्ष टोकवहादुर तामाङ पनि चुनावी मैदानमा बिजयको माला पहिरिए फर्किए । उनी मण्डन देउपुर नगरपालिकाको मेयरमा निर्वाचित भए । यसअघि पनि उनी गाविस अध्यक्ष भइसकेको नेता हुन् ।

त्यस्तै एमालेका सल्यान जिल्ला अध्यक्ष गोविन्द पुन बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । भर्खरैमात्र एमाले जिल्ला अध्यक्षमा निर्वाचित पुन माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णवहादुर बुढाथोकीलाई पराजित गरेर मेयर भएका हुन् ।

एमालेका अध्यक्ष, जो चुनाव हारे

चुनावी मैदानमा गएका एमाले जिल्ला अध्यक्षहरुमध्ये ललितपुरका हरिकृष्ण ब्यन्जनकार सिन्धुपाल्चोकका झम्क नेपाल, रुकुमका विमल पुन र मुगुका कार्यवाहक अध्यक्ष धर्मवहादुर शाही भने रित्तो हात फर्किए ।

एमालेका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार मंगलवार मध्यरातमा कांग्रेसका चिरिबाबु महर्जनसँग महानगरपालिका मेयरमा करीव ३ सय मतको अन्तरमा पराजित भए । महानगरपालिकामा एमालेको मेयरको उम्मेदवार बन्ने ब्यन्जनकार एकमात्र जिल्ला अध्यक्ष थिए ।

झम्क नेपाल सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस उम्मेदवार बंशलाल तामाङसँग करीव २ सय मतान्तरमा पराजित भए । जिल्लाभर १२ मध्ये ७ स्थानीय तह एमालेले जित्दा जित्दै कमाण्डर नेपाल चाहिँ पराजित हुँदा कार्यकर्ताले युद्ध जिते पनि सेनापति ढलेको अनुभूति गरेका छन् । जिल्ला सचिव कमल नेपाल भने लिसंखुपाखर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै रुकुमका एमाले अध्यक्ष बिमल पुन मुसिकोट नगरपालिकामा तेस्रो स्थानमा रहे भने मुगका शाही सोरु गाउँपालिका अध्यक्षमा ३३ मतले पराजित भए ।

कांग्रेसका एक जिते, एक हारे

कांग्रेसबाट चुनावी मैदानमा दुईजना जिल्ला सभापतिमात्र गएका थिए । ती मध्ये तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने ब्यास नगरपालिकाको मेयरमा निर्वाचित भए । तर, लमजुङ जिल्ला सभापति भेषवहादुर पौडेल बेशीशहर नगरपालिकामा पराजित भए । उनी एमालेका नेता गुमानसिंह अर्यालबाट पराजित भएका हुन् ।

माओवादीबाट जसले जिते

करीव ४ हजार केन्द्रीय सदस्य रहेको माओवादी पार्टीका केही जिल्ला इन्चार्ज तथा अध्यक्ष चुनावी मैदानमा होमिएका थिए । ती मध्ये रामेछाप जिल्ला इन्चार्ज धावा लामा सुनापति गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

काभ्रे जिल्ला अध्यक्ष दिनानाथ गौतम पनि चौंरी देउराली गाउँपालिका अध्यक्षमा निर्वाचित हुन सफल भए । तर, रसुवाका जनार्दन घिमिरे, मकवानपुरका बलराम बल, सल्यानका अध्यक्ष कर्णवहावदुर बुढाथोकी पनि चुनावी मैदानमा पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment