Comments Add Comment

सिन्धुपाल्चोकको चुनावः प्रमुखभन्दा उपप्रमुख लोकप्रिय, गोलाप्रथाबाट विजेता छनोट !

तीन मतको अन्तरले जित्नेदेखि गोलाप्रथाबाट निर्वाचित हुनेसम्म

१० जेठ, सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको तीन नगरपालिका र नौ गाउँपालिकासहित १२ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

त्यसमध्ये दुई नगरपालिका र पाँच गाउँपालिकामा जित्दै नेकपा एमालेले वर्चस्व कायम गर्‍यो । मेलम्ची नगरपालिकाको मेयरमा एमालेका डम्बर अर्याल र उपमेयरमा भगवती नेपाल निर्वाचित भएका छन् ।

मेयरमा विजयी अर्यालले आठ हजार ६ सय ७८ मत पाएका थिए भने उपमेयर नेपालले नौ हजार १ सय १७ मत पाइन् । उपमेयरका विजेताले मेयरले भन्दा ४ सय ३९ मत बढी ल्याएकी छन् ।

संयोग नै परेको छ, सिन्धुपाल्चोकमा निर्वाचित प्रमुखहरुले भन्दा उपप्रमुखहरुले बढी मत ल्याएर विजयी भएका छन् । खासगरी एमालेका उम्मेदवारहरुमा यस्तो स्थिति देखिएको छ ।

निर्वाचित मात्रै होइन, पराजय बेहोरेका प्रायः उमेदवारहरुमा पनि प्रमुखको भन्दा उपप्रमुखकै मत बढी छ ।

बाह्रबिसे नगरपालिकामा एमालेका तर्फबाट मेयरमा विजयी निमफुञ्जो शेर्पाले ४ हजार ९ सय २९ मत ल्याएका थिए भने उपमेयर सुशीला प्राखिनले ५ हजार १ सय १५ मत पाएकी छन् ।

पराजित भएका एमालेका उमेदवारहरुमा पनि उपप्रमुखहरुकै मत बढी देखिन्छ । चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार भएका सोम सापकोटाले ५ हजार ८ सय ६ मत पाएका थिए भने उपमेयर सीता थापाले ६ हजार २ सय ६७ मत पाएकी थिइन् ।

दुबैबीच ४ सय ६१ मतको अन्तर छ ।

लिसंखुपाखार गाउँपालिकाको अध्यक्षमा एमालेबाट कमल नेपाल प्रतिद्वन्द्वीभन्दा जम्मा ३० बढी मत पाएर विजय भए । उपाध्यक्षमा भने हेमगंगा मोक्तानले प्रतिद्वन्द्वीभन्दा ४ सय २५ बढी मत ल्याएकी थिइन् । प्रमुख नेपालले २ हजार ७ सय ६१ मत पाएका थिए भने उपप्रमुख मोक्तानले उनीभन्दा ९१ बढी मत ल्याइन् ।

सुनकोशी गाउँपालिकाको प्रमुखमा एमालेका शिव न्यौपानेले ३ हजार ३ सय ४४ मत पाएका थिए भने उपप्रमुख देवी अधिकारीले ३ हजार ७ सय ८६ मत पाएकी थिइन् ।

त्यस्तै जुगल गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठले २ हजार ७ सय १८ मत पाएर विजयी भएका थिए भने उपाध्यक्ष सिर्जना तामाङले ६८ बढी मत पाएकी थिइन् ।

अन्य दलबाट निर्वाचित भएकाहरुमा भने उपप्रमुखभन्दा प्रमुखकै मत बढी छ ।

निर्वाचनका रोचक पाटोः जसले फराकिलो मतान्तरले जिते

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार अमनसिंह तामाङले प्रतिद्वन्द्वीलाई सबैभन्दा बढी मत अन्तरले पराजित गर्न सफल भए ।

तामाङले ७ हजार ७ सय २९ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले ५ हजार ८ सय ६ मत पाएका थिए । दुवैबीच मतको अन्तर १ हजार ९ सय २३ देखियो ।

त्यस्तै, मेलम्ची नगरपालिकमा एमालेका मेयरका उम्मेदवार डम्बर अर्याल प्रतिद्वन्द्वीभन्दा १ हजार ६ सय ४५ मत बढी पाएर विजयी भए ।

तेस्रो क्रममा हेलम्बु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका निमा ग्याल्जने शेर्पा प्रतिद्वन्द्वी भन्दा १ हजार ६ सय ३२ बढी मत पाएर निर्वाचित भए । यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुखमा निर्वाचित एमालेका टासी लामाले प्रतिद्वन्द्वीभन्दा १ हजार ४ सय ४३ बढी मत ल्याए ।

उता सुनकोशी गाउँपालिकामा कांग्रेसका उम्मेदवार श्रवणकुमार जिसी प्रतिद्वन्द्वीभन्दा १ हजार १६ बढी मतसहित विजेता भए ।

यी हुन् थोरै मतको अन्तरले जित्नेहरु

सिन्धुपाल्चोकको गाउँपालिकामा सबैभन्दा कम ३० मतको अन्तरले जित्नेदेखि वडा तहमा जम्मा ३ मतको फरकले जित्ने रोमाञ्चक प्रतिस्पर्धा देखियो ।

लिसंखुपाखार गाउँपालिकामा एमालेका उम्मेदवार कमल नेपाल प्रतिद्वन्द्वीभन्दा जम्मा ३० मत पाएर मात्रै निर्वाचित भएका थिए । अरु तहमा भने बढीमा २ सय मतको अन्तरले हारजित भएको छ ।

वडा तहमा भने सबैभन्दा बढी १८ मत र कममा ३ मतको अन्तरले पराजित हुनेहरु पनि छन् ।

गोलाप्रथाबाट विजेता छनोट !

जिल्लामा निर्वाचनको प्रतिस्पर्धा सबैभन्दा कम मतको अन्तरमा मात्र सीमित रहेन । बराबरी मत ल्याउने खरा प्रतिस्पर्धी पनि देखिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको मतगणना सकिँदा यस्तै स्थिति आयो । गाउँपालिकाको वडाध्यक्षमा एमाले र राप्रपाको उम्मेदवारले बराबरी मत पाएका थिए ।

त्यसपछि गोलाप्रथा गर्दा एमालेका उम्ममेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment