बालबालिकाको हुर्कँदो अवस्थामा थाइराइड हर्मोन एकदम आवश्यक मानिन्छ । खासगरी गर्भावस्थाको पहिलो दिनदेखि जन्मेपछिका १८ वर्षको उमेरसम्म बालबालिकाको हुर्काइ, मस्तिष्कको विकास (आईक्यू) को लागि यो हर्मोन अत्यन्त जरुरी हुन्छ ।
बालबालिकाको मस्तिष्कको विकासको लागि पहिलो तीन वर्ष धेरै महत्वपूर्ण हुन्छ । खासगरी जन्मेपछिको पहिलो ६ महिनाको अवधिमा आयोडिनको कमी भएमा स्थायी रुपमा बुद्धि लब्धि (आईक्यू) को कमी हुन जान्छ ।
यदि हामीले समयमा समस्याको पहिचान गर्न नसकेमा एक महिनाको ढिलाइमा पनि बालबालिकाको आईक्यूमा पाँच प्वाइन्टको कमी हुन जान्छ ।
नेपालमा यस्ता बालबालिकाको संख्या ठूलो रहेको अनुमान छ । यसको मुख्य कारण धेरै पहाडी र हिमाली क्षेत्र रहेको नेपालको भौगोलिक अवस्था र त्यहाँको माटोमा आयोडिनको कमी हुनु हो ।
नेपालमा मौसमी अवस्थाका कारण धेरै पानी पर्ने र पानीले माटोमा रहेको आयोडिन बगाउँछ । यसले गर्दा अन्नपातमा आयोडिन कम हुने गर्छ । आयोडिनको महत्व र यसको कमीले हुने असरबारे जनचेतना नहुँदा पनि बालबालिकामा यस्तो समस्या देखिने गरेको छ ।
पछिल्लो तथ्यांकले विश्वमा करिब २० करोडभन्दा बढी मानिसमा थाइराइडको समस्या हुने गरेको छ । यो समस्यामध्ये ५० प्रतिशत बिरामीमा यसबारे जनचेतना नरहेको देखिएको छ । विश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिस आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
विश्वको तथ्याङ्क अनुसार हरेक ४ हजार नवजात शिशुमध्ये एक जना थाइराइडको समस्या लिएर जन्मिन्छन् । समयमै समस्याको पहिचान नहुँदा यी शिशुहरुलाई मस्तिष्क र शरीरको विकासमा स्थायी रुपमा असर पर्ने गरेको छ ।
थाइराइड हर्मोन: के हो र कसरी काम गर्छ ?
थाइराइड हर्मोनले मुख्यरुपमा हड्डीको विकास, शारीरिक विकास,तापक्रम नियन्त्रण र अझ मुख्य रुपमा मस्तिष्कको विकास तथा परिपक्वतामा भूमिका खेल्छ ।
थाइराइड हर्मोनले गर्भवती भएको पहिलो तीन महिनामा गर्भमा रहेको भ्रुणको मस्तिष्कको विकास र त्यसको परिपक्वतामा निकै महत्वपूर्ण भूमिका खेल्छ ।
यसैगरी, नवजात शिशुहरुमा यो हर्मोन कम हुनु वा नहुनुले पनि मस्तिष्कको विकासमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्छ । यसले गर्दा स्थायी रुपमा नै आईक्यूको कमी हुन जान्छ । यसैकारण धेरै देशमा रोकथाम गर्न सकिने स्थायी आईक्यूको कमी हुने किसिमका रोगहरुमध्येमा ‘हाइपो थाइराइडिज्म‘ पहिलो स्थानमा आउँछ ।
थाइराइड ग्रन्थि कम चल्यो भने ‘हाइपो थाइराइडिज्म‘ र बढी चल्यो भने ‘हाइपर थाइराइडिज्म‘ भनिन्छ । बालबालिकाहरुमा भने बढी‘हाइपो थाइराइडिज्म‘ देखिन्छ ।
बालबालिकामा थाइराइड हर्मोनको कमी भएको कसरी थाहा पाउने ?
क. नवजात शिशुहरुमा थाइराइडको कमी हुँदा देखिने लक्षणहरुः
– सुस्तता तथा बढी हलचल नगर्ने ।
– धोद्रो स्वरमा रुने ।
– जिब्रो लामो भएर धेरैजसो मुखबाट बाहिर निकाल्ने ।
– नाइटोमा हर्निया देखिने ।
– नवजात शिशुहरुमा जण्डिस देखिने ।
– आमाको दूध खान नमान्ने अथवा गाह्रो मानेर खाने ।
– कब्जियत हुने ।
– शरीरको तापक्रमलाई आफैंले नियन्त्रणमा राख्न नसक्ने ।
ख. बालबालिकाहरुमा थाइराइडको कमी हुँदा देखिने लक्षणहरु:
– दाँत ढिलो निस्कनु ।
– ढिलो हिँड्ने र बोल्ने ।
– शारीरिक विकास नहुनु ।
– उँचाइ नबढ्नु ।
– खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु ।
– कब्जियत हुनु ।
– छाला सुख्खा हुने ।
– कपाल झर्ने ।
– चिसो लाग्ने ।
– सुस्त स्वभावको बच्चा हुनु ।
– धेरै सुत्ने ।
– एकाग्रताको समस्या हुनु र विद्यालयमा सफल नहुनु ।
– आईक्यूको कमी हुनु ।
माथि चर्चा गरिएका लक्षणहरु देखिएमा बालबालिकाहरुलाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराउनुपर्ने हुन्छ । यस रोगको निदानको लागि लक्षणहरु र थाइराइड हर्मोनको जाँच गरिन्छ र हर्मोन बढी वा कमी देखिएमा त्यसको आधारमा उपचार गरिन्छ । उपचार सरल र सुलभ छ ।
थाइराइड रोगको उपचार समयमै पाएमा बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा उल्लेख्य रुपमा सुधार आउँछ ।
प्रतिक्रिया 4