Comments Add Comment

डोटीमा माओवादी केन्द्र र नयाँ शक्तिको एकता

विप्लव पार्टीका कार्यकर्ता पनि प्रवेश

१२ जेठ, डोटी । दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा डोटीमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल डोटीबीच पार्टी एकता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य बिरवहादुर थापा सहितका कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार अवेरसम्म सञ्चालन भएको पार्टी एकता तथा प्रवेश कार्यक्रमवाट दुई पार्टीका जिल्ला कमिटीहरु एक भएको घोषणा गरिएको छ ।

नयाँ शक्तिका जिल्ला संयोजक शिव सिंह ओलीको नेतृत्वमा सिंगै जिल्ला कार्यसमिति माओवादी केन्द्रमा एकीकरण भएको हो । माओवादी केन्द्र ७ नम्बर प्रदेश संयोजक लेखराज भट्ट र नयाँ शक्तिका जिल्ला संयोजक ओलीले संयुक्त रुपमा जिल्ला पार्टी एकता भएको घोषणा गरेका थिए ।

पार्टी एकताका लागि गृहजिल्ला कैलालीबाट डोटी पुगेका भट्टले एकताको सन्देश बोकेर स्थानीय तहको निर्वाचनमा जनताका बीचमा जानु खुशीको कुरा भएको बताए । ‘हामी युद्धकालमासँगै लडेका सहकर्मीहरु पार्टीभित्रको केही असहमतिका कारण अलग-अलग भएका थियौं,’ नेता भट्टले भने, ‘माओवादी आन्दोलनको आवश्यकता अनुसार हामी फेरि एक ठाउँमा आएका छौं ।’

कार्यकर्ता र जनताको मागका आधारमा पार्टी एकता गरेको नयाँ शक्तिका जिल्ला संयोजक ओलीले बताए । ‘टुटफुटबाट ग्रस्त माओवादी आन्दोलन अब धु्रवीकरणको बाटो तर्फ लागेको छ,’ एकता कार्यक्रमलाई सम्बोधन गर्दै ओली भने, ‘कार्यकर्ताको एकताको धारणा सबै बिभाजित केन्द्रीय नेताले महसुस गर्नुपर्छ ।’

डोटीमा भएको पार्टी एकताले देशभरी एकताका लागि माहौल सिर्जना हुने ओलीको भनाइ छ ।

माओवादी केन्द्रभित्रको चरम असहमतिपछि गत पुस २ गते संयोजक ओलीको नेतृत्वमा ३१ जना माओवादी नेता कार्यकर्ताहरु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेका थिए । त्यसयता माओवादीलाई जिल्लामा कमजोर भएको आकंलन गरिएको थियो ।

बिहीबारको एकतापछि नयाँ शक्ति नेपाल पार्टी डोटीमा शून्य भएको माओवादी नेताहरुको दावी छ । माओवादी केन्द्रका डोटी जिल्ला ईञ्चार्ज त्रिलोचन भट्टले बिगत लामो समयदेखि चल्दै आएको पार्टी एकता प्रयासले सार्थकर्ता पाएको बताए ।

बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गर्दा डोटीमा जिल्ला समिति निर्माण गर्ने तत्कालीन माओवादी नेता मोहन बम लगायतको टोली यसअघि नै नेकपा एमालेमा प्रवेश गरिसकेको छ ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारीका डोटी जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायतका कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खोक्रा भाषण र नाराले समाज रुपान्तरण नहुने भएकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment