Comments Add Comment

घोराही उपमहानगरमा माओवादी योजना: अन्तर्राष्ट्रिय विमानस्थलदेखि स्मार्ट शहरसम्म

१४ जेठ, दाङ । नगरको बीचमा सानो तर पूर्ण सुविधासम्पन्न स्मार्ट शहर । दाङ उपत्यका छिर्ने चौपट्टा नजिकै जंगलसँगै जोडिएको चिडियाखाना । नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल, रामपुर र नारायणपुरमा बहुप्राविधिक विश्वविद्यालय । नगरका प्रत्येक वडामा सुविधायुक्त १५ शैयाका अस्पताल, नगरको केन्द्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

झट्ट सुन्दा महत्वाकांक्षी जस्तो लाग्ने यी योजनाहरु माओवादीले दाङको घोराही उपमहानगरपालिकाको विकासका लागि कोरेका खाकाहरु हुन् ।

यतिमात्रै होइन भित्री र बाहिरी गरी दुईटा अलग-अलग चक्रपथ । चक्रपथमा एकीकृत यातायात प्रणाली अन्तर्गत सिटी रेल र सुविधासम्पन्न नगर बसहरु । धर्नामा औद्योगिक क्षेत्र । नगरको केन्द्रमा अत्याधुनिक सिटी हल, भिडियो कन्फ्रेन्स हल र रंगशाला पनि घोराही उपमहानगरपालिकामा प्रस्तावित माओवादी योजनाहरू हुन् ।

घोराही उपमहानगरपालिकाको प्रमुख पदका माओवादी उम्मेदवार जीवन गौतमले भने, ‘झट्ट सुन्दा कसैलाई महत्वाकांक्षी लाग्ला तर, माओवादीलाई जिताउनुस् मात्रै हामी पाँच वर्षे कार्यकालभित्रै यी सब काम गरेर देखाइदिन्छौं ।’

माओवादी दाङका नेताहरुले यी योजनाहरु सबै प्राविधिक तथा इन्जिनियरहरुसँग बसेर तयार पारिएकाले काम गर्न असम्भव नभएको बताए ।

माओवादी दाङले घोराही उपमहानगरपालिकाभित्र अव्यवस्थित भू-खण्डीकरण रोक्ने, वृद्धभता न्युनतम ५ हजार पुर्‍याउने, पर्याप्त खानेपानी तथा सिंचाइको व्यवस्थापन गर्ने लगायतका विषय घोष्णापत्रमा समेटेको छ ।

घोराही उपमहानगरपालिकाको उपप्रमुख पदकी माओवादी उम्मेदवार सीता चौधरीले भनिन्, ‘घोराहीलाई देशकै नमूना नगरको रुपमा विकास गर्ने योजना हामीले बनाएका छौं । यो घोषणापत्र मात्रै होइन, पूरा गरेरै छाड्ने हाम्रो संकल्प पनि हो ।’

दाङ जिल्लाको टरिगाउँमा एउटा विमानस्थल भएपनि हाल प्रयोगविहीन छ । उक्त विमानस्थल तुलसीपुर उपमहानगरपालिकाभित्र परेकाले घोराही उपमहानगरपालिकाभित्र अर्को विमानस्थल बनाउने योजना माओवादीले बनाएको छ ।

माओवादीले घोराही उपमहानगरपालिकाको प्रमुखमा पार्टीका पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम र उपप्रमुखमा पार्टी जिल्ला सदस्य सीता चौधरीलाई अघि सारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment