Comments Add Comment

महाअभियोग अघि नबढाउन प्रस्तावकले दिए निवेदन, संसदबाटै निष्क्रिय पारिने

कांग्रेस सांसद मीन विश्वकर्मा

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावकले नै अघि नबढाउन निवेदन दिएका छन् ।

प्रमुख दलहरुबीच महाअभियोग फिर्ता लिने सहमति जुटेपछि प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्माले आइतबार सभामुखलाई निवेदन दिएका छन् । प्रस्ताव मीन र समर्थक टेकबहादुर बस्नेतको निवेदनमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव अघि नबढाउन अनुरोध गर्दैछौं ।’

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले बैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएर अघि नबढाउन भनेको छ ।

सर्वोच्चको आदेशसाग प्रधानन्यायाधीश कार्की सर्वोच्च फर्किएपनि मुद्दा हेरेकी छैनन् ।

संसदबाटै निष्क्रिय पारिने

शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच महाअभियोग फिर्ता लिने सहमति जुटेको थियो । तर, सहज अवतरण खोज्नु पर्ने भन्दै कांग्रेसले संसदको महाअभियोग सिफारिस समितिमा लगेर टुंग्याउने विकल्प पनि अघि सारेको थियो ।

यसबारे महाअभियोगका प्रस्तावक मीन विश्वकर्माले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसँग छलफल गरे । लगतै प्रमुख तीन दलका कानुनी पृष्ठभूमि भएका सांसदहरुसँग सभामुख ओनसरी घर्तीमगरले परामर्श गरिन् ।

यो छलफलमा कांग्रेसका रमेश लेखक, एमालेका रेवतीरमण भण्डारी र माओवादीका रामनारायण विडारी थिए । उनीहरुले संसद नियमावलीको ८२ अनुसार प्रस्तावकले महाअभियोग फिर्ता लिन सक्ने राय सभामुखलाई दिएका थिए ।

तर, सर्वोच्चले अगाडि नबढाउनू भनेकाले समितिमा पठाउन नसकिने निष्कर्ष निस्किएको छ ।

लगतै महाभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादीका बस्नेतले प्रस्ताव अघि नबढाउन माग गर्दै सभामुखलाई निवेदन दिएका छन् ।

अब सभामुखले संसदीय कारबाहीबाट निकास दिने सत्तारुढ दलका सांसदहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment