+
+
Shares
कथा :

अ–स्वतन्त्रता

त्यही बखत मिस्टर मानध्वजको घर घेरिन्छ। सिभिल ड्रेसका केही मानिसहरू घरवरिपरि पर्खालझैं पहरा दिएर उभिन्छन्। दुइटा प्रहरीको भ्यान तयारी अवस्थामा हुन्छ।

खुपेन सुनुवार खुपेन सुनुवार
२०८३ भदौ २७ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जावलाखेलको ‘काइरोस क्याफे’मा मानध्वजले खाम पाएपछि बिजे सापकोटासँग अन्तर्वार्तामा ‘कन्फर्मिस्ट’ र विद्रोहबारे बहस गरे।
  • अन्तिममा बिजेले आफू नै अपरिचित पात्र, मानध्वज र पत्रकार सबै भएको जस्तो पहिचान-भ्रममा ढल्यो र मानध्वजले चुपचाप खाम पढ्न लगाए।
  • अन्त्यमा मिस्टर मानध्वजको घर सिभिल ड्रेसका मानिसले घेरियो र गृहमन्त्रालयको लेटरहेडसहित पक्राउ पुर्जी देखाएर उनलाई पक्राउ गर्न भनियो।

जावलाखेलको एकान्तकुनातिर ओरालो झर्ने छड्के घुम्तीको छायामा पर्छ— ‘काइरोस क्याफे’। ग्राहकहरूको अनुपस्थितिले अशून्यता क्षणिक रूपमा निलम्बित छ। यद्यपि क्याफेको सजावट र शृङ्गार छ यथास्थितिमै अवस्थित। स्थिर भएर बसिरहेको अमूर्त अनुभूति चलायमान समयको मूर्त अनुपस्थिति मात्र हो।

सजिएका टेबल–कुर्सीहरू प्रतीक्षाको आकारमा मौन छन्। सिसाको झ्यालबाहिर रातो, पहेँलो र नीलो बत्तीहरू नित्यझैं अनुपम अनुरागमा हाँसिरहेका छन्। टिलको दायाँतिर कफी मेसिनको हल्का सुस्केरा र पातलो धुवाँले कसैको ध्यान भङ्ग गर्दैन। बायाँ पारदर्शी सिसाभित्र क्रोसन, सिनामन रोल, मफिन र चकलेट कुकिज साँझलाई चुपचाप स्वागत गरिरहेका छन्। स्वाद होइनन् यिनीहरू, अनुहार हुन्। आकार होइनन्, अनुभूति हुन्।

नेपथ्यमा अर्ली फिफ्टिज  को विख्यात सङ्गीत समूह ‘द प्लाटर्स’ को गीत ‘द ग्रेट प्रिन्टेन्डर’ चारस्वारीय समस्वरतामा गुन्जिरहेको हुन्छ। न धेरै चर्को, न धेरै मलिन; बस्, यति मात्र कि कानले सहजै समात्न सकोस्, मनले बिस्तारै आत्मसात् गरोस्।

श्रीमती शुलाम्मीत शलोमी उमेर अन्दाजी चालिस नाघेकी, उचाइ पाँच फिट चानचुन, श्वेत वर्णकी, निकै आकर्षक जिउडाल, उज्यालो अनुहार, ‘ब्वाइज कट’ कपाल… औ ! बैंसमा झन् कति राम्री थिइन् होलिन् यिनी ! सानै उमेरमा आफ्ना बुबा–आमासँगै दार्जिलिङबाट नेपाल छिरेपछि नेपाल उनको लागि स्थायी घर भयो।

यो क्याफे उनकै हो। माथि मानभवन र तल थापाथलीको ‘कुइनहिल पुस्तक भण्डार’ र प्रकाशन गृह पनि उनकै मातहतमा पर्छ। दिउँसो उनी आफ्ना श्रीमान् रोबर्ट डिसुजालाई बुकस्टोरमा सहायता गर्छिन् र साँझ क्याफेमा प्रत्येक शुक्रबार आफ्ना स्टाफलाई क्लोजिङ सिफ्ट ‘कभर’ गरिदिन आउँछिन्।

क्याफेभित्र एक जना वयस्कको प्रवेश हुन्छ- सेताम्मे कपाल, नीलो कमिज, खैरो पाइन्ट, डार्क ब्राउन बुट, रातो मफलर र खाकी कोटले सजिएका। हेर्दा कुनै विश्वविद्यालयका प्राध्यापकजस्ता संयत र आकर्षक। उनी साँझपख यो क्याफेमा आउने नियमित ग्राहक हुन्।

‘गुड टु सी यु अगेन, मिस्टर मानध्वज। हाउ ह्याभ यु बिन ?’

मिसेस डिसुजाले चम्किलो मुस्कानका साथ टाढैबाट हात हल्लाउँदै भनिन्। मानध्वजको ओठमा पनि सहज मुस्कान फैलियो। उनले हल्का टाउको झुकाउँदै जवाफ दिए।

‘द प्लेजर इज अल माइन, मिसेस डिसुजा। आई एम डुइङ वेल, थ्याङ्क यु। एन्ड यु ?’

‘बेटर नाउ,’ उनले हाँस्दै भनिन्— ‘यु नो, द क्याफे डजन्ट फिल क्वाइट कम्प्लिट अन्टिल यु टेक योर युजुअल सिट।’

मानध्वजको आँखामा हल्का चमक झल्कियो।

‘देन आई सपोज आई सुड किप कमिङ— फर द सेक अफ द क्याफे।’

दुवै मज्जाले दिल खोलेर हाँसे। त्यसपछि मानध्वज साबिकझैं देब्रे कुनाको आफ्नो नियमित टेबलतिर लागे।

केही बेरपछि मिसेस डिसुजा मानध्वजको नियमित ‘ब्ल्याक अमेरिकानो’ लिएर उनको टेबलतिर आइन्। कपलाई बडो सावधानीपूर्वक टेबलमा राख्दै उनले न्यानो मुस्कानका साथ भनिन्।

‘मिस्टर मानध्वज, प्लिज टेल मी समथिङ न्यु अबाउट योरसेल्फ। हाउ इज योर फ्यामिली ? एन्ड द किड्स ?’

मानध्वजले कफीको कपतिर एक नजर लगाए। तातो बाफ चस्माको सिसातिर बिस्तारै उक्लिरहेको थियो। उनले हल्का मुस्कुराउँदै जवाफ दिए।

‘ओह, दे आर डुइङ गुड। अहिले क्रिसमस मनाउन उनीहरू गान्तोक, उसको मामाघर गएका छन्। घर अलि सुनसान छ तर कहिलेकाहीँ त्यो पनि नराम्रो लाग्दैन।’

उनले कपको ह्यान्डल समात्दै केही क्षण रोके। त्यसपछि मानध्वजको अनुहारमा अचानक उत्साहको न्यानो चमक देखापर्‍यो।

‘बाई द वे, प्लिज कन्भे माइ बेस्ट रिगार्ड्स टु मिस्टर डिसुजा। मेरो नयाँ उपन्यास ‘कन्फर्मिस्ट’ को पाण्डुलिपि तयार भइसकेको छ। अब अन्तिम ड्राफ्ट मात्र बाँकी छ।’

उनले अलिकति अगाडि झुक्दै आत्मविश्वासपूर्ण मुस्कान दिए।

‘आई एम स्योर हि ओन्ट डिनाई पब्लिसिङ इट।’

मिसेस डिसुजाको अनुहारमा उत्सुकता र खुसी एकैचोटि झल्कियो।

‘ओहो ! रियली ? द्याट्स वन्डरफुल मिस्टर मानध्वज ! आई एम स्योर रोबर्ट विल बी एक्साइटेड टु हियर द्याट। विकडेजमा एकपटक पब्लिकेसन हाउस आउनुहोस् न है !’

मिस्टर मानध्वजले सन्तुष्ट भावमा टाउको हल्लाए। उनको अनुहारमा नयाँ उपन्यास प्रकाशन हुने सम्भावनाले जन्माएको उत्साहको चम्किलो भाव देखिन्थ्यो।

मिसेस डिसुजाले मुस्कुराउँदै भनिन्।

‘प्लिज, अलाउ मी टु फिनिस माइ स्टक लिस्ट। साउट मी इफ यु निड एनिथिङ।’

‘स्योर !’ मानध्वजले सहज स्वरमा जवाफ दिए।

यसरी मिसेस डिसुजासँगको औपचारिक–अनौपचारिक कुराकानीपछि दुवै आ–आफ्नो काममा अभ्यस्त हुन्छन्। टेबलमाथि फैलिएको दैनिक पत्रिकातिर मानध्वजको आँखा अनायासै अडिन्छ। बिहान घरमै उसले यही पत्रिका एकपटक पढिसकेको थियो, नवविस्तारित मन्त्रिमण्डलसम्बन्धी हेडलाइन पनि उसका लागि नयाँ थिएन। तर अहिले त्यही हेडलाइनअन्तर्गतका केही शब्दहरू उसलाई अपरिचितझैं लाग्छन्। मानौं, बिहान ती शब्दहरू त्यहाँ थिएनन् वा थिए पनि उसले देख्न सकेको थिएन।

उसको दृष्टि फेरि तिनै शब्दहरूमाथि फर्किन्छ। मस्तिष्कभित्र कतै नमज्जाले ठुङ हान्छ। केही पुरानो दबिएको स्मृतिले चुपचाप टाउको उठाएझैं हुन्छ। तर अनुहारमा त्यसको कुनै असर पर्न नदिई मानध्वजको पौरुषिक मन फेरि सम्हालिन्छ।

उता मिसेस डिसुजा टिल नजिकको बायाँ टेबलमा बस्छिन्। ल्यापटप खोल्छिन् र हातको नरम गतिमा ‘ट्याक–ट्याक–ट्याक’ गर्दै क्याफेको स्टक लिस्ट तयार गर्छिन्। कहिले स्क्रिनमा झुकेर कुनै विवरण जाँच्छिन्, कहिले कागजमा टिपिएका सामानहरूको सूची हेर्छिन् र फेरि किबोर्डमाथि आफ्ना औंलाहरू चलाउँछिन्।

यता मिस्टर मानध्वज भने क्याफेको भित्तामा टाँगिएको रोमन अङ्कको भित्तेघडी र आफ्नो हातको घडी पालैपालो हेरिरहेका थिए। उनको त्यो अस्थिर दृष्टिले उनी कसैको व्यग्र प्रतीक्षामा रहेको सङ्केत गर्थ्यो।

उनले टेबलमाथि राखिएको ‘ब्ल्याक अमेरिकानो’ को कपको किनार समाते र बिस्तारै–बिस्तारै चुस्की लिए। तातो कफीबाट उठेको बाफ उनको चस्माको सिसामा ठोक्कियो। क्षणभरमै चस्मा धमिलियो र उनी अगाडिको दृश्य पनि अस्पष्ट बन्यो।

बाहिर फैलिएको धमिलो कुइरोभित्रबाट एक जना अपरिचित व्यक्ति क्याफेभित्र हतारहतार पसेको कुरा मिस्टर मानध्वजले थाहै पाएनन्। उनी अझै आफ्नो चस्माको धमिलो सिसाबाट बाहिरको दृश्य चियाउने असफल प्रयासमै थिए। क्याफेभित्र बजिरहेको मधुर सङ्गीत, कफीको मन्द सुगन्ध र ल्यापटपको नियमित ‘ट्याक—ट्याक—ट्याक’ ध्वनिले वरिपरिको हलचललाई ढाकिरहेको थियो।

अपरिचित व्यक्ति उनीसँग न केही बोल्यो, न त एकपटक आँखा नै जुधायो। उसको दृष्टि मानध्वजमाथि अडिएको थियो कि थिएन, त्यो पनि छुट्याउन सकिने अवस्था थिएन। ऊ कुनै पूर्वनिर्धारित गन्तव्यतिर बढेजस्तो सीधै मानध्वजको टेबलसम्म आइपुग्यो। उसले क्षणभर पनि नअडिई टेबलमाथि एउटा खैरो खाम राख्यो। खाम टेबलमा हल्का आवाजका साथ अडियो।

त्यही क्षण मानध्वजको ध्यान बाहिरबाट भित्र फर्कियो। तर उनी केही बुझ्न नपाउँदै त्यो व्यक्ति उही हतारहतार रफ्तारमा फर्किसकेको थियो।

‘हेलो— एकछिन— !’

मानध्वजको स्वर अधुरै रह्यो।

ऊ यति छिटो क्याफेबाट बाहिरियो कि मानध्वजले उसको अनुहार ठम्याउने अवसरसमेत पाएन। चस्माको धमिलो सिसापारि उनले केवल एउटा मधुरो छाया देखे र कुइरोभित्र विलीन हुँदै गरेको एउटा अस्पष्ट आकृति।

त्यसपछि क्याफेको ढोका बन्द भएको सानो आवाज सुनियो।

‘क्लिक !’

त्यो क्षीण आवाज अस्वाभाविक रूपमा लामो समयसम्म मानध्वजका कानमा गुञ्जिरहन्छ। ऊ केही क्षण टेबलमाथि राखिएको खामतिर हेरिरहन्छ। खाम त्यहीँ निश्चल र अचल अवस्थामा लडिरहेको छ तर त्यसको उपस्थितिले क्याफेको वातावरण अचानक अपरिचित र गम्भीर बनाइदिन्छ। मानध्वज अत्यन्त भयभीत हुन्छ। उनका मनमा नानाथरी कुराहरू खेल्न थाल्छन्। बाहिर कुइरो झन् बाक्लिँदै थियो र भित्र मिस्टर मानध्वजको मनमा एउटा अनुत्तरित प्रश्न बिस्तारै आकार लिँदै थियो— ‘कसले पठाएको हो यो खाम ?’

नेपथ्यमा ‘द प्लाटर्स’ को अर्को कालजयी गीत गुन्जिरहेको हुन्छ, यसपटक भोल्युम अलिकति तीव्र छ।

ओन्ली यु क्यान मेक अल दिस वर्ल्ड सिम राइट

ओन्ली यु क्यान मेक द डार्कनेस ब्राइट

ओन्ली यु एन्ड यु अलोन

खामको बाहिर सानो अक्षरमा लेखिएको छ।

‘टु मिस्टर मानध्वज’

ऊ केही क्षणसम्म खामतिर मात्र हेरिरहन्छ; मानौं त्यसभित्र यस्तो केही छ जसले उसलाई एकातिर नजिक बोलाइरहेको छ भने अर्कोतिर एकैचोटि टाढा धकेलिरहेको छ। अन्ततः उसले बिस्तारै खाम खोल्छ। भित्रको कागज निकाल्छ। ऊ आँखाहरूले शब्दहरू छाम्छ र मस्तिष्कले तिनको अर्थ महसुस गर्न खोज्छ।

क्रमशः उसका मनभित्र अर्थहरूको हुल पस्न थालेपछि उसको अनुहार बदलिँदै जान्छ। केही क्षणका लागि उसको अनुहारमा यस्तो भाव देखापर्छ कि उसले केही ठम्याइसकेको छ तर तुरुन्तै त्यो भाव फेरि अस्पष्ट बन्छ- धमिलो पानीझैं।

केही बेरपछि उसले कागज फेरि खामभित्र राख्छ। सावधानीपूर्वक पट्याउँछ, यताउता हेरेपछि कोटको भित्री खल्तीमा थन्काउँछ। कुनै कुरा लुकाउनु र सुरक्षित राख्नुको योभन्दा ठूलो विरोधाभास अरू के हुन सक्छ ?

उसले टेबलको कप उठाउँछ। बाँकी रहल कफी एकै घुट्कोमा रित्याउने प्रयास गर्छ। पहिलो प्रयास असफल। फेरि अर्को घुट्को पिउँछ, दोस्रो प्रयास पनि असफल र तेस्रो प्रयासमा मात्र कप रित्तिन्छ। रित्तिनु सायद उसभित्र कुनै कुरा भरिएको सङ्केतजस्तो देखिन्थ्यो तर उसको अनुहारमा प्रस्ट पिरहरूको लामो धर्सा कोरिएको छ, जसलाई पन्छाउन उसले गरिरहेको असफल यत्न पनि स्पष्ट झल्किन्छ।

केही बेरपछि क्याफेको ढोका पुनः एकपटक खुल्छ। खुल्नासाथ चिसो हावा भित्र पस्छ र कालो ब्याकप्याक बोकेको एक व्यक्ति ऊ नजिकै मन्द मुस्कानसाथ आइरहेको यसपटक ऊ प्रस्ट देख्छ। उमेरका हिसाबले त्यो केटो मानध्वजभन्दा निकै कम देखिन्छ।

अनुहारमा उम्रिँदै गरेको जुँगाको पातलो रेखा, कालो लट्टा परेको कपाल, माथिदेखि तलसम्म धुस्रेफुस्रे कपडाले उनलाई अव्यवस्थित जस्तो देखाए पनि उनको तेजिलो मुहारले बाहिरी आवरणलाई छोपिदिन्छ।

‘सर, नमस्कार !’

उसले मानध्वजअगाडि सम्मानपूर्वक दुई हात जोडेर अभिवादन टक्रायो। त्यसपछि सहजताका साथ हात मिलाउन आफ्नो दाहिने हात अगाडि बढायो।

मानध्वजले उसको हाततिर एकछिन हेर्छ। अनि कुनै विशेष भाव नदेखाई हात मिलाउँछ।

‘माफ गर्नुहोस् सर ! आउँदाआउँदै ढिला भयो,’ उसले अलि थाकेको स्वरमा भन्यो।

‘साँझको ट्राफिक जाम— त्यसमाथि चाबहिल र तीनकुनेमा भीआईपीको सवारी…’

ऊ आँखा चिम्म गर्छ र मुस्कान ठीक त्यति मात्र पस्किन्छ जति विश्वास गर्न मिल्छ, तर पूर्ण रूपमा चैं होइन।

‘के गरौं सर, अन्तर्वार्ता अब सुरु गरौं त ?’

मानध्वज हातेघडी हेर्दै जवाफ फर्काउँछ।

‘म नि आएको आधा घण्टा मात्र भयो। किन हतार गर्छौ ? कि हतारमा छौ ? यदि तिमीलाई हतार छैन भने पहिला चिया–कफी केही लिन्छौ कि ?’

पत्रकारले मानध्वजको टेबलतिर हेर्छ। रित्तिसकेको कपमा उसको नजर परेपछि केही क्षण अडिन्छ र भन्छ।

‘आ ! होस् है सर, तपाईंले लिइसक्नुभएछ…’

ऊ हल्का मुस्कुराउँछ।

‘फेरि अर्को कप लिनुभयो भने मात्र म पनि लिन्छु।’

‘नत्र…’

ऊ एकछिन रोकिएझैं गर्छ।

‘हुन्छ, म अर्को थप्छु,’ मानध्वजले हतारहतार काउन्टर जवाफ फर्काउँछ।

‘कफी पिउँदै अन्तर्वार्ता लिनुले मुड राम्रो बनाउँछ, फेरि अन्तर्वार्ता अनौपचारिक प्रकृतिको हो।’

पत्रकार पनि खुसीभाव प्रकट गर्दै ‘मुड’ मा आउँछ।

त्यसपछि उसले काँधमा झुन्डिएको कालो ब्याकप्याक टेबलछेउ राख्यो। झोलाको चेन खोल्दै भित्रबाट एउटा सानो पोर्टेबल रेकर्डर निकाल्यो। त्यसपछि अर्को खल्तीबाट माइक्रोफोन झिकेर सावधानीपूर्वक मानध्वजको घाँटीमुनि अड्कायो।

‘लु है, मैले कफी मगाएँ। के लिन्छौ ?’ मानध्वज सोध्छ।

‘क्यापुचिनो।’ ऊ एकै लाइनमा जवाफ दिन्छ।

मानध्वजले पत्रकारका लागि एउटा नियमित क्यापुचिनो र आफ्नो लागि ‘डबल सट एस्प्रेसो’ र तातो पानी अर्डर गर्छ। यसपटक अर्डर लिन मिसेस डिसुजाले आफ्ना स्टाफ रोजीलाई पठाइन्। रोजीले अर्डर लिएपछिको केही छिनमा नै कफी आइपुग्छ। समय आफैंले आफ्नो दिशा बिर्सिएजस्तो दुवैको कपबाट माथि तन्किरहेको बाफ घुमाउरो देखिन्छ।

पत्रकारले रेकर्डर अन गर्छ। सानो रातो बत्ती बल्छ— ‘टिक् !’

त्यो आवाज मानध्वजको कानमा कुनै पुरानो सम्झनाले ढोका ढकढक्याएजस्तो लाग्छ, उसलाई त्यति निको लाग्दैन।

‘सर, सुरु गरौं ?’ ऊ फेरि सोध्छ।

मानध्वज मुस्कुराउँछ। तर त्यो मुस्कान आलोकमा अलिकति ढिलोगरी आउँछ।

‘तिमीले प्रश्न सोध्नुअघि एउटा कुरा सोधौं, बिजे ?’

‘हुन्छ सर !’

‘तिमी आफैं सोचेर प्रश्न सोध्छौ कि कसैले बनाइदिएको स्क्रिप्ट पढ्छौ ?’

पत्रकार बिजे फिस्स हाँस्छ।

‘सर, पत्रकारिता भनेको पनि त एउटा सिस्टम हो नि; तर म कसैले बनाएको स्क्रिप्ट घोकेर चैं आउँदिनँ।’

‘सिस्टम ?’

मानध्वज छक्क पर्छ र मुन्टो हल्लाउँदै भन्छ।

‘नन्सेन्स…’

‘सिस्टम’ शब्दको उच्चारणपछि क्याफेमा केही नदेखिने तर महसुस हुने परिवर्तन देखापर्छ। आवाजहरू तुरुन्तै बन्द हुँदैनन् तर ती सबै अलिकति दबिएजस्तो, कसैले भोल्युम घटाएजस्तो सुनिन्छ।

नेपथ्यमा अमेरिकी ज्याज गायिका लेडी डे अर्थात् बिली हलिडेको ‘स्ट्रेन्ज फ्रुट’ बडो क्रिपी  र मेलान्कली सुनिन्छ।

‘साउदर्न ट्रिज बियर स्ट्रेन्ज फ्रुट

ब्लड अन द लिभ्स

एन्ड ब्लड एट द रुट ब्ल्याक बडिज

स्विङ्गिङ इन द साउदर्न ब्रिज

स्ट्रेन्ज फ्रुट ह्याङ्गिङ रम द पपुलर ट्रिज’

मानध्वज टेबलमा राखिएको तातो पानीको थर्मसको बिर्को खोल्छ। त्यसबाट बाक्लो बाफ निस्कन्छ। त्यो बाफ पहिलेझैं माथितिर उठिरहेको हुन्छ तर केही सेकेन्डमै त्यसले अनौठा आकारहरू लिन थाल्छ। सुरुमा मानध्वज त्यसतर्फ खासै ध्यान दिँदैन तर बाफ बिस्तारै स्थिर हुन थालेपछि उनको दृष्टि त्यसमै अड्किन्छ।

बाफभित्र आकृतिहरू देखिन थाल्छन्। पहिले अस्पष्ट। पछि क्रमशः स्पष्ट। मानिसहरूजस्ता भिडहरूको सत्ता। एक जना। दुई जना। त्यसपछि धेरै जना।

मानध्वजको आँखा साँघुरिन्छ। उनी झुकेर अझ नजिकबाट हेर्छन्। बाफ अब केवल बाफ थिएन, त्यो सानो भिडमा रूपान्तरित हुँदै थियो। यसरी भिडहरूको भिड नियोजित आकारमा विभाजित भइदिन्छन्।

धुवाँका पातला तहहरू एकअर्कामा गाँसिन थाल्छन्। बिस्तारै तिनले विभिन्न आकृतिहरू बनाउँछन्। ती आकृतिहरू हलचल गर्न थाल्छन्। अनि त्यो सानो भिड क्रमशः असङ्ख्य भिडहरूमा विभाजित हुँदै जान्छ। मानौं, कसैले अदृश्य नक्सामाथि मानिसहरूलाई योजनाबद्ध ढङ्गले छरिरहेको होस्।

कुनै भिड माइतीघर मण्डलाबाट तीनकुनेतिर मोडियो। कुनै भिड संसद् भवनतिर पस्यो। कुनै भिड सिंहदरबारका अग्ला पर्खालहरूमा फैलियो। कुनै भिड सर्वोच्च अदालतका सिँढीहरूमा अड्कियो। कुनै भिड मालपोत कार्यालयका पुराना कागजभित्र पस्यो। कुनै भिड धुवाँ बनेर नेताहरूका आलिसान भवनभित्र फैलियो। त्यही धुवाँको भिड व्यापारीहरूका कर्पोरेट भवन हुँदै सुपरमार्केटका चम्किला झ्यालहरूमा टाँसिन पुग्यो।

भिडहरू हिँडिरहेका थिए तर तिनको कुनै एउटा निर्दिष्ट दिशा थिएन। कसैले कसैलाई पछ्याइरहेको थियो। कसैले कसैलाई धकेलिरहेको थियो। कसैको हातमा झन्डा थियो। कसैको हातमा लुटको माल। कसैको आँखामा क्रोध। कसैको अनुहारमा आक्रोश, थकान र कतिपय अनुहारहरू यति निष्प्राण थिए कि तिनीहरू भिडभित्र हिँडिरहेका मानिस थिएनन्, ती त भिडले नै बोकेर हिँडाइरहेका छायाहरूझैं देखिन्थे।

झन्डाहरूको एउटा दीर्घ, अराजक र अविराम दृश्य फैलिन्छ।

चन्द्र। सूर्य। चार तारा। एक तारा। हँसिया–हतौडा। हलो। घण्टी। माटो। लालटिन।

सबै आ–आफ्ना आकाश बोकेर उभिएका छन्- कसैले देवताको नाममा, कसैले राष्ट्रको नाममा, कसैले वर्गको नाममा, कसैले किसानको पसिनाको नाममा र कसैले परिवर्तनको नाममा। प्रतीकहरू एकअर्कामाथि चढ्दै, ठोक्किँदै र फेरि छुट्टिँदै थिए। तिनका रङ, आकार र अर्थ आपसमा मिसिएर यस्तो अव्यवस्था सिर्जना गरिरहेका थिए; जसको न कुनै आरम्भ थियो, न कुनै अन्त्य।

मानध्वजले आँखा उठाए। काठमाडौंको नीलो आकाश अचानक एउटा विशाल ब्ल्याकबोर्डझैं लमतन्न फैलिएको थियो। त्यसको सतहमा ईश्वरवल्लभको कविताको कुनै पुरानो प्रतिध्वनि बिस्तारै फैलिन थाल्यो। अक्षरहरू धुवाँजस्ता देखिन्थे। ती फैलिँदै गए, एकअर्कामा मिसिँदै गए र अन्ततः आकाशभरि एउटा विशाल धुवाँको जङ्गल बनेर फैलिए।

त्यो जङ्गलभित्र भिडहरू हराइरहेका थिए र त्यही भिडहरू नयाँ आकृतिमा जन्मिरहेका थिए।

हठात् ! मानध्वजको शरीर फलामभन्दा चिसो र कडा हुन्छ। एउटा आवाज कसैले घन उचालेर चट्टानमाथि बजाएजस्तो सीधै उनको टाउकोभित्र गुन्जिरहन्छ।

अनायास ! उनले आफ्नो अनुहार छोए। क्षणभरका लागि उनलाई अजिब अनुभूति भयो, जस्तो कि उनको अनुहार पनि त्यही भिडजस्तै हुँदै छ। उही मुस्कान। उही अस्थिरता। उही आक्रोश। उही घृणा। उही आवेग। उही संवेग। उही वितृष्णा र मुर्दाशान्ति।

उनी झस्किएर सिधा बसेपछि बाफ एक्कासि टुक्रिन्छ। आकृतिहरू बिलाउँछन्। भिडहरू भत्किन्छन्। झन्डाहरू हराउँछन्। सिंहदरबारका पर्खालहरू, संसद् भवनका सिँढीहरू, मालपोतका कागजहरू र काठमाडौंको विशाल नीलो आकाश सबै–सबै एकैचोटि धमिलिँदै शून्यमा विलीन हुन्छन्।

टेबलको कप फेरि सामान्य देखिन थाल्छ।

उनी वरिपरि हेर्छन्। क्याफे सामान्यजस्तै छ। केही मानिसहरूले क्याफे भरिएको छ। सबै आ–आफ्नै संसारमा व्यस्त देखिन्छन्। कसैका आँखा मोबाइलको स्क्रिनमा झुन्डिएका छन्, कसैका कान साथीको मुखतिर झुकेका छन् र उनीहरू सुनिरहेका छन्, मुस्कुराइरहेका छन्। कसैका औंला कसैका औंलामा अल्झिएर चल्मलाइरहेका छन्। तर कसैको अनुहारमा कुनै आश्चर्य छैन। कसैको आँखामा भय छैन। कसैले पनि केही अनौठो देखिरहेको छैन।

बिस्तारै क्याफेको आवाज फर्किन्छ। कसैको कपमा चिनी घोलिँदाको आवाज, कसैको ओठमा अड्किएको अन्तिम सिप, कसैको हल्का हाँसो, कसैको चर्को हाछ्युँ र कफी मेसिनको लामो निःश्वास– सबै सामान्य। मानौं, केही भएको नै थिएन।

नेपथ्यमा ‘राइटियस ब्रदर्स’ को सुमधुर ‘अनचेन्ड मेलोडी’ले सबैलाई पुलकित र रोमाञ्चित बनाइरहेको हुन्छ।

‘ओह, माई लभ,

माई डार्लिङ आई ह्याभ हङ्गर्ड फर योर टच

अ लङ्ग, लोन्ली टाइम टाइम गोज बाई सो स्लोली

एन्ड टाइम क्यान डु सो मच

आर यु स्टिल माइन ?

आई निड योर लभ

आई निड योर लभ

गडस्पिड योर लभ टु मी’

तर मानध्वजलाई थाहा थियो— अहिले केही भएको थियो, जुन केवल उनी मात्र देख्न सक्थे।

‘बिजे ! तिमीलाई थाहा छ— कन्फर्मिस्ट को हो ?’

मानध्वज हठात् विनाकुनै सन्दर्भ अवाञ्छित प्रश्न सोधी पठाउँछन्। बिजे तुरुन्तै अविचलित भएर सीधै मानध्वजको आँखामा हेर्छ। उसले सही उत्तर थाहा पाएको जस्तो बडो दृढतापूर्वक जवाफ दिन्छ।

‘हो सर, जो समाजसँग मिलेर हिँड्छ। सिस्टमको अनुकरण गर्छ, नियम र कानुनको पालना गर्छ।’

मानध्वज केही सेकेन्ड चुप रहन्छन्। उनको आँखा पत्रकारतिर होइन, कपबाट उठिरहेको बाफतिर अड्किएको छ। आफ्नो नजर कपबाट हटाएर उनी बिजेतिर फर्केर जवाफ दिन्छन्।

‘गलत।’

यसपटक मानध्वजको स्वर नरम सुनिँदैन, छोपिएको आगोझैं काट्छ तर विस्फोटजस्तो चिच्याउँदैन।

बिजे अलिकति धच्किन्छ।

‘सर…?’

मानध्वज बिस्तारै अगाडि तन्किन्छन् र भन्छन्।

‘माई ब्वाइ— कन्फर्मिस्ट त्यो होइन जो मिल्छ। कन्फर्मिस्ट त त्यो हो जो मिल्न बाध्य हुन्छ— डु यु अन्डरस्ट्यान्ड ?’

बिजेको अनुहारमा अन्योल, असन्तोष र आश्चर्य एकैचोटि मिश्रित भावमा सल्बलाउँछन्।

मानध्वजको स्वरमा अझ बढी तीव्रता झल्किन्छ।

‘मिल्नु आफैंमा समस्या होइन। मानिस सामाजिक प्राणी हो। ऊ सधैं कुनै न कुनै संरचनाभित्र बाँचेको हुन्छ। परिवार, समाज, संस्था, राज्य— कुनै न कुनै घेराले उसलाई परिभाषित गरिरहेको हुन्छ। तर प्रश्न ‘मिल्ने कि नमिल्ने’ होइन; प्रश्न हो— ‘तिमीसँग नमिल्ने स्वतन्त्रता छ कि छैन ?’ ‘

(क्याफेभित्रको आवाज हल्का पृष्ठभूमिमा धकेलिन्छ।)

मानध्वज अब अलि नमज्जाले नै कड्किन्छन्।

‘जब तिमी मिल्छौ, के त्यो तिम्रो निर्णय हो ? कि तिमीलाई दिइएको सीमाभित्रको एकमात्र सुरक्षित विकल्प हो ? आन्सर मी ब्वाइ !’

बिजे केही बोल्न खोज्छ तर शब्द भेट्दैन।

बिजुवाको जिउमाथि देउता चढेजस्तो मानध्वजको स्वरमा अचानक अधिनायकवादी कठोरता उत्रिन्छ। उनी शब्दहरूलाई बन्दुकझैं तेर्स्याउँछन् र वाक्यहरूलाई गोलीझैं क्रमशः दाग्दै बिजेमाथि निर्मम वैचारिक धावा बोल्न थाल्छन्। उनका प्रत्येक शब्द नापिएर निस्कन्छन्, प्रत्येक विराम निसाना साधेजस्तो हुन्छ र प्रत्येक वाक्य चेतनामाथि प्रहार गर्ने गोलीझैं बज्रिन्छ।

‘सिस्टमले मानिसलाई सीधै ‘कन्फर्मिस्ट’ बनाउँदैन बिजे। उसले मानिसका विकल्पहरू बिस्तारै यति सीमित बनाइदिन्छ कि अन्त्यमा मानिसलाई आफूले स्वतन्त्र रूपमा रोजेको जस्तो लाग्छ; तर वास्तवमा त्यो उसको स्वतन्त्र छनोट नभई परिस्थितिले उसलाई रोज्न बाध्य बनाएको विकल्प हुन्छ। र, यही सबैभन्दा खतरनाक कुरा हो— बाध्यता आफ्नो इच्छाले गरेको छनोटजस्तो देखिनु।’

बिजेको अनुहार युद्धमा पराजित सिपाहीको जस्तो बिस्तारै निन्याउरो हुँदै झुक्छ। उसका आँखामा केही बेरअघिसम्म देखिएको दृढता हराइसकेको हुन्छ। मानध्वजको तर्कसँग प्रतिवाद गर्ने शब्दहरू अब ऊसँग बाँकी रहँदैनन्। मानौं, मानध्वजका शब्दहरूले उसको विश्वासको कवच एक–एक तह गर्दै खोसिदिएका हुन्। अन्ततः ऊ मौन आत्मसमर्पणको अवस्थामा आइपुग्छ।

मानध्वजले उसको झुकेको अनुहारतिर केही क्षण हेरेपछि थाहा पाउँछन् कि त्यो मौनता हारको घोषणा मात्र थिएन; त्यो स्वीकारोक्तिको एउटा सूक्ष्म अवस्था थियो।

अब मानध्वजको स्वर पहिलेको जस्तो कठोर हुँदैन। शब्दहरूको बन्दुक बिस्तारै तल झरेको हुन्छ। उनी शान्त मुद्रामा आफ्नो तर्कलाई एउटा तार्किक निष्कर्षतिर डोर्‍याउँदै भन्छन्।

‘त्यसैले बिजे, ‘कन्फर्मिस्ट’ हुनु भनेको समाजसँग मिलेर बाँच्नु मात्र होइन। ‘कन्फर्मिस्ट’ त्यो हो जसले आफूलाई दिइएका सीमित विकल्पमध्ये एउटा रोज्छ र त्यसलाई आफ्नै स्वतन्त्र निर्णय ठान्छ।’

‘मानिसले सम्झौता गर्नु गलत होइन। कहिलेकाहीँ बाँच्नका लागि सम्झौता गर्नैपर्छ; तर समस्या त्यतिबेला सुरु हुन्छ, जब उसले आफ्नो बाध्यतालाई स्वतन्त्रता ठान्न थाल्छ र आफ्नो मौनतालाई सहमति।’

‘त्यसपछि न त विरोध गर्नुपर्छ, न कसैमाथि दबाब दिनुपर्छ। मानिसहरू आफैंले बनाएका सीमाभित्र बसिरहन्छन् र त्यसैलाई आफ्नो स्वतन्त्रता ठान्छन्। ‘कन्फर्मिस्ट’ त्यो होइन, जो सिस्टमसँग मिलेर हिँड्छ। ‘कन्फर्मिस्ट’ त्यो हो, जसले सिस्टमबाहिर आफ्नो अस्तित्वको कल्पना नै गर्न सक्दैन।’

रेकर्डरको रातो बत्ती एकछिन पिलिक–पिलिक गर्‍यो।

मानध्वजले चस्मा अलिक माथि सारे। उनको नजर क्षणभर रेकर्डरतिर गयो तर बिजेको ध्यान त्यतातिर पुगेन। ऊ अझै मानध्वजका अघिल्ला शब्दहरूको अर्थ केलाउने प्रयासमै थियो।

केही क्षणको मौनतापछि बिजे अलिक असमञ्जसमा परेजस्तो गरी हुँदै भन्छ।

‘सर, अहिलेको नवयुवा पुस्ता त नन–कन्फर्मिस्ट हो नि, होइन र ?’

उसले मानध्वजको अनुहारतिर हेर्दै थप्यो।

‘उनीहरू सडकमा छन्, सदनमा छन्, प्रदर्शनमा छन्। पुराना संरचनामाथि प्रश्न उठाइरहेका छन्। परिवर्तनको कुरा गरिरहेका छन्। उनीहरूलाई कन्फर्मिस्ट कसरी भन्न सकिन्छ ?’

उसको स्वरमा जिज्ञासा थियो तर त्यस जिज्ञासाभित्र आफ्नो पुस्ताप्रतिको एउटा मौन विश्वास पनि लुकेको थियो।

मानध्वज केही क्षण शान्त भएर उसलाई हेरिरहन्छन्। त्यसपछि उनको ओठको कुनामा फेरि उही रहस्यमय, अलिकति व्यङ्ग्य मिसिएको मुस्कान देखा पर्छ। त्यो मुस्कानमा आत्मविश्वास थियो, चुनौती थियो र मानौं कुनै निष्कर्षमा पहिले नै पुगिसकेको व्यक्तिको निश्चय पनि।

‘तिमीले देखेका आन्दोलनहरू तिमीले सोचेजस्तो पूर्ण रूपमा स्वतन्त्र छैनन् पत्रकार। यति कुरा याद राख— हरेक विद्रोह साँचो अर्थमा स्वतन्त्र विद्रोह हुँदैन। कहिलेकाहीँ मानिसले जसको विरोध गरिरहेको हुन्छ, त्यही संरचनाले बनाएको सीमाभित्र बसेर उसले विद्रोह गरिरहेको हुन्छ। प्रश्न सडकमा उभिनु मात्र होइन, बिजे। प्रश्न त यो हो— सडकमा उभिएको मानिसले साँच्चै नयाँ बाटो खोजिरहेको छ ? कि उसलाई पहिल्यै देखाइएको अर्को बाटोमै ऊ हिँडिरहेको छ ?’

बाहिर रङहरूको झिलिमिली नीलो, रातो, पहेँलो बत्तीहरू अचानक तेज गतिमा बल्न थाल्छन्। साँझ निकै गाढा भइसकेको सङ्केत हो त्यो गाढा झिलिमिली। मानध्वजको नजर झ्यालबाहिर अड्किन्छ। सडक सुनसान छ। तर उनी फेरि उही भिड देख्छन्। युवा विद्यार्थीहरू। हातमा प्लेकार्ड। ओठमा नारा। आँखामा आक्रोश, आवेग, असन्तुष्टि र अराजकीय ताण्डवनृत्य। सबै अनुहारहरू पत्रकार बिजेको अनुहारजस्तै देखिन थाल्छन्।

‘तिमीहरू सबै एउटै छौं। तिमीहरूले विद्रोह गर्छौ तर त्यो विद्रोह पहिले नै कसैले लेखिदिएको पाण्डुलिपि हुन्छ— त्यस्तो विद्रोहको कुनै औचित्य छ ?’

त्यसपछि केही पनि नबोली रेकर्डर अचानक आफैं बन्द हुन्छ— ‘टिक् !’

सिनेमाको फ्रेमझैं सबै बिस्तारै अँध्यारोमा विलीन हुन्छन्।

एक क्षण। पूर्ण निस्तब्धता। न कुनै आवाज। फाइनल कट ! (फ्ल्यासब्याक जस्तो… !)

भिड स्थिर छ। सडक निष्पन्द छ। बत्तीहरू झिलिमिली छन् तर समय जमेको छ। मानौं, कसैले रिमोट थिचेर समय रोकेको हो। ध्वनिहरू टाढा धकेलिन्छन्। हल्का गुञ्जन बाँकी रहन्छ। फ्रेमभित्र सबै छन्। तर कोही पनि चल्दैनन्। जीवित दृश्य तर मृत लय। मानध्वज एक्लै बसिरहेको हुन्छ।

टेबलमा दुइटा कप छन्। एउटा तातो। अर्को चिसो।

तातो कपबाट फेरि बाफ उठ्छ। (समय…) त्यही बाफ जो अझै सीधा बग्न मानिरहेको छैन।

शुलाम्मीत शलोमी टाढाबाट हेर्छिन्। उनको नजर मानध्वजमा अड्किएको छ। उनी सोच्छिन्— ‘मानध्वज कोसँग कुरा गरिरहेको छ ?’ वरिपरि त कसैको उपस्थिति छैन। ‘सायद आफैंसँग बात मार्नु ओर्लँदो उमेरको सबैभन्दा प्रभावकारी सहयात्री होला,’ उनले मनमनै भनिन्।

‘अनि सायद समयसँगै मानिस वरिपरिका मानिसहरूभन्दा आफ्नै भित्रका आवाजहरूसँग बढी संवाद गर्न थाल्छ। बाहिरको भिड हराउँदै जान्छ र भित्रको संसार झन् बाक्लिँदै जान्छ।’

शुलाम्मीतले फेरि मानध्वजतिर हेर्छिन्, उनको अनुहारमा अजिब प्रकृतिको गम्भीरता देखिन्थ्यो। उनलाई एकछिन लाग्यो कि मानध्वज वास्तवमा एक्लो छैन; बरु उसँग त्यस्ता धेरै आवाजहरू छन् जुन अरू कसैले सुन्न सक्दैनथ्यो।

पत्रकार बिजे सापकोटा जससँग मानध्वज बोलिरहेका छन्, कतै देखिँदैनन्। तर मानध्वजको अगाडि दुइटा कप छन्।

एउटा चिसो। अर्को तातो। समान, स्थिर र अडिग।

‘सर… तपाईंले कोटको भित्रीपट्टी सुरक्षित राख्नुभएको खैरो खाममा के लेखिएको छ ?’ ‘म आउनुभन्दा अगाडि आएको अपरिचित को थियो ?’

बिजेको स्वर हल्का काँपिरहेको हुन्छ।

‘चिन्नुहुन्छ ?’

तर मानध्वज केही बोल्दैनन्।

‘त्यो चिठी पनि… कसैले तपाईंलाई कन्फर्म गराउन पठाएको त होइन ?’

मानध्वज मज्जाले हाँस्छन्। ठूलो स्वरमा। त्यो हाँसो सामान्य हाँसो होइन; गहिरो सत्य अचानक प्रकाशमा आएजस्तो विस्फोटक हाँसो हुन्छ। उनले कोटभित्रबाट खाम निकाल्छन्। खाम बिजेतिर सार्छन् र भन्छन्।

‘पढ्।’

बिजे बिस्तारै खाम खोल्छ। भित्र केवल एउटै लाइन छ— बोल्ड अक्षरमा लेखिएको।

‘यु वर नेभर द इन्टरभ्युअर!’

बिजेको हात काँप्छ। कफीको बाफ माथि उठ्छ। क्याफे सुनसान छ। मानध्वज उठ्छन्। ढोकातिर जान्छन्। बाहिरका बत्तीहरू— नीलो, रातो, पहेँलो— तीव्र गतिमा चम्किन्छन् र अचानक एकैचोटि झ्याप्प निभ्छन्। सडक सुनसान छ।

बिजे ठूलो स्वरमा चिच्याउँछ।

‘सर ! यो के हो ? म को हुँ ?’

मानध्वज फर्कंदैनन् तर उनको उही धोद्रो स्वर फर्कन्छ; जो यसपटक कोमल बतास भएर भित्र आउँछ र बिजेको कानमा फुसफुसाउँछ।

‘तिमी…?’ ‘तिमी… पर्फेक्ट कन्फर्मिस्ट प्रोटोटाइप हौ।’

‘तिमी मलाई खाम दिने अपरिचित हौ।’

‘तिमी म हौ।’

‘मानध्वज हौ।’

‘म पत्रकार बिजे होइन ?’

‘म अपरिचित पात्र हो ?’

‘म मानध्वज हो ?’

दुइटा आवाज। दुइटा पहिचान। एउटै चेतनाभित्र एकअर्कालाई पछ्याउँदै, एकअर्कालाई काट्दै— मानध्वजको आवाज र बिजेको आवाज एकै समयमा बोल्न थाल्छन्। एउटा आवाजले अर्कोको अस्तित्वमाथि प्रश्न गरिरहेको थियो। अर्को आवाजले पहिलोको पहिचान खोसिरहेको थियो।

तर अनौठो कुरा, दुवैले एकअर्काले बोलेको बुझिरहेका थिएनन्। शब्दहरू निस्किरहेका थिए तर अर्थहरू हराइरहेका थिए; जस्तो एउटै ऐनाको दुई छेउमा उभिएका दुई व्यक्ति एकअर्कालाई हेर्न सक्छन् तर छुन सक्दैनन्। किनकि कहिलेकाहीँ मानिसले आफ्नो प्रतिबिम्बसँग यति लामो संवाद गर्छ कि अन्ततः उसलाई थाहा हुँदैन— ऊ ऐनाको अगाडि उभिएको छ कि ऐनाभित्रबाट कसैले उसलाई हेरिरहेको छ।

बिजे अचानक बसेको कुर्सीमा तिनिक्क तन्किन्छ। थरथर काँप्छ। भुइँमा डङ्ग्रङ्ग ढल्छ र अन्तिम सास फाल्छ। उसको दाहिने कानबाट खैरो साङ्ले कीरो, देब्रे कानबाट रातो कमिलाहरू, नाकको प्वालबाट कालो जुका, मुखबाट गोमन सर्प देखापर्छ र छातीभित्रबाट ठूलो फट्फडाहटमा एउटा चमेरो फुत्त बाहिर आउँछ; जस्तो उसको शरीरभित्र वर्षौंदेखि थुनिएको कुनै डर, कुनै सत्य वा कुनै विद्रोह अन्ततः बाहिर आएर स्वतन्त्र भएको होस्।

अँध्यारोको गहिराइबाट अचानक निरङ्कुश अधिनायकवादी बुटहरूको आवाज सुनिन थाल्छ— ‘टक्… टक्… टक्… !’

ती बुटहरू मृत बिजेको लासतिर बिस्तारै नजिकिँदै आउँछन्। अँध्यारोभित्रबाट एउटा छायाले आकार लिन थाल्छ। त्यो छाया मानध्वजको काननजिक आएर रोकिन्छ। त्यसपछि एउटी स्त्रीको कोमल स्वर तर आदेशात्मक लयमा गुञ्जिन्छ।

‘मिस्टर मानध्वज… वेक अप ! नाउ इट्स टाइम टु सट डाउन। डु यु ह्याभ एनि लास्ट विस ?’

शुलाम्मीत शलोमी मिस्टर मानध्वज नजिक आएको कुरा ऊ बल्ल पो थाहा पाउँछ। कुर्सीमा आँखा चिम्लेर उत्तानो परेका मानध्वजले आँखा खोल्छन्। सेता आँखाहरू केही क्षण खाली देखिन्छन्। दाहिने हातले टेबलबाट चस्मा उठाउँछन्। देब्रे हातले कोटको खल्तीबाट रुमाल निकाल्छन् र चस्मा सफा गर्छन्। सफा भएपछि मिसेस डिसुजाको अनुहारतिर एक तीखो नजर फ्याँक्छन् र भन्छन्।

‘आई बेग योर पाडन ?’

‘माई ब्याड मिस्टर मानध्वज ! डु यु ह्याभ एनि लास्ट अर्डर ?’

मिसेस डिसुजा नरम भावमा चिप्लिएको जिब्रोलाई सच्याउँछिन्।

‘नो ! थ्याङ्क यु।’

मानध्वज अलि अप्रिय भावमा जवाफ फर्काउँछन्।

‘हियर इज योर टोटल बिल, मिस्टर मानध्वज !’

मिसेस डिसुजाले टेबलमाथि बिल राखिदिन्छिन्।

मानध्वजले बिलमाथि पाँच सयका दुइटा नोट राखेपछि कुर्सीबाट उठ्दै मिसेस डिसुजातिर हेरे र हल्का मुस्कानका साथ भने।

‘मिसेस डिसुजा, किप द चेन्ज। एन्ड— मेरी क्रिसमस टु यु एन्ड योर फ्यामिली। गुड टाइडिङ्स एन्ड बेस्ट विसेस, अलवेज।’

मिसेस डिसुजाले कृतज्ञ भावमा मुस्कुराउँदै टाउको हल्लाइन्।

‘थ्याङ्क यु, मिस्टर मानध्वज ! मेरी क्रिसमस टु यु, टु !’

मानध्वजले हात हल्लाए।

‘टेक केयर !’

हात हल्लाउँदै मिस्टर मानध्वज थप्छन्।

‘नाइट–नाइट !’

नेपथ्यमा स्याम कुकको कालजयी गीत बजिरहेको हुन्छ अप्टिम भोल्युममा।

‘आई वाज बर्न बाई द रिभर इन अ लिटल टेन्ट ओह, एन्ड जस्ट लाइक द रिभर, आई ह्याभ बिन रनिङ एभर सिन्स इट्स बिन अ लङ्ग अ लङ्ग टाइम कमिङ, बट आई नो अ चेन्ज गन कम ओह यस, इट विल’

अन्तिम प्रतिध्वनि

सूर्योदय हुनुअघि जब प्रकाश अझै क्षितिजपछाडि अल्झिएको हुन्छ र रातले आफ्नो अन्तिम अधिकार छाडिसकेको हुँदैन। गल्लीका भुस्याहा कुकुरहरू अदृश्य त्रासले हो या डिसेम्बरको तानाशाही जाडोले हो, थरथर काँपिरहेका हुन्छन्। तर तिनीहरू भुक्न छाड्दैनन्।

त्यो भुकाइ कुनै विद्रोह होइन। कुनै घोषणा होइन। कुनै सिद्धान्त होइन। त्यो त उनीहरूको अस्तित्वको स्वाभाविक अभिव्यक्ति हो। उनीहरूका लागि विगतको कुनै भार छैन। आगतको कुनै सपना छैन। अनागतको कुनै भय छैन। समयका यी तीनै आयाम मानिसले आफ्नो चेतनाको सुविधाका लागि बनाएका विभाजन मात्र हुन्।

नैतिकता र अनैतिकता, श्लीलता र अश्लीलता, सही र गलत— यी सबै मानिसले निर्माण गरेका शब्दहरू हुन्। आफ्नो व्यवहारलाई अर्थ दिन, आफ्ना सीमाहरू निर्धारण गर्न र आफ्नै विरोधाभासहरूलाई व्याख्या गर्न बनाइएका संरचनाहरू।

तर ती कुकुरहरूका लागि यस्ता कुनै शब्दहरूको अर्थ छैन। उनीहरूलाई थाहा छ केवल एउटा सत्य— भोक लागे भुक्नु, डर लागे भुक्नु, अपरिचित आहट आए भुक्नु र कहिलेकाहीँ कुनै कारणविनै पनि भुकिरहनु; किनकि भुक्नु नै उनीहरूको अस्तित्वको प्रमाण हो।

त्यही बखत मिस्टर मानध्वजको घर घेरिन्छ। सिभिल ड्रेसका केही मानिसहरू घरवरिपरि पर्खालझैं पहरा दिएर उभिन्छन्। दुइटा प्रहरीको भ्यान तयारी अवस्थामा हुन्छ।

तीन जना व्यक्ति घरभित्र पस्छन्। ढोका ढकढक्याउँछन्।

ढोका खुल्छ।

गृहमन्त्रालयको लेटरहेडमा छापिएको पक्राउ पुर्जी अगाडि सारिन्छ र भनिन्छ–

‘माथिबाट आदेश छ।’

(लेखक खुपेन सुनुवारका यसअघि ‘ब्लुनोट’ गीतिकाव्य (२०२१) र ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ कविता सङ्ग्रह (२०२५) प्रकाशित छन्।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?