Comments Add Comment

स्वास्थ्यमन्त्रीको आश्वासन पछि डा. केसीको अनसन फेरि स्थगित

१४ जेठ, काठमाडौ । त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीको अनसन फेरि भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । एघारौं अनसन बस्न दाङको घोराही पुगेका  डा. केसीको अनसन भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको हो ।

उनी आज बेलुकी चार बजेदेखि दाङ घोराहीको ट्राफिक चोकस्थित शिरडी साई मन्दिरमा अनसन बस्ने तयारीमा थिए । तर मन्त्रिपरिषदको बैठकका कारण डा. केसीको अनसन केही समयका लागि स्थगित गरिएको छ ।

भोलि दिउँसो दुई बजे बस्ने सामाजिक न्याय समितिको बैठकबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक पारित गर्ने र साढे २ बजे बस्ने मन्त्रिपरिषद बैठकले त्यसको अनुमोदन गर्ने जानकारी स्वास्थ्य मन्त्री गगन थापाबाट प्राप्त भएपछि आजको अनसन स्थगित गरिएको हो । डा. केसीले भोलि चार बजेसम्म आफ्ना सबै तीनवटै माग पूरा गर्न माग गरेका छन् । माग पूरा नभए भोलि चार बजेबाट अनसन सुरु गर्ने डा. केसीका सहयोगी डा. सचित कोइरालाले जानकारी दिए ।

दशौ अनसनका क्रममा भएका सम्झौता कार्यान्वयन, चिकित्सा शिक्षा विधयेक पारित गरिनु पर्ने तथा प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव खारेज गरिनुपर्ने लगायतका माग राख्दै डा. केसी ११ औ अनसन बस्ने तयारीमा छन् ।

सरकारलाई गत जेठ ९ गतेसम्मको अल्टिमेटम दिँदै डा. केसीले आफ्ना माग पुरा नभए यही जेठ १० गतेबाट अनसन सुरु गर्ने चेतावनी दिएका थिए । लगत्तै तीन दिनका लागि अनसन स्थगित गरेका डा. केसीले शुक्रवार अचानक दाङस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्ने योजना बनाई शनिवार विहानै काठमाडौबाट दाङ प्रस्थान गरेका थिए । तर अस्पताल प्रशासनले अनसनका लागि स्थान उपलब्ध नगराएपछि उनी अस्पताल नजिकैको साई मन्दिर परिसरमा अनसन बस्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment