१५ जेठ, चितवन । मतपत्र च्यातिएपछि गएरातिदेखि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भइरहँदा मतपत्र कसले च्यातेको भन्नेबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले सोमबार बिज्ञप्ति निकालेर भरतपुर महानगरपालिकामा मतगणना भइरहेको समयमा मतगणनास्थलमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाउँदै घटनाप्रति खेद प्रकट गरेको छ ।
माओवादीका चितवन इञ्चार्ज इश्वरी भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा एमाले कार्यकर्ताले मतपरिणाम प्रभावित पार्ने उद्देश्यले मतपत्र च्यातेको उल्लेख छ ।
आफ्नी उम्मेदवार रेणु दाहाल जिततर्फ उन्मुख भइरहेका बेला एमालेका प्रतिनिधिले मतगणना स्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केहि मतपत्र च्यातिएको बिज्ञप्तिमा माओवादीको दावी छ ।
चितवन माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाई र स्थानीय तह निर्वाचन अनुसार सम्बन्धित मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।
नेपाली कांग्रेसले पनि वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ ।
घटनाबारे नेकपा एमालेले यसअघि नै बिज्ञप्ति निकालेर पराजयको नजिक पुगेपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको आरोप लगाएको छ र उसले पुनः मतदान नभइ मतगणनाको माग गरेको छ ।
यस्तो छ माओवादी केन्द्रको प्रेस विज्ञप्ति
प्रतिक्रिया 4