पहिलो गीत सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘ए मेरो हजुर २’को दोश्रो गीत पनि सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यो चलचित्रको ‘किनिदेउ न साइला दाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
यो गीतमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई फिचर गरिएको छ । चलचित्रमा साम्राज्ञी र नव-नायक सलिनमान बाँनियाको मुख्य भूमिका छ ।
मारुनी फ्लेवरमा निर्माण भएको यो गीतमा साम्राज्ञीले नेपाली पहिरन लगाएकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् । बोल्ड अवतारमा देखिदै आएकी सुन्दरीको यो गेटअप दर्शकका लागि नयाँ र आकर्षक लाग्छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा साधना सरगमको आवाज छ । गीतमा कविराज गतहराजको कोरियोग्राफी छ ।
चलचित्रमा अनुभव रेग्मी, वुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको पनि अभिनय छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्र भदौ १६ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4