Comments Add Comment

काठमाडौं महानगरको उपमेयरमा ७६ हजार मत बदर !

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार २५२ मत ल्याएर काठमाडौं महानगरपालिकाको उपमेयर भइन् ।

१ लाख ९७ हजार २२७ मत खसेको काठमाडौं महानगरको उपमेयरमा सबै उम्मेदवारले पाएको मत जोड्दा १ लाख २० हजार ७६७ मात्र पुग्छ । परिणाम घोषणा गर्दा बताइए अनुसार सबै मत बदर भएको मतपत्रको संख्या ६ हजार १८३ छ ।

उसो भए ७० हजार मत कता हराए ? उपमेयरमा भोट नै हालेनन् धेरैले यो प्रश्न उठाए । तर, निर्वाचन आयोगले केही बोलेको छैन ।

यसको उत्तर हामीले लिएर आएका छौं । तपाई पत्याउनु हुन्छ ? काठमाडौं महानगरको उपमेयर ‘विजयी’ त बदर मत भएको रहेछ । अर्थात उपमेयरमा निर्वाचित हरिप्रभा खड्गीले पाएको भन्दै धेरै मत त बदर पो भएको रहेछ ।

हो, पत्याउनै गाह्रो हुने गरी गरी मत बदर भएको छ । त्यो पनि देशको राजधानी र सबैभन्दा धेरै शिक्षित मतदाता रहेको भनिएको काठमाडौं महानगरपालिकामा ।

यो पनि पढ्नुस्ः काठमाडौंका मेयरका उम्मेदवार- कसले कति भोट पाए ? (सूचीसहित)

उपमेयर खड्गीले पाएको मत ५८ हजार २५२ हो । तर, ७६ हजार ४६४ मत बदर भएको छ ।

दलहरुको चुनावी तालमेल र मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा धेरै मत बदर भएको हो । उपमेयरमा बदर भएका धेरै मत सूर्य चिन्हमा लगाइएका थिए ।

जुन पदमा एमालेले उम्मेदवार नै नदिई राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको थियो । राजाराम श्रेष्ठ ३४ हजार ७७४ मत पाएर दोस्रो स्थानमा रहे ।

तर, मतदाताले लहरै सात सूर्यमा सात छाप लगाएका कारण धेरै मत बदर भएको नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले बताए । उनले भने-धेरै मत सूर्यमा परेर बदर भयो, केही हजार मत सूर्य र गाई दुवैमा छाप लगाएर बदर भयो । नत्र मेरो भन्दा धेरै मत पाएर राजारामजी उपमेयर जित्नु हुने थियो ।’

यस्तै कांग्रेस उम्मेदवार र साझा पार्टीकी उम्मेदवार दुबैलाई मत दिँदा पनि बदर भएको छ ।

मेयरमा पनि बदर मत उच्च

काठमाडौं महानगरपालिकामा मेयरमा पनि बदर मत उच्च छ । तर, उपमेयरको जत्तिको होइन ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मेयरमा २९ हजार ९ सय ४१ मत भने बदर भएको छ । कुल मतमध्ये १ लाख ६७ हजार २ सय ८६ मतमात्र सदर भएको छ ।


सदर मत मध्ये ६४ हजार ९१३ मत पाएर मत पाएर एमालेका विद्यासुन्दर शाक्य बिजयी भएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ हजार १ सय ८३ मतपत्र पूर्ण रुपमा बदर भएका थिए । ती मतपत्रमा मेयरदेखि सदस्यलाई दिएका सबै मत रद्ध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment