Comments Add Comment

झापाली उम्मेदवारको फेसबुक स्टाटसः असारमा धान रोप्नु कि भोट हाल्नु ?

‘सुपरजोन’ का किसानलाई असारे चुनाव निल्नु न ओकल्नु !

१८ जेठ, झापा । लामो समयको पर्खाइपछि दुई चरणमा भइरहेको निर्वाचनले सबैमा उत्साह भरेको छ । तर, दोस्रो चरणको निर्वाचन असारमा सारिएपछि झापाली किसानहरु भने निराश बनेका छन् ।

शरणामतीका मोहन पोखरेल स्थानीय निर्वाचनमा उम्मेदवार उठेका छन् । सरकारले निर्वाचनको मिति असार १४ मा सारेको थाहा पाउने वित्तिकै उनले फेसबुकमै लेखे, ‘असारमा हामीले धान रोप्नु कि मत खसाल्नु ?’

मोहनको जस्तै पीडा छ अर्का उम्मेदवार मोहम्मद रसिदको पनि । झापा गाउँपालिका–३ का कृषक रसिद भन्छन्, ‘सरकारले धान रोप्ने बेलामा निर्वाचन घोषणा गर्दा निल्नु न ओकल्नु भएको छ ।’

रसिद वडा नं. ३ मा वडा सदस्य पदमा उठेका छन् । ‘खेतीलाई पनि सँगै अघि नबढाए पछि के खाने ?’, उनी भन्छन्, ‘ लामो समयपछि स्थानीय निर्वाचन हुन लागेको छ, तर खुलेर प्रचारमा जुट्न सकेको छैन ।’

सरकारले प्रदेश नं. १, २, ५ र ७ का लागि असार १४ गते निर्वाचन गर्ने घोषणा गरेपछि झापाली किसानहरु निरास भएका छन् ।

मानो रोपेर मुरी फलाउने समयमा स्थानीय निर्वाचन पर्दा किसानलाई निराश बनाएको छ ।

निर्वाचनको मिति सारेको सार्‍यै गरेर सरकारले किसानलाई दुःख दिएको किसानहरुको बुझाइ छ । झापाका ग्रामीण भेगका अधिकांश जनता जेठ ३१ गते निर्वाचनमा भोट खसालेर खेतीमा लाग्ने तयारीमा थिए । तर, चुनाव सरेपछि उनीहरु अलमलमा परेका छन् ।

ग्रामीण क्षेत्रमा उम्मेदवार बनेकाहरु प्रायः किसान छन् । उनीहरुलाई भोट माग्न जानु कि खेतीमा पस्नु भएको छ ।

‘मुस्लिम समुदायको रमजान पर्व देख्ने सरकारले आम किसानको सबैभन्दा ठूलो पर्व देखेन’, उनले आक्रोश व्यक्त गरे, ‘यस्तो अवस्थामा मतदानमा सहभागी हुन किसान आउँछन् कि आउँदैनन् अन्यौल छ ।’

धान रोपाइँ गर्ने मुखमा मतदान हुँदा भोटको ‘खरिद’ हुन सक्ने उनको आशंका छ । ‘यो समयमा किसान दैनिक ज्यालामा काम गरिरहेका हुन्छन्’, उनले सुनाए, ‘ती किसानहरुलाई मतदान भन्दा काम नै प्यारो हुन्छ । त्यसैले उनीहरु सहभागी नहुन सक्छन् । तर, पैसा हुने उम्मेदवारले दैनिक ज्याला बराबरको रकम दिने भनेर भोट हाल्न लगाउन पनि सक्छन् ।’

ग्रामीण भेगमा भोट माग्न जाँदा किसानहरु मकै खेती थन्काउँदै गरेको भेटिन्छन् । झापा गाउँपालिकाको वडा नं. ६ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका सुमन प्याकुरेल भन्छन्, ‘भोट माग्न जाँदा प्रायः किसानहरु मकै खेती थन्काउँदै गरेका भेटिन्छन् ।’

उनका अनुसार यस क्षेत्रका मतदातालाई दिउँसो मुस्किलले मात्र घरमा भेटिन्छ । अहिले झापामा प्रचण्ड गर्मी छ । यसका बाबजुत पनि किसान खेतीमा व्यस्त छन् । कोही मुग दाल टिप्न व्यस्त छन् । कोही पाटा गोड्दै छन् । केही किसान सूर्यमुखी थन्काउँदै छन् । केही किसान भने धानको ब्याड राख्ने तयारी गर्दै छन् ।

‘दिउँसो भोट माग्न जाँदा त ३० प्रतिशत मात्र मतदाता भेटिन्छन्’, प्याकुरेल भन्छन्, ‘हामी कि बिहान कि त साँझतिर भोट माग्न जान्छौं ।’

वडा ६ कै मतदाता कमल भट्टराई भने काम गर्दै गरेको ठाउँमा विभिन्न पार्टीका मतदाता पटक–पटक भोट माग्न आउँदा वाक्कदिक्क भएका छन् । ‘काम गर्न सुरु मात्र गरेको हुन्छु, उम्मेदवार भोट माग्न आइहाल्छन्’, उनी भन्छन्, ‘छिनछिनमा यो क्रम दोहोरिरहन्छ ।’

‘घरको छेउछाउ खेती हुँदा पनि समस्यै हुँदोरहेछ’, उनले भने । बर्खाको समय पर्ने भएकाले हिलाम्मे अवस्थामा कतिपय मतदान केन्द्रमा नआउन पनि सक्ने आशंका विभिन्न पार्टीका कार्यकर्ताको छ । उनीहरु भन्छन्, ‘मौसमले साथ दियो भने त ठिकै हो । नत्र, त धेरै न्यून भोट खस्छ होला ।’

झापा मुलुकमै सबैभन्दा धेरै धान खेती हुने जिल्ला हो । यहाँ ७० हजार हेक्टर क्षेत्रफलमा वर्खे धान खेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय, झापासँग यहाँ ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने तथ्याङ्क छ । सरकारले झापालाई धान सुपरजोन क्षेत्र पनि घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment