१९ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ ।
बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले)को प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली विजयी भएका हुन् । त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहेका छन् ।
उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए ।
योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली काँग्रेसका सातजना रहने भएका छन् । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएका छन् ।
उता फलेवास नगरकार्यपालिकाको निर्वाचनबाट नेकपा (एमाले) विजयी भएको छ । तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो ।
कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहेका छन् भने तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहेका छन् ।
उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराएका हुन् ।
फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो ।
प्रतिक्रिया 4