Comments Add Comment

डेढ करोडबारे महावीर पुन – प्रधानमन्त्रीलाई गाली, उद्योगमन्त्रीको प्रशंसा

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

१९, जेठ, काठमाडौं । सरकारले ‘आविष्कार केन्द्र’ लाई १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेकोप्रति महावीर पुनले आलोचनात्मक समर्थन जनाएका छन् । उनले सरकारी सहयोग अस्वीकार गरेका छैनन् तर निर्णय गर्दैमा आफूले पैसा पाइहाल्नेमा अझै विश्वास नलागेको बताएका छन् ।

म्यागासेसे पुरस्कार विजेता पुनले मन्त्रीहरुले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा नपाइने प्रतिक्रिया दिएका छन् । ‘मन्त्रीले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा पाइन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ,’ फेसबुकमा स्टाटस लेख्दै पुनले भनेका छन् ।

अघिल्ला दुई अर्थमन्त्री डा. रामशरण महत र विष्णु पौडेलले पनि पैसा दिन्छु भनेको तर, नदिएको पुनले गुनासो गरेका छन् ।

पूर्वअथर्ममन्त्री डा. रामशरण महतले प्रष्ट रुपमा नविन विचार र अनुसन्धान कार्यलाई सहयोग गर्न भनेर ५० करोड बजेट छुट्याए पनि अनेकौं कारण देखाएर निकासा नभएको पुनले उल्लेख गरेका छन् । पुनको भनाइ छ– ‘बजेट निकासा गर्न मैले ८ महिनासम्म मन्त्रालय चहारेँ तर, हात लाग्यो शून्य भएको थियो ।’

अहिले अनुदान दिने भन्ने कुरा हालका उद्योग मन्त्रीले मन्त्रालयमार्फत आफूप्रति सम्मान, सद्भाव र ब्यक्तिगत प्रयास मात्रै गरेको हुन सक्ने पुनको टिप्पणी छ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीलाई संकेत गर्दै पुनले लेखेका छन्– ‘किनकि उहाँले मलाई भेट्दा दाइ भन्नुहुन्छ र मेरो कामको ज्यादै सम्मान गर्नुहुन्छ ।’

आफूलाई उद्योग मन्त्रीले व्यक्तिगत रुपमा सहयोग गरेको हुन सक्ने भन्दै पुनले प्रधानमन्त्री प्रचण्डप्रति भने निकै छुद्र शब्द प्रयोग गरेका छन् ।

आविष्कार केन्द्रलाई दिइएको सहयोग अस्वीकार नगरे पनि पुनले अगाडि लेखेका छन्– ‘यदि यो कुरा सही भए पनि मैले यसलाई प्रधानमन्त्री प्रचण्ड र उहाँको भान्से टिमको मप्रतिको सदभावना भनेर पटक्कै मान्दिनँ, त्यसैले ढिलै भए पनि प्रधानमन्त्रीले मद्दत त ग¥यो नि भनेर मख्ख नपर्न अनुरोध छ ।’

प्रधानमन्त्री र उनको भान्से टीमका बारेमा केही वर्षपछि आफूले जीवनी लेख्दा उल्लेख गर्ने पुनको भनाइ छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेका पुनले नेपाल सरकारसँग ५० करोड रुपैयाँ माग्दै आएका थिए । तर, एमाले नेता विष्णु पौडेल अर्थमन्त्री रहेका बेला ८ महिनासम्म मन्त्रालयमा चाहार्दा पनि हात लाग्यो शून्य भएको गुनासो उनले गर्दै आइरहेका बेला सरकारले विहीबार डेढ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले ‘गुगल ब्वाइ’लाई एक करोड दिएको तर महावीर पुनको आविश्कार केन्द्रले नपाएको भन्दै सामाजिक सञ्जालमा तत्कालीन ओली सरकारको चर्को आलोचना भएको थियो ।

तर, तकालीन अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले राज्यले अनुसन्धान र आविस्कारको क्षेत्रमा लगानी गर्न सक्ने भए पनि व्यक्तिले खोलेको संस्थालाई त्यति ठूलो रकम सरकारी कोषबाट दिन नमिल्ने प्रक्रियागत कुरा उठाएका थिए ।

आफूले मागेको सहायता नपाएपछि रिसाएका महावीर पुनले अब सरकारसँग हात नपसार्ने बरु जनताबाटै पैसा संकलन गरेर आविश्कार केन्द्र खोल्ने घोषणा गरेका थिए ।

अहिलेसम्म पनि पुनले जनस्तरमा आर्थिक संकलन अभियान चलाइरहेका छन् । हालसम्म कति रकम संकलन भयो भन्ने एकमुष्ट विवरण सार्वजनिक हुन बाँकी छ, तर करोडौं रकम संकलन भएको अनुमान छ ।

यसैवीच पछिल्लो समय पुनले आविस्कार केन्द्रका लागि भन्दै आफूले पाएका पदकहरु समेत बिक्रीमा राखेका छन् ।

यसका साथै विज्ञापन खेलेर आएको पैसा समेत आविष्कार केन्द्रमा लगाउने पुनले घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

यसैवीच सरकारले महावीर पुनको संस्थालाई डेढ करोड रुपैयाँ दिएकोमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् ।

केपी ओलीको सरकारका पालामा पुनलाई सहयोग नगरी गुगल ब्वाइलाई पैसा दिइएको विषय फेरि पनि सामाजिक सञ्जालमा चर्चामा आएको छ ।

कतिपय मानिसहरुले कामचलाउ सरकारले बजेट बाँडेको आरोप लगाएका छन् । केहीले पुनको व्यक्तिगत कम्पनीलाई सरकारले सहयोग गरेको भन्दै आलोचना गरेका छन् ।

तर, अधिकांश मानिसहरुले पुनको आविश्कार केन्द्रलाई सहयोग गरिएकोमा ढीलै भए पनि सरकारले ठीक काम गरेको भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् ।

हेर्नुहोस् पुनको फेसबुक स्टाटस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment