Comments Add Comment

‘किताब बेचेर’ २३ करोड कमाउने चूडामणि शर्मा को हुन् ?

धनाढ्य कर्मचारी, जसलाई देउवादेखि लोकमानसम्मको साथ थियो


१९ जेठ, काठमाडौं । नेपालको निजामति सेवाकै सबैभन्दा धनी कर्मचारीका रुपमा चर्चित सहसचिव चूडामणि शर्मा अन्ततः शुक्रबार अख्तियारको नियन्त्रणमा पुगेका छन् ।

साउनमा सचिव बढुवा भएर मुख्यसचिवको लाइनमा बस्न लागेका थिए शर्मा । तर, अब अख्तियारको कारवाहीसँगै उनको मुख्य सचिवसम्मको यात्रामा ब्रेक लागेको छ ।

कुनै समय अख्तियार नै किन्न सक्ने हैसियत बनाएका र लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा सेटिङमै काम मिलाउने गरेका शर्माले सायदै सोचेका थिए, आफैं एक दिन अख्तियारको फन्दामा पर्छु भनेर । तर, शुक्रबार उनले नसोचेको भयो ।

कर फर्छ्यौट आयोगको सन्दर्भमा गोप्यरुपमा वयान दिन गएका शर्मा त्यहाँबाट फर्किन पाएनन्, बरु उनी अख्तियारको हिरासतमा परेको खबर सार्वजनिक भयो ।

अथाह सम्पत्तिः सधैं शक्तिमा

चूडामणि शर्मासँग कति सम्पत्ति छ भन्ने उनी आफैंलाई थाहा छैन भन्छन् उनलाई नजिकबाट चिन्नेहरु । खुसी लुकाउने ठाउँ हुँदैन भने जस्तै शर्माले कुनैबेला आफ्ना हितैषीहरुसँग सम्पत्ति लुकाउने ठाउँ भएन भनेर ठट्टा गरेको चर्चा पनि उच्च प्रशासकहरुबीच चल्ने गरेको थियो ।

शर्मा शुरुमा गृहमा क्याडर थिए । तर, आकर्षक मानिएका जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेपछि उनी गृहबाट अर्थ मन्त्रालयको क्याडर भए । खासमा उनले निजामति सेवामा रहँदा कहिल्यै ‘लो प्रोफाइल’ का विभाग र वा मन्त्रालयमा बस्नु परेन । प्रायः गृह र अर्थ मन्त्रालयमै उनको रजाइँ चल्यो ।

किताब लेखेर २३ करोड ?

चूडामणि शर्माले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएको एउटा विवरणले धेरैको माथिंगल खियाउन सक्छ । उनले आफ्नो आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको जनाएका छन् ।

नेपालमा कुनै यस्ता चल्तीका लेखक छैनन्, जसले आफ्नो किताव बेचेर २३ करोड रुपैयाँ कमाउन सकुन् ।

चूडामणि शर्मा भने किताब बेचेरै २३ करोड भन्दा बढी कमाउने भाग्यमानी हुन् । त्यसो त उनले किताब नलेखेका चाहिँ होइनन् । लोकसेवाको परीक्षा दिनेहरुका लागि आवश्यक दर्जनभन्दा बढी किताब लेखेका छन् । उनी लोकसेवाका परीक्षार्थीहरुका लागि भने चिरपरिचित लेखक हुन् ।

शर्माले लेखेका किताबबाट २३ करोड आम्दानी भयो कि भएन, अख्तियारले नै खोज्ला । तर, शर्माले सम्पत्ति विवरण बुझाउने क्रममा योमात्रै उल्लेख गरेका छैनन्, बिक्रीको प्रमाण पनि पेश गरेको बताइन्छ । उनले पुस्तक पसलहरुबाट भ्याट बिल नै लिने गरेका थिए । भ्याट बापतको रकम तिरेपछि भ्याट लिन समस्या हुँदैन ।

सुगम ग्यास काण्ड

सहसचिव शर्मा सुनसरी, ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भए लगातार । सुनसरीको प्रमुख जिल्ला अधिकारी भएका बेला सुगम ग्यासका मालिक शिव घिमिरेलाई उन्मुक्ति दिएर सिल काटिएका ग्यास विक्रीलाई बैधानिकता दिएको आरोप उनीमाथि लाग्यो । त्यस प्रकरणमा करोडौंको चलखेल भएको थियो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीपछि उनलाई तत्कालिन अर्थमन्त्री डा.रामशरण महतले सम्पत्ति शुद्धिकरण विभागको प्रमुख बनाए । त्योबेला लोकमान र चूडामणि मिलेर ठूला व्यापारी, उद्योगी लगायत धेरैलाई जालमा पारेका थिए । सम्भावित व्यक्तिलाई छाडेर उनीहरुले सेटिङमा पैसा असुली गर्ने र नदिएमा सम्पत्ति शुद्धीकरणमा फसाउने गरेको आरोप लागेको थियो ।

सबैसँग सेटिङ

एकजना सेवाग्राहीसँग १० लाख घुस लिँदालिँदै भैंसेपाटीमा पक्राउ परेका उनी मातहतका कर्मचारी शम्भु चालीसेले शर्माकै निर्देशनमा आफूले पैसा लिएको वयान अख्तियारलाई दिएका थिए । तर, त्यसबेला अख्तियारमा लोकमान नै प्रमुख रहेकाले शर्मालाई केही भएन ।

स्याङजाको थापरथुमा जन्मेका शर्मा निजामति सेवाभित्र डरलाग्दा पात्रका रुपमा सधैं स्थापित भए । उनले सत्ता र शक्तिलाई रिझाउन सधैं सफलता पाए । पछिल्लो समय उनको संरक्षण कांग्रेस सभापति शेरबहादुर देउवा, रामशरण महत र लोकमानसिंह कार्कीले गरिरहेको अख्तियार स्रोतको दाबी छ ।

डा. महतकै पालामा शर्मा आन्तरिक राजश्व विभागको प्रमुख भए । अर्थ मन्त्रालयभित्र निकै आकर्षक मानिने यो विभागबाट उनलाई विष्णु पौडेल अर्थमन्त्री भएपछि अन्यत्र सरुवा गर्न खोजियो । तर, लोकमानको पावर लगाएर शर्माले आफ्नो सरुवा हुनबाट रोके ।

विष्णु पौडेलपछि आएका अर्थमन्त्री कृष्णबहादुर महराले पनि शर्मालाई चलाउन सकेनन् । सरुवा गर्न खोज्दा देउवाले रोक्न महरालाई दबाव दिएको स्रोतले जनाएको छ ।

अचम्मको घर

जो शक्तिमा आए पनि रिझाउने शर्माको सूत्र थियो-पैसा । शक्तिमा रहेका व्यक्तिको कमजोरी खोजेर पैसाको बिटोले हान्ने कला उनको निजामति सेवामा सधैं चर्चामै रहृयो ।

नारायणथानमा शर्माको निवास प्रवेश गर्न जो कोहीलाई सम्भव छैन । उनको निवाससम्म पुग्न ५/६ वटा गेट पार गर्नुपर्छ ।
घरमा निजी सुरक्षा गार्ड राखेका शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका छन् ।

पछिल्लो समयमा शर्माले बूढानीलकण्ठमा देउवा निवास नजिकै रहेको पञ्चकन्या कोलोनीमा १२ करोडमा नयाँ घर निर्माणको ठेक्का दिएका छन् । जुन घर उनकी सालीका नाममा रहेको स्रोत बताउँछ ।

एनसेलदेखि कर फछ्र्यौटसम्म

शर्मा पछिल्लो समय एनसेलको लाभकर छली प्रकरणमा पनि जोडिएका थिए । उनले टेलियासोनरासँग आकर्षक डिल गरेर आयकर नलिई उन्मुक्ति दिलाएको आरोप लाग्दै आएको छ ।

शर्मामाथि कुन-कुन अभियोगमा अख्तियारले छानविन र मुद्दा चलाउँछ, त्यो अब रोचक प्रतिक्षाको विषय बनेको छ । तर, उनले सम्पत्ति शुद्धीकरण विभागमा हुँदा होस वा कर फछ्र्यौट आयोग र आन्तरिक राजश्वमा हुँदा होस, कर छलीमा उन्मुक्ति दिएर अकूत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment