Comments Add Comment

झापामा आमाछोरी नै उम्मेदवार, ‘मुटु माग्ने’ले भोट माग्न थाले !

स्थानीय चुनावमा चलचित्र निर्देशकदेखि पत्रकारसम्म

२० जेठ, झापा । स्थानीय तहको आशन्न चुनावले झापामा उत्साह छरेको छ । यो उत्साहमा केही विचित्रपन पनि थपिएको छ । केही रोचक पात्रहरु चुनावी मैदानमा उत्रिएपछि अब झापाको चुनाव निरस रहेन ।

झापाका विभिन्न स्थानीय तहमा उम्मदेवारी दिनेहरुको पृष्ठभूमि र आरोह अवरोह हेर्दाखेरि स्थानीय चुनावमा जनस्तरमा कति धेरै चासो र रहर बढेको छ भन्ने स्पष्ट हुन्छ ।

स्थानीय चुनावका क्रममा झापामा देखिएका केही रोचक प्रशंगहरुलाई हामीले यहाँ उल्लेख गर्ने प्रयास गरेका छौं

 

आमाछोरी नै उम्मेदवार !


जिल्लाको भद्रपुर र मेचीनगर नगरपालिकाको उपमेयरमा आमाछोरी नै उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट भद्रपुर नगरपालिकामा आमा तारादेवी भुर्तेल र मेचीनगरमा छोरी दुर्गा खतिवडा भुर्तेल उपमेयरका उम्मेदवार बनेका हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा आमा र विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा छोरीलाई उठाउने कांग्रेसले निर्णय गरेको छ ।

‘कविजी’ विप्लप माओवादी छाडेर उपमेयरमा भिड्दै

जतिबेला केपी शर्मा ओली झापा विद्रोहका नाममा हिंसात्मक संघर्षमा थिए, त्यतिबेला एकजना कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको कविता चर्चामा थियो- ‘होइन मैले ढाँटेको, वामपन्थीले टाउको काटेको ।’

कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको कविता चर्चामा थियो- ‘होइन मैले ढाँटेको, वामपन्थीले टाउको काटेको

यही कविताका कारण संग्रौला कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नजिकको पात्र बन्न पुगे ।

हरिभक्तले वीपी विचार ग्रामीण विकास परियोजनाका नाममा झापा र मोरङमा एनजीओ समेत चलाए । तर, पछि परियोजनाका नाममा विपीको नामै वदनाम गरेको आरोप उनीमाथि लाग्यो । र, उनले केही समय इलाका प्रहरी कार्यालय, बिर्तामोडको थुनामा पनि बस्नु पर्‍यो ।

त्यसपछि हरिभक्त नेपाली कांग्रेस पार्टीबाट रुष्ट भए । र, प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादीमा प्रवेश गरे । पछि माओवादी पार्टीको विभाजन हुँदै जाँदा उनी पनि विभिन्न समूहमा बाडिँदै गए ।

कवि हरिभक्त मात्रिका यादव नेतृत्वको पार्टीदेखि लिएर वैद्य माओवादी हुँदै विप्लप माओवादीसम्म पुगे । तर, अहिले विप्लप माओवादी छाडेर उनी उपमेयरको उम्मेदवार बनेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट उनी कनकाई नगरपालिकाको उपमेयरमा उठेका छन् ।

चलचित्र निर्देशक अब वडाको निर्देशक 

झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट चलचित्र निर्देशक दुर्गा नेम्बाङ वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

नेम्बाङद्वारा निर्देशित किरात मिथकमा बनेको नेपाली फिल्म ‘खाप्पुना मुरङना’ पूर्वी नेपालमा चर्चित छ ।

आफूले धेरै फिल्म निर्देशन गरेको भन्दै उनले अब वडाको निर्देशन गर्ने लक्ष्य लिएको बताए ।
नुमाफुङ नामक फिल्मबाट मुख्य सहायक निर्देशक हुँदै यो क्षेत्रमा डेब्यू गरेका उनले आमाको काख, लभ इन चाइना बोर्डर, एउटै भूल, क्याविन गर्ल, जय माँ सतासी, रातो बर्की, छालुम्मा लगायतका चलचित्रको निर्देशन गरेका छन् ।

आफ्ना फिल्महरु जस्तै शिवसताक्षीको यो वडालाई पनि चर्चित बनाउने आफ्नो योजना रहेको उनले सुनाए । उनी विगत १८ वर्ष यता यो क्षेत्रमा सम्लग्न छन् ।

दुई महिला पत्रकार चुनावी दौडमा

झापाका दुईजना महिला पत्रकार पनि चुनावी दौडमा छन् ।

बिर्तामोड नगरपालिकाको उपमेयरमा लीला अनमोल र भद्रपुर नगरपालिकाको वडा नं. ४ को वडा सदस्यमा गंगा बराल उम्मेदवार बनेका हुन् ।

अनमोल राप्रपाबाट उठेकी हुन् भने बराल एमालेबाट चुनावी मैदानमा छिन् ।

लामो समयसम्म नेपाल प्रेस युनियनमा आवद्ध अनमोल एक वर्षअघि राप्रपा प्रवेश गरेकी थिइन् । अहिले उनी मिडिया नेपालकी केन्द्रीय सदस्य र झापाको रेडियो विराटकी प्रवन्ध निर्देशक छिन् ।

बराल डेढ दशकदेखि पत्रकारितामा आवद्ध छिन् । उनी भद्रपुरबाट प्रकाशित निर्माण लहर साप्ताहिककी कार्यर्कारी सम्पादक हुन् ।

‘मुटु माग्यौ, तिमीले’ का गीतकार अब भोट माग्दै

कुनै समयको चर्चित गीत ‘मुटु माग्यौ तिमीले’ का लेखक गजेन्द्र ताम्ली अब मुटु माग्न छाडेर भोट माग्नतिर लागेका छन् ।

ताम्ली झापा गाउँपालिकाको अध्यक्षका लागि एमालेबाट चुनावी मैदानमा छन्  ।उनी गीत लेखक मात्र नभई, झापा सेभेन फुटबल क्लबका क्याप्टेन पनि हुन् ।

अहिले उनले शरणामतीस्थित आफ्नै गाउँमा चन्ऽज्योति मावि सञ्चालन गरिरहेका छन् । उनको माछापालन व्यवसाय पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment