Comments Add Comment

भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय

२० जेठ, काठमाडौं । नेपाल–भारतबीचको पावर एक्सचेन्ज कमिटी निस्क्रिय हुँदा नेपाललाई वर्षेनी आर्थिक भार थपिदै गएको छ । भारतको उदासिनताका कारण ६ वर्षदेखि कमिटीको वैठक बस्न सकेको छैन ।

लोडसेडिङ न्यूनीकरणका लागि नेपालले वर्षेनी ठूलो परिमाणमा भारतबाट विद्युत आयात गर्ने गर्छ । यसरी भारतबाट आयात हुने बिजुलीको मूल्य प्रत्येक वर्ष ५.५ प्रतिशतले बढ्दै जान्छ ।

सन् २०११ मा बसेको पावर एक्सचेन्ज कमीटीको बैैठकले भारतबाट आयात हुने बिजुलीको मूल्य अर्काे बैठक नबस्दासम्म प्रत्येक वर्ष ५.५ प्रतिशतले बढ्दै जाने भनेर निर्णय गरेको थियो । उक्त बैठकमा नेपालतर्फबाट तत्कालिन बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव उपस्थित थिए ।

नेपाल र भारतबीचको बिद्युत आयात–निर्यात गर्नको लागि पावर एक्सचेन्ज कमिटी गठन भएको हो । यो कमिटीको बैठक सन् २०११ पछि अहिलेसम्म बस्न सकेको छैन ।

सन् २०१३ मा पुनः बैठक बस्ने भन्दै सन् २०११ को बैठक अन्त्य भएको थियो । तर, भारतीय पक्षले सन् २०१३ देखि यता बैठक बस्न कुनै चासो दिएको छैन । जसका कारण सन् २०११ मा भएको निर्णय बमोजिम नै नेपालले भारतलाई प्रत्येक वर्ष ५.५ प्रतिशतले बढाएर रकम बुझाउनु परेको हो ।

गत फेब्रअुरीमा बसेको नेपाल–भारत सचिबस्तरीय बैठकले पावर एक्सचेन्ज कमिटीको बैठक छिट्टै राख्ने भनेर निर्णय गरेको थियो । यसका लागि दुबै देशका सचिबहरुले आवश्यक पहल गर्ने भनिएको थियो ।

सचिबस्तरीय बैठक पुनः आउँदो अगष्टमा बस्दैछ । तर अहिलेसम्म पावर एक्सचेन्ज कमिटीको बैठक भने कहिले बस्ने टुङ्गो छैन ।

नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता प्रबलराज अधिकारी भन्छन्, ‘बैठक बस्नको लागि हामीले पहल गर्दै आएका छौं, तर सफल हुन सकेका छैनौं ।’

कति बढ्यो मूल्य ?

नेपालले आयात गर्दै आएको ३३ केभी, १२० केभी र १३२ केभीका प्रसारणलाइनबाट आएको बिजुलीको मूल्य प्रत्येक वर्ष ५.५ प्रतिशतले बढ्दै आएको छ । गत मार्चको अन्त्यसम्ममा ३३ केभीबाट आएको बिद्युतको मूल्य प्रतियुनिट ६.५४ भारु थियो ।

भारतमा अंग्रेजी महिनाको अप्रिलबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ । त्यसैकारण अप्रिलदेखि यो बढेर अहिले ६.९० भारु अर्थात ११ रुपैयाँ ३ पैसा कायम भएको छ ।

त्यस्तै १२० केभी प्रसारणलाइनबाट आयात भएको बिजुलीका लागि नेपालले मार्चसम्म ६.०८ भारु तिर्दै आएको थियो । तर अप्रिलदेखि यसको भाउ बढेर ६.४१ भारु कायम भएको छ । १ सय ३२ केभीको प्रसारण लाइनबाट आयात गर्ने ५० मेगावाट सम्मलाई मार्चसम्म ५.६२ तिर्दै आएकोमा अहिले यो ५.९३ भारु कायम भएको छ ।

५० मेगावाट भन्दा बढि भने बिहार पावर होल्डिङ कम्पनीसँग सम्झौता गरेर बिजुली ल्याइएको छ । सन् २०१३ मा भएको सम्झौता बमोजिम यसको शुल्क बिहार रेगुलेटरी कमिसनले तोकेबमोजिम हुने भनेर उल्लेख गरिएको छ ।

गत मार्चमा बिहार रेगुलेटरीले बिद्युत मिटरिङ सिस्टमलाई केडब्लुएचमा नभई केभीएचमा मिटरिङ गर्ने भनेर निर्णय गरेको छ । मार्चअघि नेपालमा ५.५५ भारुमा बिद्युत आयात हुँदै आएको थियो । तर अप्रिलबाट केभीएच मिटरिङ सिस्टम लागु भएपछि भने प्राधिकरणले प्रतियुनिट मूल्य ६.७८ भारु तिर्नपर्ने भएको छ ।

बिद्युत प्राधिकरण भने पावर एक्सचेन्ज कमिटीको बैठकपश्चात बिहार पावर होल्डिङ कम्पनीसँग बैठक बसेर तिर्दै आएको शुल्क घटाउने योजनामा छ । तर यि दुबै निकायसँग अहिलेसम्म बैठक बस्न नसक्दा नेपालले भारतबाट आयात गर्दै आएको बिद्युतमा चर्काे महशुल तिर्न परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment