
२१ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद चर्किएको छ । सरकारमा आउन देउवाले गरेको लिखित आग्रहका विषयमा निर्णय गर्न राप्रपाले आइतबार बिहान कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । तर, बैठक टुंगोमा पुग्न सकेन ।
सरकारमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपालाई शनिबार लिखित पत्र पठाएका छन् । पत्र पठाएलगत्तै देउवाले सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा राप्रपा नेता पशुपति समशेर राणा र कमल थापालाई छलफलका लागि बोलाएका थिए ।
तर, देउवाले बोलाएको बैठकमा कमल थापा गएनन्, पशुपति समशेर राणामात्रै उपस्थित भए ।
राणासँगको भेटमा देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिन सकिने तर उपप्रधानमन्त्री दिन नसकिने प्रस्ताव राखे । राप्रपाले चलाएका पुरानै ४ वटा मन्त्रालय दिने देउवाले राणासँग प्रस्ताव राखेको स्रोतले बतायो । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति र भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो ।
राप्रपालाई चारवटा मन्त्रालय दिने भनिए पनि आइतबारसम्म पहिलो चरणको सरकार गठनका लागि एकजना मन्त्रीको मात्रै नाम दिन देउवाले राणालाई आग्रह गरे ।
देउवाको यस्तो प्रस्ताव आएपछि शनिबार नै महाराजगञ्जस्थित पशुपति समशेर राणाको निवास ‘विजयबास’ मा राप्रपाका शीर्ष नेताहरुको अनौपचारिक बैठक बस्यो ।
राष्ट्रिय अध्यक्ष राणाले सो छलफलमा पार्टी अध्यक्ष कमल थापा र बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई समेत बोलाए । तर, सो बैठकमा पूर्वराप्रपा समूह र पूर्वराप्रपा नेपाल समूहवीच चर्को विवाद भएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
बिजयबासको गोप्य बैठकमा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म राप्रपा सरकारमा जान नहुने र सरकारको नेतृत्व पार्टी अध्यक्षले नै गर्न पाउनुपर्ने लाइन प्रस्तुत गरेका थिए । सरकारमा राप्रपालाई सम्मानजनक स्थान हुनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।
तर, पशुपति समशेर राणाले भने ४ वटा मन्त्रालय पाउनु राप्रपाका लागि सम्मानजनक भएको भन्दै उपप्रधानमन्त्री नपाए पनि सरकारमा जानुपर्ने अडान राखेका थिए ।
सो छलफलमा राणा र चन्द दुबैले राप्रपा प्रजातान्त्रिक शक्ति भएकाले उसको गठबन्धन एमालेसित नभई कांग्रेससँगै हुनुपर्ने मत राखेका थिए । अध्यक्ष थापाले चाँहि नेपाली कांग्रेस राप्रपाको मुख्य प्रतिस्पर्धी दल भएको बताएका थिए ।
शनिबार साँझसम्म चलेको सो छलफलमा शीर्षनेतावीच तीतो भनाभनसमेत भएको स्रोतले बतायो । पहिलो चरणको चुनावमा एमालेसँग मिल्दा राप्रपाको के हालत भयो भन्दै राणा पक्षका नेताले कमल थापाको ‘गल्ती’ औंल्याएको स्रोतले अनलाइनखबरलाई बतायो ।
त्यसैगरी अघिल्लो सरकारमा उपप्रधानमन्त्री पाइरहेका बेला कमल थापाले सरकार छाड्ने निर्णय गरेका कारण राप्रपाप्रति सत्तारुढ गठबन्धनको विश्वास टुटेको भन्दै राणा पक्षले थापाको आलोचना गरेको स्रोतले बतायो ।
‘उपप्रधानमन्त्री पाउनुभएकै थियो, किन छाडेको ?’ विजयबास बैठकमा राणा पक्षले थापालाई सोधेको प्रश्न उधृत गर्दै स्रोतले भन्यो, ‘तपाई शुक्रबार ओलीलाई भेट्न एमालेको संसदीय दलको बैठकमै किन जानुभएको ? देउवाले बोलाएको ठाउँमा किन नजानुभएको ? यस्तो भएपछि राप्रपामाथि विश्वासको संकट आउनु स्वाभाविकै हो ।’
केपी ओलीसँग अध्यक्ष कमल थापाले गरेको साँठगाठँका कारण पहिलो चरणको चुनावमा राप्रपाले ठूलो घाटा ब्यहोर्नुपरेको राणा पक्षको भनाइ थियो । त्यसैगरी संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल हुन लाग्दा पूर्वराप्रपा नेपाल समूहका नेताहरुले ओलीसँग साँठगाँठ गरेको आरोपसमेत पूर्वराप्रपा समूहका नेताहरुले लगाएका छन् ।
सरकारमा जानेबारे दुई लाइन
विजयबासको बैठकमा राणा र चन्द पक्षका नेताहरुले ४ वटा मन्त्रालय लिएर भए पनि राप्रपा सरकारमा जानुपर्ने र तीनवटै चुनावमा राप्रपा सरकारमा प्रजातान्त्रिक गठबन्धनमा रहनुपर्ने लाइन प्रस्तुत गरेका थिए ।
र, सरकारमा मन्त्रीहरु पठाउँदा राप्रपाले समानुपातिक तर्फका भन्दा पनि प्रत्यक्ष निर्वाचित सांसदहरुलाई प्राथमिकता दिनुपर्ने राणा पक्षका नेताहरुले जोड दिएका थिए ।
अध्यक्ष कमल थापाले चाँहि उपप्रधानमन्त्री नपाएसम्म र आफैंले सरकारको नेतृत्व गर्न नपाउँदासम्म राप्रपालाई सरकार बाहिरै राख्न चाहेको स्रोतले बतायो ।
प्रतिक्रिया 4