अहिले बजारमा केमिकलयुक्त नक्कली कस्मेटिक्स छ्यापछ्याप्ती छन् । यस्ता सौन्दर्य प्रसाधन सस्तो हुन्छ, तर प्रभावकारी रुपमा काम गर्दैन । त्यती मात्र होइन, नक्कली कस्मेटिक्सले सौन्दर्यमै हानी गर्छ । त्यसलै यस्ता नक्कली कस्मेटिक्स प्रयोग गर्नुअघि सचेत हुनैपर्छ ।
बिना साइट इफेक्टको सौन्दर्य प्रसाधन
कुनैपनि सौन्दर्य प्रसाधन खरिद गर्नुअघि त्यसको ब्रान्ड हेर्नुपर्छ । जथाभावी वा फुटपाथमा उपलब्ध हुने कस्मेटिक्स कमसल हुने गर्छ । आफुले खरिद गर्न लागेको कस्मेटिक्सको बारेमा जानकारी लिएर मात्र खरिद गर्नु राम्रो हो । खासगरी त्यसको ब्रान्ड, प्रयोग विधी, प्रभावकारिता, मूल्य आदिबारे बुझ्नुपर्छ ।
सबै कस्मेटिक्स सबैको लागि उपयोगी हुन्छ भन्ने छैन । आफ्नो छाला, केसको प्रकृति अनुसार भिन्न भिन्नै कस्मेटिक्स उपयोगी हुन्छ । आफ्नो लागि कस्तो कस्मेटिक्स अनुकुल हुन्छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ ।
बिभिन्न प्रकारका कस्मेटिक्स
अहिले बजारमा ओंठलाई सुन्दर बनाउन किसिम-किसिमका शेडयुक्त लिपस्थिट, नङको सौन्दर्य बढाउने नेल पोलिस, अनुहारलाई चम्किलो बनाउने पाउडर, क्रिम, शरीरको छालामा निखार ल्याउने लोशन, आँखाको सुन्दरता बढाउने गाजल, आइ लाइनर आदि उपलब्ध छन् ।
आजभोलि यस्ता सौन्दर्य प्रसाधनको प्रयोग पनि अधिक मात्रामा बढेका छन् । यद्यपी यस्ता प्रसाधन प्रयोग गर्नुअघि त्यसको उपयोगिताबारे जान्नैपर्छ । कस्तो अवस्थामा कुन कस्मेटिक्स प्रयोग गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने कुराको ज्ञान हुनुपर्छ । नभए, त्यसको उल्टो असर पर्न सक्छ ।
के छ साइड इफेक्ट
कमसल सौन्दर्य प्रसाधनको प्रयोगले छाला तथा केसको सौन्दर्य नष्ट गर्छ । छालामा एलर्जी हुने, जलन हुने, सुन्निने जस्ता समस्या देखापर्न सक्छ । हानिकारक रसायन प्रयोग गरिएको कस्मेटिक्स लामो समयसम्म प्रयोग गर्दा क्यान्सर हुने जोखिम समेत हुन्छ ।
धेरैजसो कम्पनीले कस्मेटिक्स उत्पादनमा हेभी मेटल जस्ता अर्सेनिक, क्याडमियम, मरकरी, निकेल, लेड अदि पाइन्छ । यो त्यही मेटल हो, जो छालामा लामो समयसम्म सम्पर्कमा रह्यो भने विभिन्न समस्या निम्त्याउँछ । यस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्दा छालाको रोम-छिद्र बन्द गरिदिन्छ । यसले गर्दा शरीरको पसिना बाहिर निस्कन पाउँदैन । बिकारयुक्त पदार्थ शरीरभित्रै जम्मा भएर बस्छ ।
कुन कस्मेटिक्सको कस्तो असर ?
टेल्कम पाउडर– धेरैजसोले यो पाउडर प्रयोग गर्छन् । अनुहार र नुहाइसकेपछि शरीरमा प्रयोग गर्छन् । तर, यसको धूलोको स-सना कण सासको माध्यामबाट फोक्सोमा पुग्छ र असर गर्न सक्छ । यसले दम, ब्रोन्काइटिस जस्ता समस्या निम्त्याउँछ ।
लिपस्टिक- नियमित रुपले लिपिस्टिक प्रयोग गर्दा ओंठको स्वाभाविक रंग नष्ट हुन्छ । साथै ओंठ कालो पनि हुन्छ । यसमा इओसिन नामको रंग लैनोनिक रसायनसँग बनाइन्छ । लिपस्टिक ओंठको माध्यामबाट जब शरीरमा प्रवेश गर्छ, रोग पैदा गर्न सक्छ ।
नेल पोलिस- नेल पोलिसको नियमित प्रयोगले नङको प्राकृतिक रंग नष्ट गर्छ । नङ चमकहिन हुन्छ । साथै कमजोर पनि ।
आँखाको प्रसाधन- आँखाको लागि प्रयोग गरिने प्रसाधनमा आइ पेन्सिल, आइ लाइनर, आइ श्याडो, मस्कारा, गाजल हुन्, जसले क्षणिक रुपमा आँखालाई सुन्दर बनाएपनि दिर्घकालिन असर पुर्याउन सकछ । किनभने यसमा सीसा लगायतका हानिकारक तत्व हुन्छ । मस्काराको नियमित प्रयोगले आँखाको आसपासको छालामा जलन हुनसक्छ । आइलाइनरले आँखाको झिल्लीमा असर पुर्याउन सक्छ ।
हेयर स्याम्पु- स्याम्पुमा सिन्थेटिक डिटरजेन्ट हुन्छ । यसमा सेल्टोल्स र डाइ अक्सिजन जस्ता विषालु तत्व पनि हुन्छ, जसले केसलाई हानी पुर्याउँछ ।
हेयर रिमुभर- अनावश्यक रौं हटाउनका लागि बजारमा सुगन्धित हेयर रिमुभर पाइन्छ । यसमा बेरियम सल्फेट नामको रसायन मिलाइन्छ । यसले छालामा असर गर्छ ।
फेस क्रिम- अनुहारमा लगाउने क्रिम यदि वोसो वा तेल जस्ता मिश्रणले बनाएको भए, ठीक हुन्न । यस्ता क्रिममा मिश्रण गर्ने कतिपय तत्वले छालाको रोमछिद्र बन्द गरिदिन्छ । त्यही कारण शरीरको विषाक्त पदार्थ वाहिर निस्कन पाउँदैन ।
मोश्चराइजर- केहि लोकप्रिय मोश्चराइजर कम्पनीले तामझामका साथ विज्ञापन गर्दै आफ्नो उत्पादन विक्री गर्छन् । तर, यी मोश्चराइजरमा डिजर्टेन्ट जस्ता केहि केमिकल मिलाइएको हुन्छ, जसले छालामा असर गर्छ ।
के गर्ने ?
कुनैपनि सौन्दर्य प्रसाधन अपनाउनुअघि त्यसको एलर्जी सम्बन्धी जाँच गर्नुपर्छ । यसका लागि कानको पछाडिको भागमा थोरै सौन्दर्य प्रसाधन लगाउने र २४ घण्टासम्म त्यसको असर हेर्ने । यदि त्यसले कुनै प्रतिक्रिया दिएन भने उक्त सौन्दर्य प्रसाधनको प्रयोगले खासै हानी नगर्न सक्छ ।
घरेलु सौन्दर्य प्रसाधनको प्रयोग
बजारमा पाइने सौन्दर्य प्रसाधनले कुनै न कुनै रुपमा हानी गरिरहेकै हुन्छ । त्यसैले त्यस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्नुभन्दा घरमै प्राकृतिक रुपमा तयार गरिने सौन्दर्य प्रसाधन प्रयोग गर्नु उत्तम हो । यसले न नकारात्मक असर गर्छ, न त खर्चालु नै हुन्छ ।
प्रतिक्रिया 4