२३ जेठ, काठमाडौं । नेपाली मूलकी एक विद्यार्थीलाई जर्मन प्रहरीले कक्षा कोठाबाटै पक्राउ गरी नेपाल डिपोर्ट गरेको बिरोधमा जर्मनीमा अनलाइन हस्ताक्षर संकलन अभियान थालिएको छ ।
प्रहरीले केही दिन पहिले नेपाली मूलकी १४ वर्षीया किशोरी बिभ्सी रानालाई उनी अध्ययन गर्ने कक्षाकोठाबाटै पक्राउ गरी देश निकाला गरेर नेपाल पठाएको थियो ।
प्रहरीको यस्तो कदमले उनको मानवअधिकार हनन् भएको भन्दै उनी अध्ययन गर्ने स्कूलका साथीहरुले अनलाइन पिटिसन (हस्ताक्षर संकलन) अभियान चलाएका छन् ।
बिभ्सीलाई पुनः जर्मन फर्काएर अध्ययनलाई निरन्तरता दिनुपर्ने माग गर्दै बिभिन्न मानवअधिकारवादी संघसंस्थाको सहयोगमा यो अभियान थालिएको हो ।
नेपाली बाबुआमाबाट जर्मनीमै जन्मिएकी बिभ्सीलाई बाबुआमासँगै पक्राउ गरेर नेपाल पठाइएको थियो ।
उनका बाबुआमा १४ बर्ष पहिले जर्मन गएका थिए । उनीहरु सन् २०१३ यता अवैधानिक रुपमा जर्मन बस्दै आएका थिए ।
जर्मनीमै स्थायी शरणको माग गर्दै उनीहरुले प्रकृया सुरु गरेको भए पनि सन् २०१६ मा उनीहरुको माग खारेज गरिएको थियो ।
प्रहरीले भने बाबुआमासँगै उनलाई देश निकाला गर्नुको विकल्प नभएको बताउँदै आएको छ ।
मानवअधिकारवादी संस्थाहरुले ती किशोरीको विद्यालय शिक्षाको अधिकार हनन् भएको भन्दै उनलाई पुनः फर्काउन माग गरेका छन् ।
प्रतिक्रिया 4