Comments Add Comment

राजबिराजको मेयरमा ‘पूर्वएमाले’ र ‘नयाँ एमाले’ भिड्दै

कञ्चनरुपमा जेपी गुप्ताका भाइदेखि एमालेका 'ब्रह्मचारी' सम्म

 

२२ जेठ, सप्तरी । मधेस आन्दोलनको केन्द्रमा रहेको सप्तरीको राजबिराज नगरपालिकामा विस्तारै चुनावको माहौल सुरु भएको छ । रोचक त के छ भने राजविराजको मेयर पदका लागि ‘पूर्व एमाले’ नेता र ‘नव एमाले’ नेतावीच चुनावी भिडन्त हुने भएको छ ।

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरेर सप्तरीमा राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । अहिलेसम्म एकाध पार्टीहरुले मात्रै उम्मेदबार छनौट गरेका छन् ।

जिल्लामा नेकपा एमालेले अधिकांश ठाउँमा उम्मेदवार चयन गरिसकेको छ भने फोरम लोकतान्त्रिकले केही ठाउँमा उम्मेदबार छनोट गरेको छ । बाँकी पार्टीहरुले अहिलेसम्म उम्मेदवार चयन गरेका छैनन् । माओवादी र कांग्रेसले उम्मदेवार सार्वजनिक गरेका छैनन् ।

यी हुन् पूर्वएमाले

राजविराज नगरपालिकामा यसअघि नै मेयर बनिसकेका एक नेता पुनः मेयरको दौडमा लागेका छन् । उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट मेयर पदको चुनाव लड्दै छन् । दोस्रो पटक मेयर पदमा लड्न खोज्ने यी नेता हुन्- शैलेश चौधरी ।

चौधरी यसअघि ०४९ सालको स्थानीय निकायको निर्वाचनमा राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

त्यसबेला नेपाल सद्भावना पार्टीको टिकट पाएका उनी यसपटक फोरम लोकतान्त्रिकबाट उम्मेदबार बन्न लागेका छन् ।

उनी सद्भावना हुँदै एमालेमा समेत प्रवेश गरेका थिए । एमालेबाट नेता जितेन्द्रनारायण देवसँगै उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेका हुन् ।

अहिले उनी फोरम लोकतान्त्रिकको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य समेत छन् ।

०४९ देखि ०५४ सम्म मेयर रहँदा राजविराज नगरपालिकामा नाला बनाउने, विभिन्न ठाउँको सडक पिच गराएको दाबी गर्दै उनी भन्छन्- त्यसबेलाको बाषिर्क बजेट १२ लाख मात्रै हुन्थ्यो, त्यही बजेटले सम्पूर्ण काम गर्नुपर्ने हुन्थ्यो ।

यी हुन् ‘नवएमाले’ मेयरका दाबेदार

पूर्वएमाले नेता चौधरीसँग मेयरका लागि चुनावी भिडन्त गर्न ‘नवएमाले’ उम्मदेवार मैदानमा आएका छन् । उनी हुन्- सहकारी सञ्चालक सुखराम यादव ।

राजनीतिमा कम तर सहकारीको विकासमा लागेका सुखराम यादवले एमालेका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी ठीक पारेका छन् ।

सप्तरीमै पहिलो पटक ग्लोबल सहकारी संस्था मार्फत मुठिया बचतको शुरुवात गराउने यादव उक्त संस्थाका संस्थापक अध्यक्ष हुन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा रहेर सामान्य राजनीति गतिविधिमा सकृय रहेका यादव मेयरको टिकट पाउने भएपछि फोरम नेपाल परित्याग गरेर हालै नेकपा एमालेमा प्रवेश गरेका नवप्रवेशी हुन् ।

 

राजपा छाडेका ईंटा व्यवसायी अर्का दाबेदार

राजविराज नगरपालिकाको मेयरका अर्का आकांक्षी छन्- भीमराज यादव । उनी ईंटा व्यवसायी हुन् । यादवको बिष्णुपुर गाउँपालिकामा इँटा उद्योग छ । निर्माण व्यवसायी समेत रहेका उनी निर्माण व्यवसायी संघ सप्तरीको अध्यक्ष समेत भएका थिए ।

मेयर पदकै टिकट लिन हालैमात्र उनी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

सुखराम यादवले फोरम छाडेर एमालेमा गई टिकट पाउने भएपछि भीमराज राजपा छाडेर फोरमतिर लागेका हुन् ।

यसअघि सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव गत फागुन २३ गते एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीले गरेको लाठी चार्जबाट घाइते भएका थिए ।

उनले केही दिनअघि मात्रै राजपाबाट संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेर आफ्नो मेयरको उम्मेदवारी पक्का गरेका हुन् ।

कञ्चनरुपमा जेपी गुप्ताका भाइदेखि एमालेका ब्रह्मचारीसम्म

पूर्वसञ्चारमन्त्री एवं तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताका भाइ दीपक गुप्ताले फोरम लोकतान्त्रिक नेपाल पार्टीबाट मेयर पदको उम्मेदवारी दिने भएका छन् । उनले सप्तरीको कञ्चनरुप नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने भएका हुन् ।

आफ्नो उम्मेदबारी पक्का भएको उनले बताए । आफूलाई फोरम लोकतान्त्रिकले टिकट दिने उनको भनाइ छ ।

कोल्ड स्टोरेज सञ्चालन गर्दै आएका उनले आफू जित्ने विश्वास व्यक्त गरेका छन् । कञ्चनरुप नगरपालिकामै उनको सप्तकोशी कोल्ड स्टोरेज रहेको छ ।

दीपक गुप्ता र बसन्त मिश्र (दायाँ)

त्यसैगरी नेकपा एमालेले जिल्लाको कञ्चनरुप नगरपालिकाको मेयर पदमा बसन्त मिश्रलाई उठाउने भएको छ ।

युवावस्थादेखि नै एमालेमा लागेका मिश्रलाई हालसम्म पार्टीले कुनै राम्रो पद र अवसर दिएको थिएन ।

विद्यार्थी जीवनदेखि नै एमालेमा लागेका मिश्रलाई एमालेले यस पटक कञ्चनरुप नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ ।

उमेरले ५५ वर्ष पुगेका मिश्र राजनीतिमा यतिसम्म सकृय रहे कि उनले विवाहसमेत गर्न भ्याएनन् । उनी बाल ब्रह्मचारी हुन् ।

राजनीतिमै सबै थोक गुमाएका उनलाई केही बर्षअघि एमालेले जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ को इञ्चार्ज बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment