Comments Add Comment

मानसरोबर जाने तीर्थयात्री बढे, हवाइजहाज र हेलिकप्टरलाई भ्याइनभ्याई

२८ जेठ, हुम्ला । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने तीर्थयात्री बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ ।

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमिकोट हुँदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो ।

गत वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो वर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको छ । तीर्थयात्रीको चाप बढेपछि अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट हुम्लाको सिमिकोटमा भएको सिमीकोट नागरीक उड्डयन कार्यालयका बरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘यात्रुको चाप बढेको दुई-तीन वर्षयता सामान्यतः ९० देखि १०० सम्म उडान हुने गरेको थियो तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी उडान हो ।’

तीर्थयात्रुको चाप बढेसँगै हुम्लामा अहिले नेपालगन्जदेखि तारा एयर, गोमा एयर, सिमि्रक एयर, सीता एयरले उडान भरिरहेका छन् । हुम्लाको सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म माउन्टेन एयर, मनाङ एयर, सिमि्रक एयर, श्री एयर लगाएतका हेलिकप्टरले तीर्थयात्रुलाई ल्याउने-लैजाने गर्दछन् ।

हवाइजहाज र हेलिकप्टरहरुको चाप बढेपछि सिमिकोट एयरपोर्टमा पार्किङकोे समेत समस्या हुने गरेको वरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए । उनले यात्रुको चाप बढेकाले एयरपोर्ट विस्तारको काम सुरु गर्न लागिएको पनि उनले जानकारी दिए ।

‘एयरपोर्ट विस्तारको लागि जग्गा अधिकरण गर्ने प्रक्रिया अघि बढिसकेको छ । यो प्रक्रिया अन्तर्गत ९५ प्रतिशत काम पनि भइसकेको छ,’ श्रेष्ठले भने, ‘एयरपोर्ट बिस्तार भएपछि पार्किङको समस्या समेत हट्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment