Comments Add Comment

भूकम्पले भत्केका ८४ प्रतिशत घर माटो र ढुंगाका


२८ जेठ , काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आइतबार भूकम्प प्रभावित आवास पुनर्निर्माण संकलन कार्यक्रमको संक्षिप्त तथ्यांकीय प्रतिवेदन तथा माइक्रो विवरण सार्वजनिक गरेको छ ।

सर्वेक्षणमा ३१ जिल्लाका १० लाख ५२ हाजर ९ सय ४८ घरहरुको क्षतिको घरको प्रकार, स्वामित्व, उचाइ, प्लिन्थ, क्षेत्रफल, घरको आयु, जग्गाको भिरालोपन लगायतका अन्य विवरण संकलन गरिएको थियो ।

ती घरमा १० लाख ५७ हजार ७ सय घरधनीहरु रहेको र १० लाख ३६ हजार ५ सय ६८ घरपरिवार बसोबार गरेको पाइएको थियो ।

सर्वेक्षणअनुसार क्षतिग्रस्ता घरको २२ प्रतिशत घरधनी महिला रहेका छन् । पर्वत जिल्लामा सबैभन्दा बढी ३२ प्रतिशत र नवलपरासीमा सबैभन्दा कम १२ प्रतिशत महिला छन् ।

त्यस्तै निजी स्वामित्वमा बनेका घरहरु ९६.३ प्रतिशत रहेका छन् भने बाँकी ३.७ प्रतिशतले पर्ती/सार्वंजनिक तथा अन्य जग्गामा बनाएका छन् ।

सर्वे गरिएका १० लाख ५२ हाजर ९ सय ४८ घरहरुमध्ये ९३.२ प्रतिशत घरहरुमा क्षति भएको पाइएको छ । तीमध्ये ३ लाख ३३ हजार २९८ पूर्णरुपमा ध्वस्त भएका थिए भने ६ लाख ४८ हजार ६३ घर ठडिएको अवस्थामा थिए । ७१ हजार ५८७ घरमा क्षति पुगेको थिएन ।

३१ जिल्लामध्ये सबैभन्दा क्षति सिन्धुपाल्चोकमा भएको थियो । त्यहाँका ९६.१ प्रतिशत घरमा क्षति पुगेको थियो । त्यस्तै, रसुवाका ९४.४ प्रतिशत र नुवाकोटका ९२.३ घर क्षतिग्रस्त भएका थिए ।

गम्भीर रुपमा क्षति भएका घरहरुको उमेर औसतमा २५ वर्ष देखिएको छ । गम्भीर रुपमा क्षति भएका घरहरुमा माटो र ढंुगाले बनेका ८४.२ प्रतिशत छन् भने सिमेन्ट र इंटा/ढुंगा (वाल सिस्टमका) ले बनेका ५.४ प्रतिशत छन् ।

पिल्लर सिष्टमका ४.१ र बाँस/काठले बनेका ५.८ प्रतिशत छन् ।

२०७२ वैशाख १२ को भूकम्पबाट अति प्रभावित जिल्लाहरुमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक ११ जिल्लामा पहिलो चरणमा, उपत्यकाका तीन जिल्लामा दोस्रो चरणमा र कम प्रभावित तीन जिल्ल्लामा तेस्रो चरणमा गरी तीन चरणमा यो कार्यक्रम संचालन भएको थियो ।

सर्वेक्षणमा सर्भेयरले सबै निजी स्वामित्वका आवासीय प्रयोजनका घरहरुको विस्तृत क्षति जाँच गरेका थिए ।

त्यसक्रममा ती घरमा बस्ने परिवारको आर्थिक, सामाजिक र जनसांख्यिक विवरणसमेत ट्याब्लेटमार्फत् इन्टरनेटमार्फत् सोझै सिंहदरबारस्थित सरकारी एकीकृत डाटा सेन्टरमा रहेको केन्द्रीय तथ्यांक विभागको सर्भरमा पठाउने व्यवस्था गरिएको थियो ।

विश्व बैंक र डिफिडबाट छानिएको अन्तर्राष्टिय सेवाप्रदायक संस्था युनोप्समार्फत् छानिएका विभिन्न चरणमा छानिएका इञ्जिनियरहरु तथा सोही संख्यामा जिविसहरुबाट खटाइएका सामाजिक परिचालकहरु सर्वेक्षण टोलीमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment