Comments Add Comment

नयाँ शक्तिको एक वर्षः उपलब्धि र चुनौती

हाम्रो एक वर्ष धेरै आलोचना र थोरै प्रशंसाको बीचमा बित्यो

वर्तमान राजनीतिको समग्र विकल्प दिने संकल्पसहित नयाँ शक्ति पार्टी स्थापना भएको एक वर्ष पूरा भएको छ । सामान्य उतार-चढावसहित लक्ष्यभेदनको यात्रामा पार्टी अगाडि बढिरहेको छ ।

सबैको अपेक्षा थियो, संविधान घोषणापछि देश र जनताले भोगिरहेका सकस समाधान हुँदै जानेछ । देश तीव्र गतिमा आर्थिक समुन्नतिको बाटोमा अघि बढ्नेछ । तर, अपेक्षा विपरीत सकस बढ्दै गएको छ । सत्तास्वार्थको चक्रव्युहमा देशलाई धकेलेर नेताहरु मस्ती मारिरहेका छन् । तराई-मधेसमा आगो सल्किएको छ । बेलैमा आगो ननिभाउने हो भने देशैभरि दन्कने खतरा दिनानुदिन बढिरहेको छ ।

लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो । सच्चा लोकतन्त्रको जगमा मात्रै समृद्ध समाज निर्माण सम्भव छ । हामी सच्चा लोकतन्त्र र समृद्ध समाज निर्माणको बाटोमा इमान्दारीपूर्वक अहोरात्र लागिरहेका छौं । यो एक वर्षको बीचमा हामीले पहिलो चरणको स्थानीय निर्वाचन सामना गर्‍यौं । समग्रमा भन्दा राष्ट्रिय राजनीतिमा देखा परेका आरोह-अवरोहहरुको संयमपूर्वक सामना गर्‍यौं ।

हाम्रो एक वर्ष धेरै आलोचना र थोरै प्रशंसाको बीचमा बित्यो । फेरि पनि हामीले इमान्दारीपूर्वक भन्नैपर्छ, देशको आवश्यकता र हाम्रो गतिको बीचमा सोचे जस्तो सन्तुलन हामीले कायम गर्न सकेनौं ।

हो, हामी विनम्रतापूर्वक बहस र समीक्षा गर्न चाहन्छौं । आलोचनाबाट आतंकित नभई अगाडि बढ्न चाहन्छौं । किनकि बहस एउटा गतिशील पार्टीको लागि ठूलो ऊर्जा हो । ऊर्जाबिना कोही प्रज्वलित हुन सक्दैन । समीक्षाबिना सत्य पत्ता लाग्दैन । सत्यको परखबिना गन्तव्य पुगिँदैन ।

हामी महान् यात्रामा छौं, तसर्थ निकै हतारोमा छौं । कसैको आलोचना गर्ने र व्यक्तिगत विवादमा अल्झिएर समय बर्बाद पार्ने छुट हामी कसैलाई पनि छैन ।

यो लेखमा पार्टीको पहिलो वर्षगाँठको अवसरमा खासगरी पार्टीले आफ्नो आन्तरिक जीवनमा भोगेका केही संगठनात्मक समस्याको संक्षिप्त सिंहावलोकन गर्ने प्रयास गरिएको छ ।

१) पृष्ठभूमिहरुको विविधता: सम्पत्ति र समस्या

गंगा श्रेष्ठ

नयाँ शक्ति पार्टी नयाँ युगको ऐतिहासिक आवश्यकता पूर्ति गर्न स्थापना भएको वैकल्पिक पार्टी हो । यो पार्टी जीवनबाट हारेका, थाकेका र भागेका व्यक्तिहरुका कथा सुनाउने चौतारी होइन । नयाँ युगको नेतृत्व गर्ने ऊर्जाशील र गतिशील व्यक्तिहरुको साझा संकल्पबाट निर्माणाधीन नयाँ पार्टी हो । विविध पृष्ठभूमिहरुको सम्मिलन नै यस पार्टीको अमूल्य पुँजी हो ।

हामीले स्वीकार गर्नैपर्ने हुन्छ, पृष्ठभूमिहरुको विविधता हाम्रो लागि सम्पत्ति मात्र बनेन, समस्या पनि बन्न गयो । कतिपय अवस्थामा ‘दाने गाई’ को सम्झना पनि गरायो र गराइरहेको छ । निश्चय नै विविधताबीच एकता कायम गराउने कार्य सोचेजस्तो सजिलो छैन । तर, असम्भव पनि होइन । कठिनाइका बीच हाम्रो अगाडि सम्भावनाका द्वारहरु खुल्दै गएका छन् ।

राष्ट्रवादको नाममा आन्तरिक राष्ट्रियता कमजोर बनाउने एकल जातीय अहंकारवाद र समान अधिकारको नाममा देश विखण्डन गर्ने पृथकतावाद आजको प्रमुख खतरा हो । अहंकारवाद र पृथकतावाद दुवै अतिवादको विरुद्धमा नयाँ शक्ति पार्टी चट्टान बनेर उभिँदै आएको छ र उभिरहनेछ ।

२) पाँच ‘स’ को बुझाइमा जोडकोण

पाँच ‘स’ हाम्रो कार्यदिशा हो । हाम्रो साझा प्रतिबद्धता भनेकै पाँच ‘स’ भएकाले यसमा कसैको विमति छैन । तर, पाँच ‘स’ मध्ये कुन ‘स’ एक नम्बर ‘स’ भन्नेमा केही जोडकोण देखिएको छ । समतामूलक समृद्धि एक नम्बर हो वा समानुपातिक, समावेशिता ? अंश–अंशमा हेर्ने हो भने समानुपातिक, समावेशिता एक नम्बरको लाग्न सक्छ । तर, समग्रतामा हेर्दा समतामूलक समृद्धि नै एक नम्बरमा पर्न जान्छ ।

हिमाल, पहाड, तराई, मधेस, जाति, क्षेत्र, लिंग, समुदाय सबैले समान रुपमा भोग्नु परिरहेको साझा समस्या भनेको निरपेक्ष गरिबी नै हो । गरिबीबाट मुक्ति त्यसबेला मात्रै सम्भव छ, जुन बेला आन्तरिक राष्ट्रिय एकता बलियो हुन्छ र भ्रष्टाचार, कालाबजारी, बेरोजगारीको अन्त्य हुन्छ । तसर्थ, समृद्धिको ‘स’ लाई केन्द्रमा राखेर अरु ‘स’ प्रति पनि त्यतिकै प्रतिबद्ध भई सिंगै पार्टी लाग्नुपर्छ ।

राष्ट्रवादको नाममा आन्तरिक राष्ट्रियता कमजोर बनाउने एकल जातीय अहंकारवाद र समान अधिकारको नाममा देश विखण्डन गर्ने पृथकतावाद आजको प्रमुख खतरा हो । अहंकारवाद र पृथकतावाद दुवै अतिवादको विरुद्धमा नयाँ शक्ति पार्टी चट्टान बनेर उभिँदै आएको छ र उभिरहनेछ । बलियो राष्ट्रिय एकताको जगमा मात्रै स्वाधीन, सम्पन्न र शक्तिशाली राष्ट्र निर्माण सम्भव छ ।

३) सामूहिक संकल्पयुक्त टीमको अभाव

राजनीति रणनीति (लक्ष्य, गन्तव्य) ले मात्र सफल हुँदैन । रणनीति प्राप्त गर्न कार्यनीति (तत्कालीन काम, ट्याक्टिस) को सफल कार्यान्वयन गर्ने टीमको जरुरत पर्छ । सामान्यतः नेताहरुले रणनीति ठीकै सोचिरहेका हुन्छन्, चुक्ने भनेको कार्यनीतिमै हो । किनकि कार्यनीति भनेको जीवन हो, दैनिक व्यवहार हो । मुख्य कुरा तहगत जिम्मेवारी हुँदाहुँदै पनि सामूहिक संकल्पयुक्त सिर्जनशील र सक्रिय नेतृत्वको टीम भएन भने सिद्धान्त सही भएर मात्र सफलता प्राप्त गर्न सकिँदैन । जुन कुरा यो एक वर्षमा खट्किरह्यो ।

४) संगठनात्मक संरचना विस्तार तर व्यवस्थित परिचालनको अभाव

संगठनात्मक हिसाबले भूगोल, गैरभूगोल र विदेशमा समेत गरी १ सय ६ वटा जिल्ला परिषद्, ११ वटा प्रदेश परिषद्, ३१ वटा विभाग, २४ वटा आंगिक पेशागत संगठनको संरचना निर्माण हुनु सामान्य कुरा होइन । कतिपय दशक उमेर खाइसकेका राष्ट्रिय पार्टी भन्नेहरुले ७५ जिल्लामा आफ्नो संरचना निर्माण गर्न सकेका छैनन् । ७५ वटै जिल्ला निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने पाँच पार्टीमध्ये नयाँ शक्ति पार्टी एउटा बन्न पुगेको छ । संगठनात्मक क्षेत्रमा यसलाई उल्लेख्य सफलता मान्नुपर्छ ।

नयाँ शक्तिमा हामी सबै अभियन्ता बन्न चाहन्थ्यौं । तर, हामी अघोषित नेता, कार्यकर्ता बन्न पुग्यौं । जबर्जस्त एउटा सीमारेखा कोरिन पुग्यो हामीमाझ । गणेश प्रवृत्तिको विरोधी पार्टी त्यही प्रवृत्तिको घेराउमा पर्ने खतरा बढ्दै गयो । कर्ममा प्रतिस्पर्धा होइन, पद–प्रतिष्ठामा आशक्ति बढ्न थाल्यो ।

तर, यसका साथै संगठनलाई व्यवस्थित रुपमा परिचालन गर्न नसक्नु, विधानमा प्रस्ताव गरे अनुरुप संगठन निर्माण र सञ्चालनमा एकरुपता नआउनु समस्या देखिएको छ । आन्तरिक लोकतन्त्रको प्रक्रियागत अभ्यासमा प्रवेश नगर्दासम्म सायद यस्ता समस्याबाट मुक्त हुन पनि सम्भव नहोला ।

पार्टी स्थापना राष्ट्रिय भेलामा जुन सफलता प्राप्त भयो, त्यस सफलताबाट हामी अलि बढी नै हौसिन पुग्यौं भन्ने कुरा हामीले स्विकार्नैपर्छ । वास्तवमा हाम्रो त्यो सफलता हजार माइलको यात्रामा पहिलो पाइला मात्रै थियो । तर, गन्तव्यमा पुगिनै लाग्यो कि भन्ने भ्रम सायद हामीमा पैदा भयो । भनिन्छ- ‘सफलताले मान्छेलाई स्वार्थी बनाउँछ, स्वार्थले पापी बनाउँछ ।’ कतै हामी पनि त्यस्तै त भएनौं ? छातीमा हात राखेर सबैले सोच्नुपर्ने भएको छ ।

५) शब्दमा अभियन्ताः कर्ममा नेता-कार्यकर्ता

नयाँ शक्तिमा हामी सबै अभियन्ता बन्न चाहन्थ्यौं । तर, हामी अघोषित नेता, कार्यकर्ता बन्न पुग्यौं । जबर्जस्त एउटा सीमारेखा कोरिन पुग्यो हामीमाझ । गणेश प्रवृत्तिको विरोधी पार्टी त्यही प्रवृत्तिको घेराउमा पर्ने खतरा बढ्दै गयो । कर्ममा प्रतिस्पर्धा होइन, पद-प्रतिष्ठामा आशक्ति बढ्न थाल्यो । देश र जनताप्रतिको निस्स्वार्थ सेवाभाव व्यक्तिगत पद–प्रतिष्ठाको स्वार्थमा रुपान्तरण हुनथाल्यो । ‘राजनीतिलाई पेशा होइन सेवा बनाउने छौं’ भन्ने आफ्नै प्रतिबद्धता आफैंले भुल्न थाल्यौं । वर्षगाँठको अवसरमा हामीले पुनः प्रतिबद्धता गर्नैपर्छ– ‘राजनीतिलाई पेशा होइन सेवा बनाउनेछौं । पद–प्रतिष्ठामा होइन, कर्ममा प्रतिस्पर्धा गर्नेछौं ।’

सिद्धान्तको शुद्धताले मात्रै व्यवहार अघि बढ्न सक्दैन । सायद हामी कतै बढी नै सिद्धान्तवादी त भएनौं ? समीक्षा गर्नुपर्ने भएको छ ।

६) न पुरस्कार, न दण्ड !

पार्टीलाई अनुशासित, व्यवस्थित र क्रियाशील बनाउन चाहिने आवश्यक आधारभूत संरचनाहरु पार्टीभित्र निर्माण भएका छन् । तर, ती संरचना सिस्टमको अभावमा निष्प्रभावी जस्तै छन् । गर्ने, नगर्ने र बिगार्नेहरु सबै समान छन् । जसको कारण गर्नेहरु दिनानुदिन हतोत्साही बन्दै जाने र बिगार्नेहरु उत्साही हुँदै जाने क्रम पनि पार्टीभित्र बढ्दो छ । अब यस्तो बेथितिको अन्त्य गर्ने आँट गर्नैपर्छ ।

हाम्रो जस्तो लोकतान्त्रिक पार्टीमा स्वतन्त्रता कुण्ठित गर्ने कल्पना समेत गर्न सकिँदैन । शाब्दिक अर्थ जे भए पनि स्वतन्त्रताको वास्तविक मर्म भनेको अझ बढी अनुशासित हुनु हो । कर्त्तव्य र अधिकारको सुन्दर संयोजन नै सही अर्थमा स्वतन्त्रता हो । कर्त्तव्यबिनाको अधिकार अन्ततः अराजकतामा गएर टुंगिन्छ । तसर्थ, पार्टीभित्र कहिल्यै पनि निरपेक्ष स्वतन्त्रताको पक्षमा पैरवी गर्न सकिँदैन ।

७) सिद्धान्तको शुद्धता र व्यावहारिक समस्या

सिद्धान्तको शुद्धताले मात्रै व्यवहार अघि बढ्न सक्दैन । सायद हामी कतै बढी नै सिद्धान्तवादी त भएनौं ? समीक्षा गर्नुपर्ने भएको छ । चन्दाको भरमा पार्टी नचलाउने, पार्टीलाई उत्पादनमा जोड्दै लैजाने हाम्रो प्रतिबद्धता हो । यहाँसम्म आइपुग्दा सोचे जसरी पार्टीलाई उत्पादनमा जोड्न पनि सकिएको छैन र पार्टी सञ्चालनको निम्ति न्यूनतम आर्थिक सहयोग गर्न पनि सकिएको छैन ।

अर्कोतिर न त लेबी व्यवस्थित गर्न सकिएको छ, न त पार्टीका नेतृत्व पंक्तिले गर्ने भनिएको स्वैच्छिक सहयोग नै संकलन भएको छ । पछिल्लो समय उत्साहपूर्ण निर्णय र निराशाजनक कार्यान्वयन भइरहेको छ । व्यावहारिक कुरा गर्ने हो भने प्रतिस्पर्धामा विश्वास राख्ने पार्टी निर्वाचनबाट शक्तिको रुपमा स्थापित नभई ‘असल राजनीतिको लागि लगानी’ भनेर मात्र जनताले लगानी गर्दैनन् । तसर्थ, कुरा सोझो र स्पष्ट छ, जनताले लगानी गर्ने स्तरको पार्टी बनाउन नसक्दासम्म लेवीलाई व्यवस्थित गर्ने र सक्नेहरुले निस्स्वार्थ भावले सहयोग गर्ने गर्नुपर्छ । यस्तो सहयोग पार्टीप्रतिको विश्वास र प्रतिबद्धताको मापक पनि हो ।

८) स्वयंसेवी र पूर्णकालीनबीचको सन्तुलन अभाव

पार्टीभित्र पूर्णकालीन कार्यकर्ताको अवधारणा त बनाइएको छैन । रणनीतिक हिसाबले हाम्रो पार्टी स्वयंसेवीहरुको पार्टी नै हो । ‘व्यक्ति होइन पद पूर्णकालीन’ बनाउने जुन अवधारणा अघि सारेका छौं, त्यो नै सही छ । तर, पार्टी निर्माणको प्रक्रिया र खास–खास अवस्थामा स्वयंसेवीहरुबाट मात्र पार्टीले गति लिन सक्दैन । पहिलो चरणको स्थानीय निर्वाचनले यो कुरा प्रमाणित गरिसकेको छ । तसर्थ, आजको आवश्यकता भनेको सबै पूर्णकालीन हुनु हो । जो विशेष कारणवश पूर्णकालीन बन्न सम्भव छैन, उसले पूर्णकालीनलाई सक्दो सहयोग गर्नुपर्छ । यो आजको वस्तुगत यथार्थ हो ।

हाम्रो जस्तो देशमा पार्टी निर्माण र निर्वाचनमा उत्कृष्टता हासिल गर्ने निर्णायक साधन भने प्रविधिलाई मात्र बनाइनु हुँदैन । जनस्तरमा संगठनको बाक्लो सञ्जाल र घर-घरमा पुग्ने पूर्णकालीन झोले कार्यकर्ताको नै निर्णायक भूमिका रहन्छ ।

९) संगठन निर्माण मोडलमा अन्यौल

विज्ञान, प्रविधि र सूचना–सञ्चार क्षेत्रमा भएको अभूतपूर्व क्रान्तिले सिंगै संसारलाई एउटा सानो गाउँमा रुपान्तर गरिदिएको छ । मोबाइल फोन र इन्टरनेटका सामाजिक सञ्जालले संसार जोड्न सजिलो बनाएको छ । हाम्रो देशमा पनि फोन र सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या गुणात्मक रुपमा बढिरहेको छ । पार्टी निर्माणको प्रक्रियामा यस अत्याधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ ।

तर, हाम्रो जस्तो देशमा पार्टी निर्माण र निर्वाचनमा उत्कृष्टता हासिल गर्ने निर्णायक साधन भने प्रविधिलाई मात्र बनाइनु हुँदैन । जनस्तरमा संगठनको बाक्लो सञ्जाल र घर-घरमा पुग्ने पूर्णकालीन झोले कार्यकर्ताको नै निर्णायक भूमिका रहन्छ । पार्टी स्थापना राष्ट्रिय भेलापछि जनस्तरमा छालमय गतिमा संगठन विस्तार हुन नसक्नुको एउटा मुख्य कारण हाम्रो सक्रियताको कमी हो । जसको प्रत्यक्ष असर पहिलो चरणको स्थानीय निर्वाचनमा देखा पर्‍यो ।

पार्टीले विभिन्न समयमा विभिन्न जनपरिचालन अभियान सञ्चालन गर्‍यो र गरिरहेको छ । पार्टी स्थापना राष्ट्रिय भेलाको समयमा जसरी देशव्यापी जनपरिचालन भएको थियो, त्यो स्तरमा त्यसपछि जनपरिचालन हुनसकेको छैन । ‘सदस्यता वितरण तथा संगठन विस्तार अभियान’ अपेक्षित रुपमा सफल हुन सकेन

उपत्यकामा सञ्चालन गरिएको ‘क्लिन काठमाडौं ग्रीन काठमाडौं अभियान’ लाई पनि निरन्तरता दिन सकिएन ।
पछिल्लो चोटि घोषणा गरिएको ‘घर–घरमा नयाँ शक्ति अभियान’ पनि निरन्तरतामा मात्रै सीमित रहन पुग्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसद्‌को लागि देशव्यापी चलाइएको हस्ताक्षर अभियानमा उत्साहजनक जनसहभागिता रहँदारहँदै पनि सोचे जसरी देशका सबै भागमा कार्यक्रम सञ्चालन गर्न सकिएन । पहिलो चरणको स्थानीय निर्वाचन परिणामले पार्टी पंक्तिलाई उत्साहित गर्न सकिरहेको छैन ।

१०) संरचनाले ल्याएको जटिलता

संगठनात्मक रुपमा जुन सकस सिङ्गै पार्टीले भोगिरहेको छ, अब त्यसको निकास खोज्न सक्नुपर्छ । राष्ट्रिय परिषद्‌लाई  केन्द्रीय समितिको रुपमा बुझ्ने र त्यसको लागि मरिहत्ते गर्ने प्रवृत्ति जसरी मौलाइरहेको छ, यसको अन्त्य गर्न जरुरी छ । राष्ट्रिय परिषद् कार्यकारी अधिकारसहितको केन्द्रीय समिति होइन, यो त विधि विधान निर्माण गर्ने विधायिकी हो ।

देश संघीयतामा गइसकेको छ । पार्टी संघीय ढाँचामा निर्माण भइसकेको छ । प्रदेशलाई कार्यकारी अधिकारसम्पन्न बनाइसकिएको छ । अधिकारको हिसाबले केन्द्र होइन, अब प्रदेश र स्थानीय निकाय शक्तिशाली हुनेछ । तसर्थ, सबैजना केन्द्रमुखी हुने र केन्द्र ताक्ने प्रवृत्ति छाड्नुपर्छ ।

छोटो समयमा हामीले संरचनागत रुपमा ठूलो पार्टी निर्माण गरेका छौं । तर, राम्रो पार्टी निर्माण गर्ने चुनौती हामीभित्र त्यत्तिकै बढ्दै गएको छ । आजको आवश्यकता भनेको एकसाथ ठूलो र राम्रो पार्टी निर्माण गर्नु हो ।

अन्तमा,
राजनीतिमा सफलताको लागि खासगरी दुई वटा कुराको आवश्यकता पर्छ । पहिलोः अन्तरविरोधहरुको सही पहिचान र त्यसको सही समाधान । दोस्रोः सिनर्जीको प्रयोग । पाँच ‘स’ वर्तमान समाजको अन्तरविरोध र त्यसको समाधानका सूत्र हुन् ।

छोटो समयमा हामीले संरचनागत रुपमा ठूलो पार्टी निर्माण गरेका छौं । तर, राम्रो पार्टी निर्माण गर्ने चुनौती हामीभित्र त्यत्तिकै बढ्दै गएको छ । आजको आवश्यकता भनेको एकसाथ ठूलो र राम्रो पार्टी निर्माण गर्नु हो । पार्टीभित्रका प्रत्येक सदस्यमा भएको इनर्जीलाई सिनर्जीमा बदल्न नसकेसम्म अपेक्षित सफलता प्राप्त गर्न सम्भव छैन ।

हामी पार्टी निर्माणकै प्रक्रियामा छौं । योगदान, योगदान र फेरि पनि योगदान आजको आवश्यकता हो । आज नै अवसरको खोजी गर्नु अवसरवाद हो । लगानीबिना प्राप्ति सम्भव छैन । लगानी गर्ने स्वर्णिम अवसर हामी सबैलाई उपलब्ध छ । निस्स्वार्थ भावले समर्पित भई योगदान (लगानी) गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment