+
+
Shares

पोल गाडेको पाँच वर्षपछि दुर्गममा बिजुली बल्यो

टुकीबाट छुटकारा पाउँदा गाउँले दंग

रासस रासस
२०७४ जेठ ३१ गते ९:३६

३१ जेठ, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ ।

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार भएपछि स्थानीय लाभान्वित बनेका हुन् ।

नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षौंदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएको छ ।

मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई÷तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुसियालीमा छन् ।

साबिक दर्छा गाविसको रु पाँच लाख सहयोग, जिविस पाल्पाको रु ११ लाख, विद्युत् प्राधिकरण केन्द्रबाट रु १३ लाख, स्थानीय उपभोक्ताबाट उठाइएको रु १० लाख ५० हजार र स्थानीयवासीको जनश्रमदानबाट रु नौ लाख ५५ हजार ५०० गरी जम्मा रु ४९ लाख पाँच हजार ५०० को लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउँछन् ।

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताउँछन् । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुसी लागेको उनले बताए ।

गाविसबाट नगरपालिकामा परिणत हुँदा पनि विद्युत् सेवा सुविधाबाट टाढा रहेका यहाँका स्थानीय बासिन्दाले ढिलै भए पनि विद्युत् उपभोगको सेवा पाएपछि आफूलाई बल्ल नगरवासीको बासिन्दा भएको अनुभूति गर्न थालेका छन् ।

बुटवल पावर कम्पनी लिमिटेडमार्फत गाउँमा विद्युत् विस्तार गरिएको हो । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा, दुर्गम र अति विकटमा पर्ने गैलुक, लामटाङ र लाँकुरीमा ठूलो प्रयास तथा मेहनतले लामो समय लगाएर भएपनि बिजुली बाल्न सफल भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष खेम राना बताउँछन् ।

‘सामान लिन नगरपालिकाको केन्द्रमा दुईदेखि तीन घन्टाको समय खर्चेर जानुपर्ने, समयमा नै आवश्यक सामान पुर्याउन नसक्दा काममा निकै झन्झट बेहोर्नु पर्यो’, उनले भने।

भौगोलिक कठिनाइ, बजारदेखि टाढा हुँदा भनेको समयमा सामान उपलब्ध गराउन सकिएन, कच्ची बाटो र सानो पानी परेपनि यातायात ठप्प हुने जस्ता समस्याका बाबजुद पनि गाउँमा विद्युत् विस्तार गर्न सफल भएको रानाले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?