
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुद्ध जयन्तीको अवसर पारेर सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरू सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले पर्यटन प्रवद्र्धनका लागि भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
देशका उच्च पदस्थहरू सबै एकैपटक ध्यान जाँदा त्यसको सन्देश विश्वभर फैलने र बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना बढ्ने उनको भनाइ थियो ।
‘पर्यटन क्षेत्र असिम सम्भावना बोकेको क्षेत्र हो । आजबाट ६ दिन पछाडि बुद्ध जयन्ती पर्छ । ध्यान पर्यटन नै गर्ने भए हामी सबै सभामुख महोदय, राष्ट्रिय सभा अध्यक्षज्यू, प्रधानमन्त्री, मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीको दिनमा लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,’ गुरुङको प्रस्ताव छ, ‘बुद्धले गरेको ६ वर्ष हो, हामीले ६ घण्टामात्रै ध्यान गर्यौं भने पनि त्यो संसारभर सन्देश जान्छ । ओहो, नेपालमा बुद्ध जन्मेको ठाउँमा सारा सांसद, मन्त्री, प्रधानमन्त्री, सभामुख सबै ध्यान गरिरहेका छन् भन्ने सन्देश फर्किन्छ । त्यसपछि ह्वारह्वार्ती बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना हुन्छ ।’
प्रतिक्रिया 4