+
+
Shares

धनराज गुरुङको टिप्पणी- फागुन २१ भदौ २३ र २४ को दोस्रो एपिसोड हो

‘चुनावको समयमा आफै कांग्रेसको घर जलाएर आगो ताप्न थाल्यौँ’

आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १६:४२

२ चैत, काटमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर टिप्पणी गरेका छन् । सोमबार फेसबुकमार्फत लामो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आएको उल्लेख गरेका छन् ।

‘भाद्र २३–२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा भनेको थिएँ–यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड बाँकी छ,’ गुरुङले भनेका छन्, ‘जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ । त्यसको सामना गर्न तयार रहनुपर्छ ।’

यो कुरा त्यसपछि प्राय: जसो सबै औपचारिक/अनौपचारिक बैठकमा आफूले दोहोर्‍याइरहेको उनले उल्लेख गरेका छन् । ‘तर, यस विषयमा पदाधिकारी, पूर्व पदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि ?,’ उनले अगाडि भनेका छन् ।

आफूले भनिरहँदा कतिपय नेताहरूले बुझ्नै नचाहेको र कतिपय नेताहरूको पदको महत्त्वाकाङ्क्षाले थिचिएको मानसपटलले बुझ्न नसकेको हुनसक्ने उनले भनेका छन् ।

‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो । धेरैलाई थाहै भएन यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो,’ नेता गुरुङले उल्लेख गरेका छन् । सायद थाहा पाउँदासम्म ढिला भइसकेको हुनसक्ने उनले बताएका छन् ।

आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताएका छन् । ‘किन कि यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ,’ उनले भनेका छन् । तथापि आफूसँग सोधेर पनि चुनाव लड्ने नेताहरू हारेको बताउँदै गुरुङ अब चुकचुकाउनुको कुनै अर्थ नभएको बताएका छन् ।

‘राजनीतिमा विभिन्न घटनाक्रमहरू देखा पर्नु स्वाभाविक नै मानिन्छ । तर सम्भावित घट्नाको आकलन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता हो,’ उनले अगाडि लेखेका छन्, ‘अझ भाद्र २३-२४ को दोस्रो एपिसोड आउँछ भनेर मैले बैठकहरूमा पटक-पटक भन्दा पनि यसबारे अनभिज्ञता प्रदर्शन गर्नु मूर्खताको पराकाष्ठा नै हो ।’

यस्तै चुनावलाई स्वीकार गरेर चुनावअघि कांग्रेसको घरमा आगो लगाएको भन्दै गुरुङले टिप्पणी पनि गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘अनि चुनाव त भन्यौँ । तर चुनावको समयमा हामी आफै कांग्रेसको घर जलाएर आगो ताप्न थाल्यौँ । यी यावत कारणहरू हुन्- पार्टीको सर्मनाक हार ।’

बिपी कोइरालाको अनुयायी भन्नेले फागुन २१ को निर्वाचनमा सर्मनाक हार बेहोरेकामा जिम्मेवारी लिन तयार नभएको पनि नेता गुरुङले बताएका छन् । ‘सामाजिक सञ्जालका भित्ता रङ्गाएर लाज छोपिन्न । लाज हरायो भन्दैमा बाटोमा निर्वस्त्र हिँड्नु हुँदैन । किनकि देख्नेलाई लाज हुन्छ,’ गुरुङले व्यङ्ग्य गर्दै लेखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?