१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरूको जोड रहने बताएका छन् ।
शनिबार कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । फरक मत राखेका नेताहरूलाई पनि समेटेर मूलधारमा ल्याउने उनको भनाइ थियो ।
पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गर्दै उनले विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गरे ।
‘पार्टीलाई कुनैपनि हालतमा चोइटिने, टुक्रिन दिनेकुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौं । सँगै सबै साथीहरूलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्नेकुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो, दिएन भन्नेकुरा गौण हो,’ गुरुङले भने ।
उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने पनि बताए । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने उनको भनाइ थियो ।
‘सिंगो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो । पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले,’ गुरुङले भने, ‘परिवारमा दिनदिनै झगडा गर्यो भने के हुन्छ, त्यो परिवार ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ ? त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न,’ उनले भने ।
प्रतिक्रिया 4