Comments Add Comment

बच्चालाई घर बाहिर खेल्न कसरी प्रेरित गर्ने ?

अहिले बच्चाहरु मोवाइल, ट्याब्लोइड, ल्यापटपमा बढी समय विताउन थालेका छन् । बुवाआमाको लागि पनि यो राम्रो वाहाना भएको छ, छोराछोरी फकाउने । बच्चाहरु घरभित्रै, एउटै कोठामा बसेर घण्टौं मोवाइलमा गेम खेल्छन्, भिडियो हेर्छन् ।

यसबाट उनीहरुले नयाँ कुरा पनि सिक्छन् होला । तर, यसले बच्चाहरुको स्वास्थ्यलाई नराम्ररी प्रभावित गर्छ । एकै स्थानमा खुम्चिएर घण्टौंसम्म मोवाइल, ट्याबमा बिताउँदा उनीहरुको शारीरिक सक्रियता घट्छ । शरीर सिथिल बन्न थाल्छ । आँखामा सोझो असर गर्छ ।

के गर्ने ?

बच्चालाई बढी भन्दा बढी आउटडोर गेम अर्थात घरबाहिरको खेलमा प्रेरित गर्नुपर्छ, जहाँ उनीहरुको शरीर चलायमान हुन्छ । यसले शारीरिक गतिविधि बढ्छ । समग्र स्वास्थ्यमा राम्रो प्रतिफल मिल्छ ।

शारीरिक व्यायाम

बच्चाको मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् ।

त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ । अतः शारीरिक तन्दुरुस्तीका लागि व्यायाम अनिवार्य हुन्छ । यदि बच्चा बाहिरी खेलमा अभ्यास्त छन् भने उनीहरुको शारीरिक व्यायाम हुन्छ । उनीहरु साथीसँग खेल्छन्, दौडन्छन्, उफ्रिन्छन् । यसले शारीरिक व्यायाम राम्ररी हुन्छ ।

रचनात्मक विकास

बच्चाको मस्तिष्कमा कल्पनाशक्तिको अथाह भण्डार हुन्छ । जब उनीहरु मोवाइल, टिभीको गेममा भुलिन्छनु, भिडियोमा रमाउन थाल्छन्, उनीहरुको कल्पनाशक्तिको प्रयोग हुँदैन ।

तर, यदि उसलाई बहिरी खेलमा सामेल गराइयो भने उनीहरु नयाँ नयाँ कुरा सोच्न थाल्छन् । नयाँ प्रयोग गर्न उत्साहित हुन्छन् । नयाँ कुरा बनाउँछन् । माटोको सुन्दर घर बनाउने, पानीमाथि डुंगा कुदाउने अभ्यास गर्छन् । यसले उनीहरुको कल्पनाशक्ति थप बढ्छ ।

सामाजिक भावनाको विकास

एक्लै कोठाभित्र बसेर खेल खेल्दा बच्चाको सामाजिक कौशलको विकास हुने मौका मिल्दैन । उनीहरु समूहमा बस्न, रुझ्न सक्दैनन् । एकअर्काप्रति सहयोगको भावना पनि हुँदैन । तर, बच्चालाई घर वाहिरको खेलमा प्रेरित गर्ने हो भने उनीहरुमा सामाजिक भावनाको पनि विकास हुन्छ । खासगरी बच्चाहरु समूहमा खेल्छन् । उनीहरुले समूहमा मिल्न, प्रतिस्पर्धा गर्न सिक्छन् । खेलकै माध्यामबाट एकअर्काको सहयोग गर्ने बानीको पनि विकास हुन्छ । उनीहरुले साथी बनाउन सिक्छन्, साथीसँग कसरी मिल्ने भन्ने कुरा पनि जान्दछन् ।

जिज्ञासा बढ्छ

बच्चाहरु स्वभावैले जिज्ञासु हुन्छन् । र, जतिधेरै जिज्ञासा हुन्छ, उनीहरु त्यती नै बढी जानकारी पनि हासिल गर्छन् । तर, घरभित्र मोवाइल, ट्याब्लोइडमा मात्र खेल्ने बानी छ भने उनीहरुमा खासै जिज्ञासा रहँदैन ।

घर वाहिरको खेल खेल्न प्रेरित गरियो भने उनीहरु नयाँ नयाँ कुरा जान्नका लागि उत्सुक हुन्छन् । यसले गर्दा बच्चाहरुले व्यवहारिक रुपमै धेरै कुरा जान्ने मौका पाउँछन् ।

निरोगी शरीर

घरभित्र एउटै पोजिसनमा बसेर खेल्ने बच्चाको तुलनामा बाहिर खेल्ने बच्चाको स्वास्थ्य बलियो हुन्छ । उनीहरु निरोगी हुन्छन् । दौडने, उप|mने जस्ता गतिविधिले उनीहरुलाई राम्ररी व्यायाम हुन्छ । यसले शारीरिक अंगहरु सक्रिय हुन्छ र त्यसले सहि ढंगले आफ्नो कार्य सम्पादन गर्न सक्छन् । रक्त प्रवाह राम्ररी हुन्छ, पाचन क्रिया चुस्त हुन्छ । यसरी घर वाहिर खेल्ने बानीले बच्चाहरु निरोगी हुन्छन् ।

केहि टिप्स

– घर बाहिर खेल्नका लागि सुरक्षित स्थान हुनुपर्छ । खाल्डो, भिर वा कुनै चोट पटक लाग्ने स्थान हुनुहुँदैन ।

– खेल्न जानुअघि बच्चालाई मौसम अनुकुलको पहिरन लगाइदिनु पर्छ ।

– बच्चाहरु खेल्दै गाडी कुद्ने बाटोमा जान सक्छन्, त्यसैले निगरानी गर्नुपर्छ ।सर्प, कुकुर आदिले टोक्ने संभावन हुने भएकाले सुरक्षाको उपाय अपनाउनु पर्छ ।

– घरको छत, बार्दलीमा खेल्दा सुरक्षित हुँदैन ।

– सकेसम्म परिचित बच्चाहरुको सर्कल बनाइदिनु पर्छ ।

– खेलेर आइसकेपछि हात-खुट्टा सफा गर्न लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment