Comments Add Comment

साम्राज्ञीको ‘तिमी सँग’ टिजर रिलिज, भदौ ८ मा रिलिज मिति कसरी तय भयो ?


‘वितरकका कारण नेपाली चलचित्र डुब्यो, हल संचालकले सबै शेयर आफ्नो गोजीमा हाल्दा निर्माताको गोजीमा केही परेन’ । चलचित्रको व्यापार भएपनि वा नभएपनि निर्माताको मुखबाट सुनिने वाक्य हो यो । निर्माताका यी कुरा धेरै हदसम्म सत्य पनि छन् ।

तर, के एउटा निर्माताले अर्को निर्मातालाई डुबाएका छैनन् होला ?  एउटाले चलचित्र प्रदर्शन गर्ने भनेर कुनै मिति तोकेर प्रचार सुरु गरिसक्दा, अर्को निर्माता सोही मितिमा चलचित्र रिलिज गरिदिन्छन् । ‘फलानाको भन्दा त मेरो भयंकर राम्रो छ, त्यसको चलचित्रले केही गर्दैन’ भन्दै चलचित्र जुधाउन तयार हुन्छन् धेरै निर्माता ।

भदौ १६ गतेबाट चलचित्र ‘ए मेरो हजुर २’ रिलिज हुँदैछ । चलचित्रमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव-नायक सलिनमान बाँनियाको मुख्य भूमिकमा छ । चलचित्रको २ वटा गीत रिलिज भैसकेका छन् । भदौ १६ लाई चलचित्रकी निर्देशक झरना थापाले प्रदर्शन मिति तोकेको ३ महिना भन्दा बढी भैसक्यो । तर, केही हप्ता अगाडि मात्र छायांकन सकिएको चलचित्र ‘तिमी सँग’ले अब भदौ ८ गतेलाई प्रदर्शन मिति तोकेको छ । यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । भदौ ८ मा यस अगाडि नै नायिका नीशा अधिकारीले आफू निर्मित चलचित्र ‘झ्यानाकुटी’को प्रदर्शन मिति तोकिसकेकी थिइन् ।

भदौ ८ मा शिशिरले प्रदर्शन मिति तोकेको चलचित्र ‘तिमी सँग’को मुख्य कलाकारमा साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन छन् । जुन चलचित्रको टिजर सार्वजनिक भएको छ ।

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर राणालाई भदौ १६ मा उनको चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर २’ रिलिज हुन्छ भन्ने थाहा थियो । तर, पनि शिशिरले भदौ ८ गते चलचित्र रिलिज गर्ने तयारी थालेका छन् । तर, त्यसो गर्दा ३ महिना अगाडि प्रदर्शन मिति तोकिएको र करोड माथिको बजेटमा बनेको चलचित्र ‘ए मेरो हजुर २’लाई असर पर्छ भन्ने चर्चा चलचित्र बृत्तमा सुरु भएको छ ।

भदौमा महंगो बजेटमा बनेका आशातित चलचित्र रिलिज हुँदैछन् । यसैले पनि कुनै चलचित्रले दोश्रो सातामा पनि विना अवरोध रिलिजको अपेक्षा गर्न सक्ने अवस्था छैन । झन्, त्यममाथि एउटै कलाकारको चलचित्र एक साताको अन्तरमा रिलिज गर्दा घाटा निर्मातालाई नै लाग्ने हो । साम्राज्ञी नेपाली चलचित्रमा आशा गरिएकी र दर्शकले प्रतिक्षा गरेकी नायिका हुन् । सुनिल कुमार थापा निर्मित ‘ए मेरो हजुर २’को प्रदर्शन मिति भन्दा ८ दिन अगाडि शिशिरले ‘तिमी सँग’को प्रदर्शन मिति तोकेका छन् ।

यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्माता तथा निर्देशक शिशिर राणाले भने-‘मैले चलचित्र तिहारपछि नै रिलिज गर्ने योजना बनाएको थिएँ । तर, भदौ ८ बाट अनमोल केसी अभिनित चलचित्र ‘कृ’ पछि हटेका कारणले वितरकले नै यो डेटमा चलचित्र प्रदर्शन गर्न सल्लाहा दिएकाले मिति तोकेको हुँ ।’

भदौ ८ मा ‘तिमी सँग’ र भदौ १६ मा ‘ए मेरो हजुर २’ रिलिज हुँदा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको करिअरलाई घाटा लाग्ने पक्का छ । आशा गरौ, दुई चलचित्रका निर्माताले यो बिषयमा छलफल गरेर पक्कै पनि समाधान निकाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment