
४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानिय तहको निर्वाचनका लागि अन्य दलले आफूसँग तालमेलको प्रस्ताव ल्याए पनि आफूले अस्वीकार गरिदिएको बताएका छन् । रुकुमका जनताले तालमेल होइन, माओवादी चाहान्छन् भनेर आफूले फर्काइदिने गरेको उनले बताए ।
सिस्ने गाउँपालिकाको रुकुमकोटमा आइतबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका शर्माले रुकुमका क्रान्तिकारी जनताको चाहना माओवादी मात्र भएको बताए । पहिलो चरणको स्थानिय तहको निर्वाचन जस्तै दोश्रो चरणको निर्वाचनमा पनि रुकुममा माओवादीको मात्र जित हुने दाबी उनको थियो ।
युद्धको बेला रुकुमबाटै जनसत्ताको विकास भएको बताउँदै गृहमन्त्री शर्माले स्थानिय तहको निर्वाचन मार्फत अब वैधानिक रुपमै जनसत्ता चलाउने बताए ।
आफूहरु जनताको कामदार भएको बताउँदै मन्त्री शर्माले रुकुमेली जनताको माओवादी प्रतिको समर्पणले आफूलाई काम गर्ने ऊर्जा प्राप्त भएको बताए । पूर्वी रुकुमको पीडा आफूलाई मात्र थाहा भएको बताउँदै उनले पूर्वी रुकुमलाई छुट्टै केन्द्र बनाउने प्रयास आफूले गरिरहेको बताए ।
निर्वाचनको शिलशिलामा रुकुम जिल्ला दुई प्रदेशमा विभाजित भएको सन्दर्भमा मन्त्री शर्माले राम्रो विकल्पका लागि आफूहरुले सरसल्लाह गरिरहेको जानकारी दिए ।
सोही चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुनले स्थानिय तहको निर्वाचनलाई विवेकको मतदान गरेर सम्पन्न गर्न आह्वान गरे ।
आफ्नो पहलमा रुकुमकोटलाई अब बन्ने ३ वटा स्मार्ट सीटीमध्ये पहिलो प्राथमिकतामा राखेर पूर्वाधार विकासको काम अगाडि बढाएको बताए ।
प्रतिक्रिया 4