+
+
Shares

गाउँपालिकाको उम्मेदवार बन्न २१ लाख मागेको भन्दै भेषराजले एमाले छाडे

सुन्दर हरैंचामा जिल्ला कमिटी सदस्य कांग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते २१:०१

८ असार, मोरङ । स्थानीय तहको उम्मेदवार छान्ने क्रममा एमालेभित्र आर्थिक चलखेल भएको गुनासो गर्दै एकजना त्यागी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिसमा परेका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनी पञ्चायत कालदेखिकै पूर्वमाले र एमालेका कर्मठ कार्यकर्ता हुन् । ४७ वर्ष एमालेमा लागेका उनले अब सक्रिय राजनीति नगर्ने बताएका छन् ।

मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवित्ति मौलाएको काफ्लेको गुनासो छ ।

गाउँपालिका अध्यक्षका लागि २५ देखि १५ लाखसम्म बार्गेनिङ

विद्यार्थी जीवनदेखि नै एमालेभित्र रहेर पार्टीको सेवा गरेका काफ्लेका अनुसार उनको नाम मिक्लाजुङ गाउँपालिका अध्यक्षका लागि गाउँ कमिटीले सिफारिस गरेर जिल्लामा पठाएको थियो । र, जिल्लाले त्यसलाई सदर गरेपछि प्रदेश कमिटीले उम्मदेवारको अन्तिम टुंगो लगाउनुपर्ने एमालेको नीति अनुसार उनी आफ्नो नाम सदर हुने प्रतिक्षामा थिए ।

‘तर अन्तिममा उम्मेदवारहरुसँग नेताहरुलाई नजराना चढाउन रकम मागको सिलसिला सुरु गरियो,’ काफ्लेले भनेका छन्– ‘क्रमशः म भेषराज काफ्लेलाई २१ लाख नगद मागियो । दिन अस्वीकार गरेपछि दोस्रो प्रत्याशीलाई २५ लाख मागियो । त्यो पनि नदिएपछि तेस्रोसँग रु. १५ लाख मागियो । तेस्रोबाट पनि अस्वीकार गरेपछि हालका अध्यक्षका उम्मदेवार देवीप्रसाद आचार्यलाई टिकट दिने निर्णय गरियो, जुन पहिला चर्चै थिएन ।’

आफूले यसविषयमा छानविनको माग गर्दा पनि पार्टीभित्र कुनै सुनुवाइ नभएकाले एमाले पार्टी परित्याग गरेको काफ्लेले अनलाइनखबरलाई बताए । आफूमाथि परेको मर्काबाट न्याय नपाएपछि बाध्य भएर एमालेको सक्रिय राजनीतिबाट विदा लिएको काफ्लेले बताएका छन् ।

आफूसँग एमाले नेताहरुले पैसा मागेपछि काफ्लेले दुई पृष्ठ लामो विज्ञप्ति निकालेका छन् । सो विज्ञप्तिमा उनले गाउँपालिका अध्यक्षको उम्मेदारसँग कति पैसा लिएर टिकट दिइएको हो, सोको विवरण सार्वजनिक गर्न एमाले नेताहरुसँग भनेका छन् ।

काफ्लेको विज्ञप्तिमा भनिएको छ– ‘कति पैसा दिएर टिकट ल्याइयो ? अथवा दिनेले कति पैसा दिएर टिकट दिएको हो ?सो कुरा छलफल होस र यथार्थ सार्वजनिक गरी दोषीलाई कारवाही गरियोस् भनी हरेक नेता कामरेडहरुसँग अनुनय विनय गर्दा पनि सुनुवाई भएन, न्याय पाइएन ।’

नेकपा एमालेको प्रदेश नम्बर १ को टिकट बाँड्ने कामको नेतृत्व प्रदेश इञ्चार्ज भीम आचार्यले गर्दै आएका छन् । त्यस्तै मोरङ जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारीमा विनोद ढकाल छन् ।

एमाले जिल्ला सदस्य कांग्रेसमा प्रवेश

यसैवीच मोरङ सुन्दर हरैंचा नगरपालिकामा पनि इमान्दार कार्यकर्तालाई टिकट नदिएर पैसावाललाई उम्मेदवार बनाइएको भन्दै मनोनयन दर्ताको अघिल्लो दिन एमाले कार्यकर्ताले प्रदेश कार्यालय घेराउ गरेका थिए ।

पार्टीभित्र कमजोर आर्थिक अवस्था भएकाहरुलाई बाइपास गर्दै धनाढ्यहरु हावी भएको गुनासोसहित एमाले मोरङ जिल्ला सदस्य कमला मास्केले समेत पार्टी परित्याग गरेकी छिन् । उनी एमाले छाडेर कांग्रेसमा लागेकी छिन् ।

स्रोतका अनुसार सुन्दर हरैंचामा पार्टी अध्यक्ष विनोद ढकालले एकलौटीरुपमा पैसावालालाई उम्मदेवार बनाएको भन्दै एमाले सांसद चन्द्रबहादुर गुरुङसमेत असन्तुष्ट बनेका छन् ।

हेर्नुहोस् भेषराजको वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?