Comments Add Comment

मुग्लिनको पहिरोमा पुरिएका ट्रक चालकको बयानः भाग्यबस बाँचे

९, असार चितवन । पहिरोका कारण अवरुद्ध चितवनको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै २० घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति आएको पहिराले अवरुद्ध बनेका राजधानी काठमाडौंको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्ड शुक्रवार साँझ ६ बजेबाट सञ्चालनमा आएको हो ।

पहिरो गएको ४ किलो र कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । ४ किलो पहिरो प्रभावित क्षेत्र हो । तर, यसपटक पहिरो आएर मानविय क्षतिसमेत भएको स्थान भने बिल्कुलै नयाँ ठाँउ हो ।

यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा पहिरो झर्दा इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नं को प्रहरीसहितको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएर त्रिशुली नदीमा झारेको छ ।

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी नायव निरीक्षक धादिङ खनियावास गाउँपालिका- ४ बस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया- ६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्केको मृत्यु भएको छ ।

२ जना प्रहरी जवान र प्रहरीको गाडी वेपत्ता छ । वेपत्ता हुनेमा पहिरोमा मकैसिंह-१ बस्ने वर्ष ३१ का प्रहरी जवान लीलबहादुर चेपाङ र तनहुँ भानु नगरपालिका ११ का वर्ष २१ को प्रहरी सन्दिप कार्की छन् ।

गाडीसहित २ प्रहरी नदीमा नै वेपत्ता भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । ‘दिनभर खोजियो भेटिएन, नदीमै प्रहरी गाडी गएको थाहा भयो, अब शनिबार बिहानैबाट गोताखोरहरुको सहायतमा खोजी गरिन्छ’ प्रमुख पन्तले भने ।

२ प्रहरीको शव नदी किनारमा पुरिएको अवस्थामा फेला परेको थियो । प्रहरीको सवारी पनि पहिरोमा नै पुरीएको हुनसक्ने भन्दै खोजी भैरहेको छ । ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीको किनारमा पूर्णरुपमा क्षति भएको अवस्थामा छ ।

दुई प्रहरी र गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशङ्कामा सडकको पहिरो समेत नदीमा सिधै नफाली गाडीमा हालेर अन्यत्रै फालेर सडक खुलाइएको हो । दिनभर नै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त घटनास्थलमा नै खटिएर खोजीमा जुटेका थिए ।

भाँग्यले बाँचेः ट्रक चालक लामा

पहिरोमा पुरिएर त्रिशुलीमा खसेको ट्रकका चालक रामकुमार लामा भरतपुरको पुरानो मेडिकल कलेजमा भेटिए । उनी ट्रकका सहचालक समेत रहेका भतिजो सोनु भोलानको उपचारका लागि दिनभर मेडिकल कलेजमा थिए ।

काठमाडौंबाट ट्रकमा भएको मकैं खाली गरेर चितवनतर्फ र्फकदै गरेका थिए उनी । ९ बजे मलेखुमा खाना खाएर ११ बजे मुग्लिन आएका लामा कट्ने वित्तिकै अलिअलि सवारी जाम थियो ।

२ किलोमिटर नारायणगढ तर्फ आएपछि केही ढुंगाहरु खसिरहेको थियो । केही बसहरु ओभरटेक गएर आएपछि ठाँउ रहेछ भनेर उनले पनि ट्रक कुदाए । कालिखोला र चेपाङडाँडाको बीचमा जहाँ दुर्घटना भयो, त्यहाँ ढुंगा खसिरहेको थियो । एउटा ठूलो ढुंगा उनको ट्रकको चक्कामा आएर लाग्यो । उनले ट्रकबाट बाहिर निस्कने सोच बनाए । ट्रकका सहचालक गाडीमै निदाएका थिए ।

उनलाई पनि लामाले उठाएर बाहिर जाऔं पहिरो आयो भने । तर, ट्रकका सहचालक सोनु ट्रककै पछिल्लो सिटमा गएर सुते । लामा सहचालकलाई छाडेर बाहिर निस्के । पानी परिरहेको थियो । ४ किलोबाट प्रहरीको गाडी केही ढुंगाहरु पन्छाउदै आउँदै थियो । लामाले भने, हामी कालिखोलको पुलमा थियौं । पुलिसको गाडी पहिरो गएको ठाँउमा आइपुग्यो । मेरो ट्रकको पछाडि ढुंगाहरु थिए । त्यहाँ जान सक्ने अवस्था पनि भएन । प्रहरीहरु केही ढुंगा हटाउन खोजे जस्तै गरेका थिए । कुनै ठूलो आवाज नै आएन स्वा गर्‍यो । पुलिसको गाडी मेरो गाडीको छेउमा त्रिशुली साइडमा थियो ।’

उनले अघि भने, पहिराले पुलिसको गाडी मेरो गाडी दुबैलाई तल फाल्यो । मेरो भतिजो पर्ने सहचालक ट्रकमै थियो । के गरौं के गरौं भए । सपना जस्तो लाग्यो । घटना भएको आधा घण्टा पछि अरु प्रहरीहरु आइपुगे । सडकबाट झण्डै १५० मिटर तल मेरो ट्रक थियो । घटना भएको डेढ घण्टा पछि तल गयौं । दुई जना प्रहरीहरु ढुंगाले किचिएको अवस्थामा थिए । उनीहरुको मृत्यु भइसकेकाले मेरो भतिजोलाई खोजियो । गाडी भित्रै चिच्चाइरहेको थियो । बेहोस भएको रहेन छ ।’

हामीलाई बोलाउन गाडीको हर्न बजाउन खोजेको भन्दै थियो । कहाँबाट बजोस् । उसलाई खुट्टा र आँखामाथि चोट थियो । आफैं हिडेर माथि सडकसम्म आयो । एम्वुलेन्स लैजाने ठाँउपनि थिएन । साथीको ट्रकलाई फर्काएर भरतपुर ल्याए । घटना भएपछि सबै वसका यात्रुहरु चिच्चाइरहेका थिए । सबै जना डराइरहेका थिए । मध्यरातमा कहाँ कता जानु जताततै अध्याँरो छ । भाँग्यवस बाँचियो, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment