Comments Add Comment

धनगढी उपमहानगरमा भोट माग्न उम्मेदवारलाई भ्याईनभ्याई

११ असार, कैलाली । मौन अवधि शुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारहरुलाई घरदैलो गर्न भ्याईनभ्याई भएको छ । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिकाका १९ वटै वडाहरुमा एकैपटक भ्याउनु पर्ने भएका कारण पनि उम्मेदवारहरु समयको चापमा छन् ।

मतदाताहरुले प्रतिनिधि भन्दापनि स्वयं उम्मेदवार आउनु पर्ने अडान लिएका कारण पनि उम्मेदवारहरुलाई मतदातासम्म पुग्न हम्मेहम्मे भएको छ ।

मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई अन्य दलका उम्मेदवारभन्दा बढी मेहनत गर्नुपरेको छ । ढिलोगरी निर्वाचन आयोगले दिएको चुनाव चिन्ह लिएर मतदाताहरुकहाँ पुग्नु पर्ने भएका कारण बढी मेहनत गर्नु परेको हमालले बताए ।

उनले अन्य दललाई चुनाव चिन्हको प्रचार गर्नु नपर्ने फलानो दल भन्दा पनि धेरै मतदाताहरुले थाहा पाउने भएकाले केहि सजिलो भएपनि आफूलाई भने मतदाताहरुलाई आफ्नो चुनाव चिन्ह यो भनेर चिनाउन घरदैलो गर्नु परेको बताए ।

 

हमालले ‘विकासका लागि एक मत’ भन्ने नारा अघि सारेर मत मागिरहेका छन् ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता, विकास प्रेमी भनेर चिनिने हमाललाई अन्य दलको उम्मेदवार भन्दा फरक किसिमले हेरिने गरेको कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले बताए ।

नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृप वडलाई समेत घरदैलो गर्न भ्याईनभ्याई छ । उनी आज बिहान धनगढी बजारका पसल-पसलमा गएर मत मागिरहेका देखिन्थे । तर मत माग्ने क्रममा उनले आफ्ना ठोस एजेन्डा भने भनेनन् । नृप वडले आफ्नो परिचय दिइरहेका थिए भने उनका कार्यकर्ताहरुले भोट मागिरहेका थिए ।

त्यस्तै नेकपा एमाले धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार दुर्गाप्रसाद जोशीलाई समेत घरदैलो गर्न भ्याईनभ्याई भैरहेको छ । जनताका माझ धेरै घुलमिल नभएका जोशीलाई मतदाताहरुलाई आफ्नो बारेमा जानकारी दिने समेत समय छैन । उनले एमालेलाई मत दिए नगर विकास, शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रका उपमहानगरपालिकाका मेयर उम्मेदवार रामसमझ राना धनगढीको मुख्य बजार क्षेत्रमा पहिलो पटक मत माग्दै गरेका देखिए । उनले नगर क्षेत्र भन्दा बाहिर माओवादीको धेरै राम्रो रहेको भन्दै समयको चापको कारण नगर क्षेत्रमा ढिलो गरी मत माग्न आएको बताए । उनले आफूलाई मत दिएर विजयी गराए आर्थिक क्रान्ति ल्याउने बताए ।

उता नेपाली कांग्रेस र एमालेका उपमेयरका उम्मेदवारहरु पनि आफ्नालागि मत माग्दै मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । धनगढी उपमहानगरमा नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट, एमालेकी रुक्मणी देवकोटा र माओवादीकी शान्ति अधिकारी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment