१२ असार, नेपालगञ्ज । बाँकेको सदरमुकाम समेत रहेको नेपालगञ्ज उपमहानगरपालिका मुस्लिम समुदायको बाहुल क्षेत्र हो । यहाँको निर्वाचनको परीणामलाई मुस्लिम समुदायको जातिय भोटले पनि निकै ठूलो प्रभाव पार्दै आएको छ । ६२ हजार ३ सय ९७ मतदाता मध्ये झण्डै २६ हजार मतदाता त मुस्लिम समुदायकै मात्रै छन् ।
मुस्लिम समुदायकै मतलाई क्यास गर्न भन्दै राजनीतिक दलहरूले पनि मुस्लिम नेताहरूलाई नै चुनावी मैदानमा उतारेका छन् ।
एमाले र संघीय समाजवादी फोरमबाट मेयरमै मुस्लिम उम्मेदवार छन् भने कांग्रेस र राप्रपाले मेयर र उपमेयर दुबै उम्मेदवार मुस्लिम समुदायभन्दा बाहिरबाट उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले मुस्लिम समुदायबाट उपमयेर उम्मेदवार बनाएको छ ।
मुस्लिम समुदायका सबैभन्दा ठूलो पर्व इदको अवसरमा सोमबार नेपालगञ्जस्थित बीपी चोकको इदगाहा भन्ने स्थानमा ठूलो संख्यामा मुस्लिमहरू भेला भएर सामूहिक नवाज गरे ।
असार १४ गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई एक महत्वपूर्ण अवसर थियो यो । सबै जसो दलका मेयर, उपमेयर र वडाध्यक्षका समेत उम्मेदवार मुस्लिम समुदायसँग गला मिलाउँदै भोट मागिरहेको दृश्य निकै नै रोचक देखिन्थ्यो ।
आइतबार राति १२ बजेबाट उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मौन अवधि शुरु भएपनि इदलाई भने उम्मेदवारहरूले मत माग्ने राम्रै अवसर बनाए । कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, एमाले उम्मेदवार समशुद्धिन सिद्धिकी, माओवादीका मेयर उम्मेदवार दमोदर आर्चाय र राप्रपाका धवलशम्शेर राणा प्रार्थना स्थल बाहिर देखिए ।
प्रतिक्रिया 4