+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ । पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए ।

रासस रासस
२०८१ माघ २१ गते १५:२२

२१ माघ, बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए ।

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए। मोटरसाइकल चालक गिरीले ई–रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए ।

‘म पहिला आइरहँदा यहाँ ई–रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु’, उनले भने, ‘ट्राफिक लाइटको नियम लागू भएपछि अब त रिक्सा पनि व्यवस्थित रुपमा चल्ने भएछन्।’

नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागू भएसँगै पूर्वपश्चिम र उत्तरदक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारी साधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन् ।

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए ।

‘ट्राफिक लाइटको नियम लागू भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ’, उनले भने, ‘पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ।’

सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगञ्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कुल पुर्‍याउने समयभन्दा आधा घण्टा अगाडि नै निस्कने गरेको नेपलगञ्ज–१० ट्राफिक चोक निवासी सरिता थापाले बताए । ‘पहिला १०–१५ मिनेट अघि छोरीलाई स्कुल पुर्‍याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडि नै निस्कने गरेको छु’, उनले भने ।

‘पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ।’

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ । गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए ।

‘यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ’, उनले भने, ‘विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारी साधन चालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ।’

उनका अनुसार तीन–चार पटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारबाही गरिएको छ ।

ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट रु चार हजारसम्मको राजस्व सङ्कलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए ।

नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरु केन्द्रित रहेको आचार्यको भनाइ थियो ।

‘रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारी साधन चालक र यात्रुहरु रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ’, उनले भने, ‘यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियुटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ । पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए ।

उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?