Comments Add Comment

सिल्भर हेरिटेजको ३ अर्ब हङकङमा रोकियो, राष्ट्र बैंक भन्छ स्रोत खुलेन

१८ असार, काठमाडौं । रुपन्देहीको कोटिहवामा पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट निर्माण गरिरहेको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले हङकङबाट नेपाल भित्र्याउन लागेको तीन अर्ब ५ करोड रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकले ६ महिनादेखि रोकेर राखेको छ । सिल्भर हेरिटेजले हङकङको उक्त रकमको स्पष्ट स्रोत खुलाउन नसकेकाले राष्ट्र बैंकले रोकेको हो ।

बैदेशिक लगानी भित्र्याउँदा रकमको स्रोत र नेपालमा के–कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने स्पष्ट खुलाउनुपर्छ । सिल्भर हेरिटेजले लगानी गर्ने क्षेत्र खुलाए पनि रकमको स्रोत भने खुलाउन नसकेको राष्ट्र बैंकका बिदेशी बिनिमय व्यवस्थापन बिभाग प्रमुख भिष्मराज ढुंगानाले बताए ।
उनले भने ‘स्पष्ट स्रोत खुल्ने गरी कागजात पेश गर्न भनेका छौ, तर उहाँहरुले गर्नुभएको छैन ।’

टाइगर प्यालेस रिसोर्ट मार्चदेखि सञ्चालन गर्ने सिल्भर हेरिटेजको प्रारम्भिक लक्ष्य थियो । तर पछि बैंकमा देखिएको तरलतालाई दोष देखाउँदै जूनको नयाँ मिति तोकियो ।

जून महिना सकिनै लाग्दा पनि होटल सञ्चालन गर्ने सुरसार छैन । रकम नभित्रिदासम्म होटल सञ्चालन गर्न सक्ने स्थिती नरहेको सिल्भर हेरिटेज ग्रुप बताउँछ । करीव १५ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको यो होटलमा ३ अर्ब लगानी गरिएको छ भने यसमा २ सय रुमहरु छन् ।

सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्राली हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपालमा लगानी गर्न बनेको सहायक कम्पनी हो । सिल्भर हेरिटेज ग्रुप गत अगस्ट २९ मा अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सूचिकृत भएको थियो ।

उद्योग बिभागले जेठ २८ गते राष्ट्र बैंकलाई सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले आफ्नो पूँजी १ अर्ब ९५ करोडबाट बृद्धि गरी ५ अर्ब पु¥याउन लागेको जानकारी दिएको थियो । जानकारी पत्रका अनुसार सिल्भर हेरिटेज ग्रुपले एसएचएल सर्भिसेजमा ७५ करोड, टाइगर वानमा ८५ करोड र टाइगर टुमा १ अर्ब ४५ करोड थप लगानी गर्न लागेको छ ।

नेपालमा सिल्भर हेरिटेज ग्रुप सन् २०१२ मा भित्रिएको हो, जसले अहिले काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको छ । यो क्यािसनो एसएचएल सर्भिसेजको नामबाट सञ्चालन भइरहेको छ ।

सिल्भर हेरिटेज ग्रुपले झापामा टाइगर प्यालेस रिसोर्ट टु खोल्ने तयारी गरेको छ । जसका लागि २२ बिघा जमिन पनि खरिद गरेको छ । तर पहिलो होटल नै सञ्चालनमा ल्याउन नसकेपछि दोस्रो निर्माण गर्ने वा नगर्ने भन्ने दोधार छ ।

साथै सिल्भर हेरिटेजले धनगढीमा पनि अर्काे होटल खोल्ने योजना बनाएको छ । पर्यटन र जलबिद्युत क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको यो कम्पनी अहिले पर्ख र हेरको अवस्थामा छ ।

रकम रोकिएको विषयमा सिल्भर हेरिटेजका जिम्मेवार व्यक्तिले अनलाइनखबरलाई प्रतिक्रिया दिन अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment