+
+
Shares

नेपालमा होटल बनाउन अष्ट्रेलियामा १ अर्ब ४० करोडको सेयर जारी गरिदै

सेप्टेम्बरदेखि टाइगर प्यालेस होटल सञ्चालनमा ल्याउने तयारी

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ असार १९ गते १०:४४

१९ असार, काठमाडौं । नेपालमा निर्माणधिन पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका लागि लगानी जुटाउन हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले अष्ट्रेलियामा १ अर्ब ४० करोड बराबरको सेयर जारी गर्ने भएको छ । प्रतिकित्ता ०.०५ अष्ट्रेलियन डलरमा यो सेयर जारी हुन लागेको हो ।

अष्ट्रेलियाको स्टक एक्सचेन्ज ‘एएसएक्स’ मा सुचिकृत सो ग्रुपका अनुसार अहिले लगानी गरिरहेकै सेयरधनीले मात्रै यसमा लगानी गर्न पाउने छन् । टाइगर प्यालेस रिसोर्ट आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउने ग्रुपले जनाएको छ । सुरुमा मार्चदेखि सञ्चालन गर्ने लक्ष्य थियो । तर पछि बैंकमा देखिएको तरलतालाई दोष देखाउँदै जूनको भाका सारेको थियो ।

सो ग्रुपले नेपालमा होटल सञ्चालन गर्न सिल्भर हेरिटेज इन्भेस्मेन्ट प्राली नाममा सहायक कम्पनी खडा गरेको छ । अहिले यो होटलले निर्माणको काम लगभग सबैजसो सकिएको छ । तर बिदेशबाट हेरिटेजले नेपाल भित्राउन लागेको तीन अर्ब ५ करोड बराबरको रकम राष्ट्र बैंकले लामो समयदेखि रोकेर राखेको छ । राष्ट्र बैंक भने रकमको स्रोत नखुलेकाले स्वीकृति दिन नसकेको बताउँछ ।

राष्ट्र बैंकको बैदेशिक बिनिमय व्यवस्थपान बिभागका प्रमुख भिष्मराज ढुंगाना भन्छन्, ‘अहिले स्रोत खुलाउन नसकेका कारण रोकेका हौ, अब बिदेशमा सेयर जारी गरेपछि पनि हाम्रो नियमअनुसार ल्याउन दिनेछौ ।’

सुरुमा यो होटल ४ अर्बमा निर्माण हुने आँकलन गरिएको थियो । तर भूकम्प र नाकाबन्दीका कारण यसको खर्च अप्रत्याशित रुपमा बढ्न पुगेको छ । भूकम्प र नाकाबन्दीका १ अर्ब २० करोड रकम थपिन पुगेको थियो । अहिले यसको कुल लागत ५ अर्ब ५१ करोड पुगेको सिल्भर हेरिटेज ग्रुपले जनाएको छ ।

रुपन्देहीको कोटिहवामा निर्माण भइरहेको यो होटलले भारतबाट आउने मध्यमबर्गका ठुलो जमातलाई लक्ष्यित गरेको छ । करीव १५ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको होटलमा २ सय रुमहरु छन् ।

उद्योग बिभागले जेठ २८ गते राष्ट्र बैंकलाई सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालीले चुक्त पुँजी १ अर्ब ९५ करोडबाट बृद्धि गरी ५ अर्ब पु¥याउन लागेको जानकारी दिएको थियो । जानकारी पत्रका अनुसार सिल्भर हेरिटेज ग्रुपले एसएचएल सर्भिसेजमा ७५ करोड, टाइगर वानमा ८५ करोड र टाइगर टुमा १ अर्ब ४५ करोड थप लगानी गर्न लागेको छ ।

नेपालमा सिल्भर हेरिटेज ग्रुप सन् २०१२ मा भित्रिएको हो जसले अहिले काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको छ । यो क्यासीनो एसएचएल सर्भिसेजको नामबाट सञ्चालन भइरहेको छ ।

सिल्भर हेरिटेज ग्रुपले झापामा टाइगर प्यालेस रिसोर्ट टु खोल्ने तयारी गरेको छ । जसका लागि २२ बिघा जमिन पनि खरिद गरेको छ । साथै सिल्भर हेरिटेजले धनगढीमा पनि अर्काे होटल खोल्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?