Comments Add Comment

भोजपुरको चुनावका अनेक ‘सरप्राइज’: एमाले स्तब्ध, कांग्रेसले लियो बदला

शेरधन राईको गाउँमा माओवादीको जितः अर्थमन्त्रीको नगरमा कांग्रेसको सफलता

१९ असार, भोजपुर । स्थानीय तह दोस्रो चरणको भोजपुरको चुनावी परिणामले यहाँका सबैलाई चकित तुल्याएको छ । ०७० सालको संविधानसभा चुनावमा दुवै क्षेत्र जितेको नेकपा एमालेले आफ्नो वर्चश्व जोगाउन सकेन । संघीय समाजवादी फोरमले पूर्वी पहाडमा सबैभन्दा बढी अपेक्षा गरेको भोजपुरबाट शून्य सफलता पायो ।

एमाले विरुद्ध जिल्लामा भएका सबै दलको तालमेल र एउटै चुनाव चिह्नमा गठन्धनका दल लडेका कारण पनि चर्चामा रहेको भोजपुरमा सबै दल मिलेका ठाउँमा चाहिँ एमालेले जितेर सरप्राइज दियो । माओवादी नेता जिल्ला इञ्चार्ज सुदन किरातीको गाउँपालिका एमालेले जित्नु र एमाले नेता शेरधन राईको गाउँपालिका माओवादी केन्द्रले जित्नु पनि सरप्राइज नै भयो ।

दुर्इ नगरपालिकासहित ९ स्थानीय तह रहेको यहाँ नेपाली कांग्रेसले भोजपुर र षडानन्द दुई वटै नगरपालिका प्रमुख हात पारेको छ । त्यस्तै, अरुण गाउँपालिका र साल्पासिलिछो पनि कांग्रेसकै पोल्टामा रह्यो ।

नेकपा एमालेले ४ स्थानीय तहमा जित हासिल गर्यो भने माओवादी केन्द्रले १ स्थानमा जिल्लामा खाता खोल्यो । कतिपय स्थानमा प्रमुख र उपप्रमुख छुट्टाछुट्टै चुनिएकोमा व्यक्तिगत मत खसेको पनि देखिन्छ भने कहीँ अन्तरघात ।

भोजपुरमा एमाले स्तब्ध

समग्र नतिजा आइसक्दा भोजपुरमा एमाले स्तब्ध भएको छ । ९ स्थानीय मध्ये ७ जित्ने लक्ष्य राखेको पार्टी जम्मा चार स्थानीय तहमा रोकियो । एमालेको नतिजा बिग्रनुमा टिकट नपाएर अशन्तुष्ट बनेकाहरुको खुलेआम र लुकिछिपी अन्तरघातलाई लिइएको छ ।

विगतमा भोजपुरमा कांग्रेसको अन्तरघातबाट फाइदा लिँदै आएकोमा यसपटक एमालेको अन्तरविरोधबाट कांग्रेसले विगतको क्षतिपूर्ति हुने गरि बदला लिएको छ । जितिहालिन्छ भनेर टेबुलमा बसेर रेजा लाउने तर घरदैलोमा जान अल्छि गर्ने गरेकाले पनि कतिपय ठाउँमा एमालेको अनपेच्छित परिणाम आएको एमाले नेताहरु बताउँछन् ।

एमालेका सचिव शरणकुमार राई अरु पार्टीले गठबन्धन गरेका ठाउँमा आफ्नो पार्टीको शक्ति सँगसँगै साख जोगाउन सबै कार्यकर्ता विचलित नभई एक ढिक्का भएर लागेको तर अन्यत्र व्यवस्थित र योजनाबद्ध रुपमा लाग्न नसकेकालेले यो परिणाम देखिएको बताउँछन् ।

जिल्ला अध्यक्ष प्रेम राई विरुद्ध हतुवागढी गाउँपालिकामा जिल्लामा रहेका सबै दलको तालमेल भएको थियो । त्यस्तै, टेम्के मैयुमा कांग्रेस, माओवादी र संघीय समाजवादी मिलेका थिए । ती दुवै ठाउँमा एमालेले जित्यो । तर, एक्लै लडेका ठाउँमा एमाले हारेपछि नेताहरु स्तब्ध भएका छन् ।

एमालेले चार गाउँपालिका अध्यक्ष जितेको छ । दुवै नगरपालिकामा मेयर हारेको एमालेले दुवैमा उपमेयर भने जितेको छ । त्यस्तै, साल्पासिलिछोमा पनि अध्यक्ष हारेर उपाध्यक्ष जितेको छ ।

कांग्रेसको सफलता

कांग्रेस भने भोजपुरमा एकाएक अगाडि बढेको देखिएको छ । भोजपुर सदरमुकाम रहेको भोजपुर नगरपालिकामा ३६ मतले एमालेलाई पछि पार्दै कांग्रेसका कैलाश कुमार आलेले मेयर हात पारे । आलेले ४ हजार ७० प्राप्त गरे भने एमालेका गणेश श्रेष्ठले ४ हजार ३४ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी कृतिकुमारी कार्कीलाई ७२ मतले पछि पार्दै एमालेकी ममिता राई विजयी भइन् । मनोनयनको दिन नजिकिँदासम्म कांग्रेसभित्र टिकटको विवाद मिल्न सकेको थिएन । पार्टी पूर्व सभापति बालकृष्ण थापा र हालका पार्टी सचिव कैलाशकुमार आलेबीचको टिकट विवाद र पार्टीभित्रको आन्तरिक असन्तुष्टिको फाइदा लिने आशामा नेकपा एमाले बसेको थियो, तर नतिजा ठीक उल्टो आयो ।

अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको गाउँ षडानन्द नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ । १४ वटा वडा रहेको यो नगरपालिकामा कांग्रेसलाई सुरुदेखि पछ्याइरहेका नेकपा एमालेका सुरेन्द्र उदास २ सय ९२ मतको अन्तरले पराजित भए ।

कांग्रेसका वीरबल राईले ४ हजार ९ सय ८६ मत प्राप्त गरे भने एमालेका उदासले ४ हजार ६ सय ९४ मत ल्याए । उता उपप्रमुख भने एमालेले आफ्नो पोल्टामा पारेको छ । नेकपा एमालेकी मेरिका राईले ४ हजार ६ सय ९७ मत ल्याएर उपप्रमुख जितेकी हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिता श्रेष्ठले ४ हजार ४ सय १३ मत प्राप्त गरिन् ।

षडानन्द नगरपालिकामा कांग्रेसबाट प्रमुखमा जितेका वीरबल राई कांग्रेसका नजिकका विश्वास पात्र मानिन्छन् । कार्की अर्थमन्त्री रहनुको प्रभाव पनि कांग्रेसलाई सहयोगी बन्यो । यही नगरपालिका क्षेत्र अनेरास्ववियूका पूर्व अध्यक्ष तथा एमाले नेता राजेन्द्र राईको पनि गृहक्षेत्र पर्छ ।

नेकपा एमालेले जितको लागि भोट बैंकको आशा गरेको उम्मेदवार उदासको घर रहेको साविकको देउराली हालको ११ र १२ नम्बर वडामा सोचे अनुसारको मत नआई उल्टै ३ सय जति अन्तर पर्नु नै पराजयको मुख्य कारण रह्यो ।

कांग्रेस भोजपुरका सभापति नन्दमणि राई आफ्नो संगठन कमजोर हुँदाहुँदै चुनाव जित्नुको श्रेय एमालेलाई दिन्छन् ।

‘केन्द्रदेखि स्थानीय तहसम्म पटकपटक एमालेले नेतृत्व लियो जनताले चाहे अनुसारको विकास गर्न सकेन र अहिले आएर कांग्रेसलाई विकल्पको रुपमा जनतालाई रोजेका हुन्’, सभापति राईले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment